ब्लग


सबै पक्षलाई जोडेर अघि बढ्न अब विद्या भण्डारी

सबै पक्षलाई जोडेर अघि बढ्न अब विद्या भण्डारी

दिलिप भट्टराई
असोज १५, २०८२ बुधबार ९:४०, काठमाडौँ

केपी ओलीको अहंकार र प्रचण्डको धोकाधडीले कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेका बेला साढे २ वर्षे मौनता तोडेर पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन्। पहिले युवा नेताहरूलाई बोलाएर उनले भनिन्– तिमीहरू जे भन्छौ, म त्यही गर्न तयार छु। केही समयपछि भदौ ५ गते उनले मदन भण्डारीको ७५औँ जन्मोत्सव अभियानको नाममा मध्य बानेश्वरमा सम्पर्क कार्यालय उद्घाटन गरिन्। एमालेको नेतृत्व नै गर्ने गरी सक्रिय हुने उद्घोषसहित भण्डारीले चालेको त्यो कदमले बालुवाटार, पेरिसडाँडा, बालकोटमा भूकम्प ल्यायो। 

जेनजी आन्दोलनअघि र पछि केही हप्ता मुखमा दही जमाएर बस्नु मेरो सोख थिएन। जतिबेला केपी बाको दम्भको ताउमा पाकेको कम्युनिस्ट नामको खिचडी डढेर सडकमा जेनजी नामधारी फुक्काफाल लक्का–जवानहरूको हुल व्यवस्थाकै दाह्री उखेल्न जाइलाग्यो, मेरा आफ्नै कमरेड नामधारीहरूले बालुवाटारदेखि शिवपुरी हुँदै गुन्डुसम्मका गुफा कन्दराबाट रचेका षड्यन्त्रका सिद्धान्तहरू कान थापेर सुनेँ। 

यो सबै सुनिसकेपछि मलाई लाग्यो नेपाली कम्युनिस्ट भनिने आन्दोलनको अब कि त सद्गत गर्नुपर्छ, कि त कुनै तान्त्रिक बोलाएर यसमा प्राण भर्नुपर्छ। यस्तो बेला सत्य बोल्नुपर्छ, चाहे त्यो छुराजस्तै धारिलो नै किन नहोस्। त्यसैले, केही तीता तर टर्रा ओखतीहरू म आज निस्फिक्रीपूर्वक पिलाउने धृष्टता गर्दैछु।

यो ओखती पिलाउनुअघि, दुईवटा कुरामा भ्रम नपालियोस्।

एक मैले केपी ओली नामका बाले बालकोटको बार्दलीबाट देखाएको शासकीय ठालुपन, पार्टीभित्र आफ्ना आलोचकहरूलाई भुसुनासरह टिपेर फाल्ने सामन्ती शैली र समृद्धिको नाममा आफ्ना आसेपासेलाई पोस्ने दलाली धन्दाको वकालत गर्दैछ भनेर एकरत्ति नसोचियोस्। त्यो दुई तिहाइको मातले चुर भएको अहंकारप्रति मेरो उति नै घृणा छ, जति अरू कसैको होला।

दुई, सडकबाट उदाएको जेनजी नामको हुललाई म अवमूल्यन गर्दैछु भन्ने भ्रम पनि नहोस्। जब मन्त्रीको गाडीले ११ वर्षीया उषा मगर सुनुवारलाई कुल्चेर भाग्छ र देशको प्रधानमन्त्रीले त्यसलाई सामान्य दुर्घटना भन्छन्, विदेशमा रगत(पसिना बगाउने नेपालीको आफ्ना परिवारसँग बोल्ने सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइन्छ, तब यी पुराना, थोत्रा र म्याद गुज्रिएका बा र बाजेहरूको नाटक देखेर दिक्क भएका केटाकेटीहरूले रिस पोख्नु स्वाभाविक हो। तर, रिसको झोँकमा आफ्नै घरमा आगो लगाउनु, संसद् र सर्वोच्च अदालत जलाउनु बहादुरी होइन, मूर्खता हो। त्यो आक्रोश जायज थियो, तर दिशाहीन थियो। दिशाहीन आक्रोशले क्रान्ति होइन, विध्वंश मात्र निम्त्याउँछ, जसको प्रमाण हामीले ७५ जना सहिदको शव र जलेका भवनहरूमा देखिसक्यौँ।

ल, अब भूमिका धेरै नबाँधौँ। सिधै आजको विमर्शका तीन वटा प्रश्नहरूतिर लागौँ।

एक त केपी बाको सल्तनत ढल्नु के उनको मपाईंत्वको अजिंगरे डकार मात्र थियो कि सिंगो कम्युनिस्ट आन्दोलनकै वैचारिकतामा क्यान्सर लागेको लक्षण थियो?

