नानीबाबुहरू! आज तिमीहरू सबै साना छौ। सबै जना विद्या आर्जन गर्ने विद्यार्थी पनि हौ। राम्रो र असल शिक्षा आर्जन गर्नु, नयाँ नयाँ ज्ञान, गुण सिक्नु र साथमा असल संस्कार सिक्नु तिमीहरूको मूल कर्तव्य र धर्म पनि हो। यो कडा प्रतिस्पर्धाको युगमा दिगो र अर्थपूर्ण शिक्षण सिकाइबिना तिमीहरूको लक्ष्य, उद्देश्य पनि पूरा हुन सक्दैन। तिमीहरू भविष्यमा असल अनि सफल हुन पनि सक्दैनौ। तिमीहरूको सफलता बिना देश र समाजको सफलता पनि संकटमा पर्छ। तिमीहरूको सुनौलो भविष्यको सफलता र असफलतासँगै सिंगो राज्यको भविष्य जोडिएको हुन्छ।
तिमीहरूले विद्यार्थी जीवनको समयलाई रत्तिभर खेर नफालीकन उपयोगी शिक्षा आर्जन गर्ने, आफ्नो भविष्य निर्माणका आधार स्तम्भ असल संस्कारहरू सिक्ने, अनि मनोरञ्जनका लागि आफूभित्र भएका अन्तर्निहित प्रतिभाहरू प्रस्फुटनका लागि उचित समय दिने जस्ता असल र राम्रा काम व्यवहार गर्नु नै आजको तिम्रो पहिलो आवश्यकता हो।
यिनै लक्ष्य र उद्देश्य प्राप्तिका लागि तिमीहरू बिहान सबेरै उठ्छौ। केही क्षण शारीरिक व्यायाम गर्छौ। हातमुख धुन्छौ। नुहाउँछौ, फ्रेस हुन्छौ। खाजा खान्छौ अनि घरका सानातिना सकेका केही काम पनि सघाउँछौ नै होला। अनि एकछिन पढ्न बस्छौ। बाँकी गृहकार्य सबै पूरा गर्छौ। दिनभरिका लागि आवश्यक पर्ने कलम, कापी, किताब लगाएतका सामग्री र खाजा झोलामा मिलाउँछौ। खाना खान्छौ अनि अलमल नगरी १० बजे विद्यालय पुग्नेगरी जान्छौ।
भेटघाट भएका साथीभाइ, बहिनीहरूसँग खुसी मनले शुभकामना साटासाट गर्छौ। कक्षाका सबै साथीहरूसँग मिली पालै पालो कक्षाकोठा आदि सरसफाइ गरी कक्षा व्यवस्थापन पनि गर्छौ। घण्टी बज्छ, सबै जना बिहानी प्रार्थनाको कार्यक्रममा इमानदारीपूर्वक सहभागी हुन्छौ। पीटी परेड, क्विज, स्पिच सकी, कक्षागत गीत गाउँदै, प्रत्येक दिन पहिलो घण्टीबाट पढाइ आरम्भ गर्छौ। शिक्षकहरूले घण्टी पिच्छे ७ घण्टीसम्म पालैपालो बडो उत्साहका साथ मेहनत गरेर पढाउनु हुन्छ। बीचमा आधा घण्टाजति खाजा खाने, खेल्ने, फ्रेस हुने टिफिन टाइम पनि पाउछौ।
यस बाहेक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्मको समयभित्र तिमी आफैँ नढाँटी भन, ५ मिनेट, १० मिनेट, पानी खान, घाम ताप्न, हावा खान, डट, कापी, कलम किन्न वा अरु नै कुनै बहानामा कति पटक कक्षा बाहिर जान्छौ या जाँदैनौ? त्यसलाई तिमीहरूले राम्रोसँग ख्याल गर। विद्यालयको कक्षा कोठामा हुँदा तिमीहरूले