दोस्रो यो विचारको खडेरी र राजनीतिको मरुभूमिमा त्यो कम्युनिस्ट नामको भड्किएको बथानलाई डोर्‍याउने जबज नामको पुरानो तर भरपर्दो लौरो कुन हो र त्यो लौरो समात्ने सबैभन्दा दह्रो हात कसको हुन सक्छ?

तेस्रो यो फुट, विखण्डन र विध्वंशको महाभूकम्पमा धुजाधुजा भएको कम्युनिस्ट घरलाई फेरि एक ठाउँमा टाल्न विद्यादेवी भण्डारीको पुनरागमन एउटा विकल्प मात्र हो कि एउटा ऐतिहासिक बाध्यता?

अब यी प्रश्नहरूको चिरफार गरौँ, र हेरौँ भित्रभित्र के(के कुहिएको छ।

पहिलो प्रश्न: सरकारको पतन बाको मूर्ख्याइँ कि विचारको क्षयरोग?

यो जेनजी नामको भुइँचालो र विध्वंश मच्चिनुमा भूराजनीतिको ताण्डव जतिसुकै नाचेको किन नहोस्, यसको प्रमुख नैतिक दोषी तत्कालीन प्रधानमन्त्री केपी ओली नै हुन्। उनले मलाई थाहा छैन, घुसपैठ भयो भनेर पानीमाथिको ओभानो बन्न मिल्दैन। देशको प्रधानमन्त्री सफल हुनु भनेको हरेक भान्सामा मीठो पाक्नु हो, असफल हुनु भनेको चुल्होमा आगो पनि नबल्नु हो। ओली असफल भए र त्यसको सजाय उनले हेलिकप्टर चढेर ज्यान जोगाउँदै, आफ्ना घर खरानी भएको हेरेर पाइसके। एउटा जुझारु र राष्ट्रवादी भनिएको नेता यसरी घर न घाटको किन भए?

काठमाडौंका चियापसलदेखि टेलिभिजनका बहससम्म, सबैतिर एउटै रटान छ नेकपा एमालेको सरकार ओलीको घमण्डले ढाल्यो। हो, केपी बाको घमण्ड सगरमाथाभन्दा अग्लो थियो, त्यसमा दुईमत छैन। तर, प्रधानमन्त्री एक्लैले आफूलाई सफल वा असफल बनाउँदैन, उसको टिमले बनाउँछ। र, ओलीलाई डुबाउने प्रमुख माझी थिए, उनका प्रमुख सल्लाहकार विष्णु रिमाल। रिमाल लगायतले बालुवाटारलाई जनताको आवाज नभई एसम्यानहरूको भजन मात्र गुन्जिने किल्लामा परिणत गरे।

मितव्ययिताको मीठो नारा लगाएर सचिवालयलाई साँघुरो बनाइयो, तर त्यसले प्रधानमन्त्रीको आँखा र कान दुवै बन्द गरिदियो। सय जना सहयोगी सहयोद्धाहरूको टिम हुँदो हो त सयवटा सूचना र सयवटा उपाय आउँथे होलान्! तर रिमालको किल्लाभित्र त सिपाहीजस्ता एसम्यान मात्र थिए, जो कमान्डरको आदेशपछि मात्र बोल्थे, सुझाव दिँदैनथे। जनताले सोझै भेट्न सक्ने प्रदीप ज्ञवाली वा योगेश भट्टराईजस्ता नेताहरूलाई छेउ लगाइयो। विष्णु रिमाल आफै सुपर प्रधानमन्त्री बनेर मधेसी दलसँग वार्ता गर्नदेखि पियनको सरुवा गर्नेसम्ममा कुदे, तर आफ्नै पार्टीका नेताहरूले प्रधानमन्त्रीलाई भेट्न उनको अनुमति लिनुपर्ने व्यवस्था लागू गरे। परिणाम के भयो? सक्षम नेताहरू जिम्मेवारीविहीन भएर कफी पसलमा गफ चुट्न थाले र प्रधानमन्त्रीको रक्षा गर्न कोही अघि सरेन।