धेरैजसो शिक्षकले पढाएको सुन्ने, छलफल, प्रश्नोत्तरमा भाग लिने, महत्त्वपूर्ण कुराको टिपोट गर्ने, कक्षा कार्य गर्ने हो। शिक्षक नभएको बेलामा पनि आपसी छलफल गरी अभ्यास आदि गर्ने हो। आफूले नजानेका कुराहरू जसरी हुन्छ पूर्ण रूपले सिकेर मात्र घर जाने हो। ४ बजे छुट्टी हुन्छ। सरासर घर जान्छौ। ड्रेस फेर्छौ, फ्रेस हुन्छौ। खाजा खान्छौ, बिहानको झैँ कोही आफ्नो घरको काममा केही सरसहयोग गर्छौ भने कोही नजिकै केही खेल खेलेर पनि आउँछौ होला।
अब तिमी नै भन, बिहान उठेदेखि बेलुका सुत्न अगाडिसम्म तिमीले के के काममा कति, कसरी तिम्रो समय खर्च हुने गरेको छ? राम्रो सँग विचार गर। यदि समय नमिलेको भए आजैदेखि मिलाइहाल। किनकि तिमीसँग समय छ। भविष्यमा यो समय तिम्रो हातमा नहुन पनि सक्छ।
त्यसो भए अब भन, गुरुहरूले विद्यालयमा पढाएको सबै विषयको गृहकार्य गर्न, बुझ्न, पढ्न अनि तिमी आफूले निचोडमा बुझेका कुराहरूको निष्कर्ष नोट अभ्यास गर्न, कति मात्र समय छ त तिमीसँग? केटाकेटी मान्छे बेलुका छिट्टै थकाइ, निद्रा लाग्छ। सुत्नु आराम गर्नु आवश्यक आवश्यकता पनि हो। बिहान उठ्नासाथ पुनः उही नियमित समय चक्र सुरु हुन्छ। त्यसो भए के? अब तिमीलाई सबै विषयको गृहकार्य गर्न, सबै पाठहरू पढ्न, नोट अभ्यास गर्न तिम्रो समयले पुगेको छ त? नपुगेको भए तिमी बिहान सबेरै ४ः०० बजे उठ्ने, पढ्ने गरेका छौ त? कक्षामा पढाएका कुरा ध्यान दिएर सुन्ने बुझ्ने, कक्षामा शिक्षक नभएको मौका छोपी हतारहतार पढ्ने, घोक्ने, कक्षाकार्य, गृहकार्य गर्ने, छलफल प्रश्नोत्तर आदि गर्ने गरेका छौ कि नाइँ?
थोरै पाएको फुर्सदको समयमा पनि अनावश्यक ५ मिनेट, १० मिनेट पानी खान, हावा खान, घाम ताप्न कक्षा बाहिर जाने, चौरमा खेल्ने शिक्षकको आँखा छल्ने घण्टी छुटाउने आदि त कतै गरेका छैनौ? कक्षामा पढ्दा पनि ध्यान दिएर नसुन्ने, खाली खासखुस हल्ला गर्ने, मौका पाउनासाथ घर भाग्ने, बिनाकाम हाटबजार जाने आदि पो गरिरहेका छौ कि? यदि यसो गरिरहेको भए पक्का पनि तिमीलाई पढ्ने, तयारी गर्ने समय पुगेको छैन। यसको चिन्ता तिमीलाई परेको छ कि छैन? एक पटक विचार गर। बेलैमा बुद्धि पुर्याऊ। समय बचाऊ, पढाइमा लगाऊ। किनकि बगेको खोला र बितेको समय जीवनभर फर्केर आउदैन। संसारको सबैभन्दा महँगो वस्तु नै समय हो। यसलाई नबुझी अनावश्यक खेर फाल्दा भविष्यमा हामीले धेरै पश्चाताप गर्नुपर्ने हुन्छ। नानी हो! बेलैमा विचार गरौँ है?