अब खोतलौँ त्यो भन्दा गहिरो खाडल, जहाँ विष्णु रिमालको मात्र नभई उनका सारथी पार्वत गुरूङको चलखेलको कथा पनि जोडिन्छ। बालुवाटारको ढोकाबाहिरै, भाटभटेनीको छेउमा हिमालयन बायो किचेन नामको एउटा रेस्टुरेन्ट छ। त्यहाँ बिहान-बेलुका विष्णु रिमालको तीर्थयात्रा चल्थ्यो। प्रधानमन्त्री ओली हुँदा बालुवाटार छिर्नुअघि र निस्किएपछि रिमाल त्यहीँ पुग्थे, जहाँ व्यापारी र बिचौलियाहरूसँग भेटघाट गर्थे।

कसरी ठेक्कापट्टा र जलविद्युतको धन्दा गरेका पार्वतलाई रिमालले सञ्चारमन्त्रीको कुर्सीमा बसाए, त्यो कथा आफैँमा एउटा उपन्यास बन्छ। आफूलाई नेता बनाउने आनन्द पोखरेलजस्तालाई अपमान गर्ने पार्वतलाई रिमालले किन काखी च्यापे? किनकि उनलाई आफूले भनेअनुसार चल्ने एउटा एसम्यान मन्त्री चाहिएको थियो। खेल थियो नेपाल टेलिकमको। खेलाडी थिए रिमाल र गुरूङ। गोटी थियो चिनियाँ कम्पनी हुवावे। उनीहरूले सिंगो टेलिकमलाई हुवावेको पोल्टामा सुम्पिन अर्बौंको खेल खेले। यो खेलमा बाधा बन्न खोज्ने गोकुल बाँस्कोटालाई कसरी सिध्याइयो, त्यो त जगजाहेरै छ।

रिमालले पार्वत र सञ्चार सचिव राधिका अर्याललाई परिचालन गरेर हुवावेलाई फोर-जीदेखि बिलिङ सिस्टमसम्मको ठेक्का दिलाए। यही खेलका लागि संगीता पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक बनाइयो। तिनै पहाडीले पछि आफ्ना निकटस्थहरूलाई पार्वतकै रेस्टुरेन्टमा ११ करोड बुझाउनु पर्‍यो भनेर रुँदै सुनाएको कुरा टेलिकमभित्र अझै कानेखुसी हुन्छ। पछि भ्रष्टाचारको मुद्दा पहाडीलाई लाग्यो, रिमाल र पार्वतहरू चोखै रहे!

त्यही भएर म भन्दैछु त्यो सरकार ओलीको अहंकारले मात्र ढलेको होइन। विचारको क्षयरोगले गलिसकेको थकित शरीरलाई विष्णु रिमालजस्ता सल्लाहकारले बनाएको अपारदर्शी पर्खालभित्र थुनेर राखिएको थियो। बाहिर जेनजीको आक्रोशको आगो सल्किँदै गर्दा, बालुवाटारभित्र भजन र भ्रष्टाचारको खेल चलिरहेको थियो। अनि विस्फोट नभएर के हुन्छ?

दोस्रो प्रश्न: जबजको लौरो र त्यसलाई समात्ने हात।

यदि रोग वैचारिक हो भने ओखती पनि वैचारिक नै हुनुपर्छ। आजको मितिमा नेपाली कम्युनिस्ट आन्दोलनको लागि त्यो ओखती भनेको जबज नामको जडीबुटी नै हो। किन? किनकि, यसले कम्युनिस्टहरूलाई जंगलको युद्धबाट जनताको बस्तीमा ल्याएर लोकतन्त्रको भाषा बोल्न सिकायो। यसले बन्दुकको नालबाट होइन, मतपत्रको बाकसबाट शक्ति आउँछ भन्ने सत्य स्वीकार्न बाध्य बनायो।

अब सवाल उठ्छ, मदन भण्डारीले बोकेको यो वैचारिक लौरो आज कसले समात्ने? के ती केपी बाले, जसले यो लौरोलाई आफ्ना विरोधी तह लगाउने डन्डा बनाए? के ती पुष्पकमल दाहालले, जो कहिले यो लौरो टेक्छन्, कहिले अर्को लौरो टेक्छन्? कि ती माधव नेपालले, जसले यही लौरोले आफ्नै घरको छानो फोडे?

मेरो तिखो तर स्पष्ट जवाफ छ- अहँ, सक्दैनन्। यी तीनैजना पात्रहरू यो नाटकका खलनायक सिद्ध भइसके। तर समस्या यति मात्र होइन। आज एमाले पार्टीभित्र यस्तो जमात तयार भएको छ, जसलाई विचार र सिद्धान्तसँग कुनै मतलब छैन। उनीहरूको एउटै मन्त्र छ केपी बा, आई लभ यु! महेश बस्नेतजस्ता युवा नेताहरूले नेतृत्व गरेको यो जमातको काम भनेकै पार्टीभित्र सुधार र नयाँ नेतृत्वको आवाजलाई दबाउनु र फेरि उनै पुराना बालाई सिंहासनमा राख्न भजन गाउनु हो। हिजो यही आई लभ युको भजनले ओलीलाई डुबायो, आज फेरि त्यही भजन गाएर आन्दोलनको बाँकी रहेको सास पनि निमोठ्न खोजिँदैछ। जेनजीले सडकबाट नेतृत्व परिवर्तनको जुन झिल्को उठाएको थियो, यस्ता भजनमण्डलीहरूले त्यसमाथि पानी खन्याउँदैछन्।

यस्तो बेला आन्दोलनलाई एउटा यस्तो मान्छे चाहिन्छ, जो यो फोहोरी खेलमा नजोडिएको होस्, र यसबाट माथि उठेको होस्। जसले जबजलाई कण्ठस्थ मन्त्रको रूपमा होइन, जीवन पद्धतिको रूपमा आत्मसात गरेको होस्। र, अहिलेका लागि त्यो अनुहार हो विद्यादेवी भण्डारी।

तेस्रो प्रश्न: विद्या भण्डारीको पुनरागमन विकल्प कि बाध्यता?

अब म बारुदको भुङ्ग्रोमा खुट्टा हाल्दैछु, मलाई थाहा छ। राष्ट्रपतिजस्तो शीतल र सम्मानित पदबाट ओर्लिएको मान्छेलाई फेरि किन हिलोमा तान्ने भन्ने प्रश्न उठ्छ। तर, घरमै आगो लागेको बेला घरको मूली मान्छे सिरक ओढेर सुत्न मिल्छ? आन्दोलन भनेको कसैको बिर्ता हो र? यो त लाखौँ कार्यकर्ताको रगत र पसिनाले सिञ्चिएको धरोहर हो। यसलाई बचाउन जो कोही जुनसुकै बेला अग्रमोर्चामा आउनुपर्छ।

यो जेनजी आन्दोलनको नाममा गरिएको विध्वंशले देशलाई त्राहिमाम बनायो। उनीहरूले एउटी सफा छविकी पूर्व-प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको कुर्सीमा त राखे, तर के एउटा न्यायाधीशले राजनीतिको क्यान्सर निको पार्न सक्छ? आठ-आठ वटा राजनीतिक दलले यो नयाँ व्यवस्था मान्दैनौँ भनेर सडकमा कुर्लिन थालिसके। पत्रकार महासंघजस्ता संस्थासमेत विपक्षमा छन्। अब के हुन्छ? गृहयुद्ध? हेर त, श्रीलङ्का र बङ्गलादेशतिर क्रान्तिको नाममा भएको हुलदङ्गापछि के भयो? त्यहाँ पनि उस्तै धोका, उस्तै दुःख! के नेपालले पनि त्यही बाटो हिँड्ने?