हामीले मनाउने गरेको दसैँ, तिहार लगायतका चाडपर्वहरू गाउँ, समाज, आफन्तमा गरिने विवाह, ब्रतबन्ध छेवर, पास्नी, पूजा, पुराण खेलकुद आदिमा बिताउने रमाइलो समयबाट पनि केही समय निकालेर आफ्नो पढाइमा लगाउने गरेका छौ वा छैनौ? छैनौ यदि भने केही नबुझेका छौ कि? बुझेर पनि बुझ पचाएका छौ? नानीहरू हो! विचार गर।
साँचो पढाइको अर्थ भनेको जसरी हामीले खाएको खानेकुरा राम्रोसँग पचाउन सकिएन भने, त्यही खाना नै विष बन्छ र विभिन्न रोगहरू निम्त्याउन सक्छ भने हामीले पढेका विषयवस्तुहरूलाई बारम्बार अभ्यास गरेर आफूभित्रै पचाएर चाहेको बेलामा नयाँनयाँ कुरा निकाल्न सकिन्छ भने मात्रै त्यो पढाइबाट अमृतरूपी ज्ञान प्राप्त हुन्छ। पढियो मात्रै, केही बुझिएन, अभ्यास गरिएन भने त्यो पढाइ हाम्रा लागि विष बराबर हुन्छ। किनकि आधा गाग्रो पानी छल्किएर पोखिएझैँ त्यसले हाम्रो जीवनमा अनेकन विकृतिहरू निम्त्याउन सक्छन्। हामीलाई बेलाबेलामा अनेक संकट र अप्ठयारोमा पार्न सक्छन्। त्यसैले नानी हो, सोच– तिमीहरूलाई अमृत मन पर्छ कि विष, आफै रोज।
नानीहरू हो! तिमीहरूको सोचविचार र व्यवहार कस्तो छ। त्यसको पनि खुलेर आत्मसमीक्षा गर है त। गुरुले पढाएको बेला हल्ला नगरी ध्यान दिएर सुन्ने या नसुन्ने? भनेका कुरा राम्ररी बुझी, व्यवहारमा उतार्ने या नउतार्ने? नियमित विद्यालय आउने कि नआउने? कक्षाकार्य गृहकार्य गर्ने कि नगर्ने? छलफल प्रश्नोत्तरमा भाग लिने वा नलिने? खेलकुद, सरसफाइ लगायतको समूह कार्यमा सहभागी हुने कि नहुने? गुरु आमा र बुबा लगायत आफूभन्दा ठूलाबडालाई आदर सम्मान र आफू भन्दा सानालाई माया गर्ने कि नगर्ने? अशक्त, असहाय, दीनदुःखी, गरीबहरूलाई सक्दो सहयोग गर्ने कि नगर्ने? विद्यालयको अतिरिक्त लगायतको कार्यक्रममा चासो देखाई सहभागिता जनाउने या नजनाउने? विद्यालय नियम र अनुशासन साथै मान्यजनबाट प्राप्त अर्ती, उपदेश र निर्देशनको पालना गर्ने या नगर्ने? घर परिवारको कुरा सुन्ने मान्ने या नमान्ने? परिवारको समस्यामा सहयोग गर्ने कि नगर्ने? विद्यालयका राम्रा काम कुराहरू घर परिवार र आफन्तलाई सुनाउने या नसुनाउने?
नानीहरू हो, यी सब कुराहरूको उत्तर आफ्नै मनसँग नढाँटीकन सोधेर देऊ त? गर्ने गरेका छौ या छैनौ? गर्ने गरेको भए ठिक छ, यदि छैन भने पनि केही बिग्रेको छैन, आजैबाट सुरु गर। किनकि नानी हो! यी कुराहरू तिमीलाई ठूलो मान्छे बनाउने असल संस्कारका आधारस्तम्भहरू हुन्। यसको जग तिमीहरूले आजैबाट बनाउन सुरु गरेनौ भने ढिला हुन्छ। तिमीहरूले भविष्यमा उकालो चढ्ने संस्कारको बाटो वा सिँढी पाउने छैनौ। जीवन अन्धकारमय खाडलमा पर्न सक्छ। आजैबाट विचार पुर्याऊ।
त्यसैले नानी हो! हामीले आफ्नो भविष्यको ख्याल नगर्ने मूर्खता गर्नु हुँदैन। बुझ्ने र सोच्ने कुरा समय छँदै, बेलैमा सोच्नु पर्छ। नत्र हिजै मर्यो, औषधि आज के काम?
त्यसैले नानी हो! हामीले ढिला नगरी आजै सोचौ सम्झौँ। विद्यार्थी जीवन विद्या आर्जन गर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण समय हो। यही अवधिमा प्राप्त गरेको ज्ञान र शिक्षाले हामीलाई सफल अनि महान बनाउँछ। विद्यार्थी जीवनमा जसले आफ्नो भविष्य सम्झेर बेलैमा बुद्धि पुर्याई, शिक्षाप्रति दत्तचित्त भई समय खेर नफाली बडो चासो, चिन्ता, उत्साह, जोस, जाँगर, लगन अनि परिश्रम गदर्छ, उसले पक्कै सफलता हासिल गर्दछ। यसका लागि साथमा इमान्दारी, आत्म अनुशासन, सिर्जनशीलता, शालीनता, धैर्य, संस्कार, सहनशीलता चातुर्य र समयको सही सदुपयोग गर्ने, ज्ञान सीप र क्षमता भएको साथै नयाँ नयाँ कुराको खोजी गर्ने, वैकल्पिक गुण भएको विद्यार्थीले मात्र आफ्नो लक्ष्य उद्देश्य सजिलै प्राप्त गर्न सक्दछन्।
यसको अलावा कोही विद्यार्थी आफ्नो पढाइप्रति चासो, चिन्ता नराख्ने, लोसे, अल्छी, आत्मअनुशासनमा नबस्ने, समयको कुनै ख्याल नगर्ने, आफ्नो कर्तव्यबाट पन्छिने, भाग्ने, असल संस्कार सिक्न नखोज्ने, आफूमा भएको अन्र्तनिहित प्रतिभाको पनि विकास गर्न नखोज्ने, अटेरी, कसैको आज्ञा र निर्देशन पालना नगर्ने, शिक्षाको महत्त्वलाई राम्ररी नबुझ्ने खालको भएमा, उसले पढाइमा प्रगति त गर्दैन, गर्दैन, ऊ आफ्नो जीवनको कुनै पनि उद्देश्यमा पुग्न सक्दैन।
विद्यार्थी जीवनमा सही ज्ञान प्राप्त गर्न नसक्दाको फल उसले जीवनभरि भोग्नुपर्छ। उसले बाँचुन्जेल दुःख, कष्ट, अभाव र पीडा मात्र भोग्नु पर्छ। जब जीवन जिउने क्रममा प्रत्येक पाइलामा अनेकौँ हण्डर, ठक्कर र धोका मात्र खान थाल्दछ। अनि बल्ल उसको चेत पलाउँछ। अब उसको चेत डढेलो लागि सकेपछिको पानी जस्तै हुन्छ। अब ऊसँग आफूलाई सुधार्ने समय पनि बाँकी हुँदैन। बल्ल उसले आफूले विद्यार्थी कालमा मेहनत गरेर नपढेकोमा जीवनभर पश्चाताप गर्नु सिवाय केही उपाय बाँकी रहँदैन।
त्यसैले विद्यार्थी भाइबहिनीहरू हो! हामीले बेलैमा सोचौँ, बुझौँ, हाम्रो यो सुनौलो समयलाई चिनौँ, आफू र आफ्नो घर परिवार, छर छिमेक समाज, समुदाय, देशकाल, परिस्थितिलाई सम्झौँ। अहिलेको क्षणिक सुख, सुविधा, आराम, रमाइलो र मनोरञ्जनलाई नभुलौँ। समयको सही सदुपयोग गरी असल शिक्षा र संस्कार सिक्दै सफल हुने जीवन यात्रामा लागौँ।
आफ्नो सा–सानो इच्छा, आकांक्षा पूरा गर्नतिर भन्दा बरु लामो भविष्यलाई सम्झेर दृढ अठोटका साथ इमानदारीपूर्वक कडा परिश्रम गर्न लागौँ। जीवनमा असल शिक्षा आर्जन गरेर एउटा सफल मानिस मात्रै होइन सबैभन्दा असल मानिस बन्ने प्रयास र प्रयत्नमा दृढताका साथ लागेको खण्डमा तिमीलाई तिम्रो सफलताको बाटोबाट रोक्न सक्ने कोही हुँदैन। तिमीले आफ्नो लक्ष्य सजिलैसँग प्राप्त गर्न सक्ने छौ। अनि बल्ल परिश्रमको मीठो फल मनभरि खाँदै, सारा संसारलाई पनि बाँड्दै बडो आनन्दका साथ आ–आफ्नो जीवनयापन गर्नेछौ भन्ने आशा मात्र होइन पूर्ण विश्वासका साथ नानीहरूलाई यो गुरुबाट सदा शुभकामना!
(अर्जुनबहादुर कार्की श्री जनता आवि फूलबारी, कटारी–४, उदयपुरका शिक्षक हुन्)
Shares

प्रतिक्रिया