विद्या भण्डारी आजको दिनमा किन आवश्यक छिन्? मेरा केही खस्रा तर ठोस तर्कहरू छन्:

उनी मदन भण्डारीको श्रीमती मात्र नभई विचार जन्मिँदाको साक्षी र सहयात्री हुन्। जबजको हरेक अक्षरमा मदनको मात्र होइन, विद्याको पनि पसिना मिसिएको छ। अरूले जबजको किताब पढे होलान्, उनले जबजलाई बाँचेकी छिन्। त्यसैले, जबजको अपव्याख्या र तोडमरोड भइरहेको यो समयमा त्यसको असली मर्मलाई जोगाउन सक्ने वैचारिक तागत उनीसँग छ।

दुई-दुई पटक राष्ट्रपति भएर शीतल निवासको उचाइमा बसिसकेपछि, उनी पार्टीभित्रको दैनिक किचलो र गुटको हिलोबाट मुक्त छिन्। ओली, प्रचण्ड वा माधवको नाम लिनेबित्तिकै कार्यकर्ताहरू फरक कित्तामा बाँडिन्छन्। तर, विद्या भण्डारीको नामले त्यो कित्तालाई एकैछिन भए पनि जोड्न सक्ने सम्भावना राख्छ। उनी त्यो चुम्बक हुन सक्छिन्, जसले यत्रतत्र छरिएका फलामका टुक्राहरूलाई एक ठाउँमा ल्याउन सकोस्।

उनले पार्टीको मात्र नभई सिंगो देशको डुंगा खियाइसकेकी छिन्। छिमेकीहरूसँग कसरी आँखा जुधाएर कुरा गर्ने, राष्ट्रिय स्वाभिमानलाई कसरी जोगाउने, र आन्तरिक शक्ति सन्तुलनलाई कसरी मिलाउने भन्ने कुराको व्यावहारिक ज्ञान उनीसँग छ। जेनजीको आवेग र बाहरूको लहडले देश चल्दैन। देश चलाउन अनुभवको लगाम र विवेकको चाबुक चाहिन्छ। त्यो लगाम र चाबुक आज उनीसँग छ।

आजका यी तीन नेतालाई र सडकमा विरोध गरिरहेका अरू दलहरूलाई समेत एकै ठाउँमा ल्याएर देशलाई बर्बादीबाट बचाउने तागत एउटा यस्तो नैतिक शक्तिमा हुन्छ, जसको अगाडि सबैले शिर झुकाउन सकून्। विद्या भण्डारीले यदि ‘लौ, अब धेरै रमिता देखायौ, आन्दोलन र देशलाई बचाउन एक ठाउँमा आऊ’ भनेर बिगुल फुकिन् भने त्यसलाई नाइँ भन्ने नैतिक धरातल आजका कुनै पनि नेतासँग बाँकी छैन।

अन्त्यमा, आज देशको राजनीति एउटा अन्ध सुरुङमा पसेको छ। एकातिर, विचारहीन आक्रोशको राँको बालेर आफ्नै घर जलाउने युवाहरूको हुल छ। अर्कोतिर, विचारलाई तिलाञ्जली दिएर कुर्सीका लागि लुछाचुँडी गरिरहेका थोत्रा नेताहरूको बथान छ। यस्तो बेला, यो देशलाई एउटा वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा बलियो र जनताप्रति उत्तरदायी शक्तिको खाँचो छ।

वाम आन्दोलनलाई फेरि ब्युँताएर त्यसमा प्राण भर्ने त्यो शक्तिको नाम जबज हो। र, त्यो संजीवनी बुटीलाई घोलेर पिलाउन सक्ने वैद्यको भूमिकामा आज विद्या भण्डारीभन्दा भरपर्दो अर्को पात्र देखिँदैन।

अब रोज्ने पालो तपाईं हाम्रै हो, ७५ जना सहिदको रगतमाथि उभिएर कुर्सीको खेल खेल्ने केपी ओलीहरू रोज्ने कि यो आगोको भुङ्ग्रोबाट आन्दोलनलाई बचाउन हिँडेकी विद्या भण्डारीलाई!

(दिलिप भट्टराई एमाले अर्घाखाँचीमा आबद्ध छन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad