ब्लग


लेखनाथले लेखेथे- तुल्य तुल्य दया दण्ड…

लेखनाथले लेखेथे- तुल्य तुल्य दया दण्ड…

भिक्टरकुमार सापकोटा
बैशाख ३०, २०८३ बुधबार १६:२८, काठमाडौँ

कविशिरोमणि लेखनाथ पौड्यालले लेखेका थिए, ‘तुल्य तुल्य दया दण्ड राजाका हुन् विभूषण’। आज यही कुरा व्यवस्थापन विषयमा नेतृत्वसम्बन्धी छुट्टै शीर्षकमा विश्वविद्यालय स्तरमा पढाइ हुन्छ। कर्मचारीहरूलाई सोही विषयमा विभिन्न तालिम दिने गरिन्छ। विदेशी विज्ञहरूका सिद्धान्तहरूको छलफल हुन्छ। संगठन, संस्थामा नेतृत्व कस्तो हुनुपर्छ भन्ने बुँदाहरू रटेर बहस गर्ने मानिसहरूको जमात पनि ठूलो छ। यस्तो हुलमा कविशिरोमणिको यो अमूल्य रत्न कतै हराउने त होइन भनी प्रश्न गर्दै नेपाली श्लोकको अंशलाई समयसापेक्ष व्याख्या गरी यहाँहरूसमक्ष पस्कने जमर्को गरेको छु।

कसैलाई दया गर्ने कि दण्ड दिने, आफैँमा जटिल विषय हो। दया मात्र गर्दा पनि मातहतका जनशक्ति मात्तिने सम्भावना हुन्छ, घमण्ड बढ्न सक्छ, संगठनमा अनुशासन क्षीण हुन जान्छ। दण्ड मात्र दिँदा पनि त्रास बढेर काम गर्ने प्रेरणा नै ह्रास भई अपेक्षित उपलब्धि प्राप्त नहुन सक्छ। दुवैलाई सन्तुलित राख्दै कार्य सम्पादन गर्नुलाई नै कविशिरोमणिले ‘राजाका विभूषण’ को संज्ञा दिएको अनुमान गर्न सकिन्छ।

पौराणिक कालदेखि नै राजकाज सम्हाल्ने जिम्मेवारी राजाको हुन्थ्यो। जनताको सुरक्षा गर्नु र जनतालाई न्याय दिनु राजाका कर्तव्य हुन् भन्ने प्रसङ्ग महाभारतमा पनि पाइन्छ। आज राजनीतिक, प्रशासनिक र सामाजिक परिवेश बदलिएको छ। काम गर्ने शैली फेरिएको छ। सूचना प्रविधिको विकासले भूगोल साँघुरिएको छ। यद्यपि संस्कृत साहित्यबाटै प्रेरित भएर लेखिएको कविशिरोमणिको श्लोक आधुनिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक र बहुउपयोगी छ।

संघसंस्था वा कार्यालयको कुनै इकाइ नै किन नहोस्, त्यसको नेतृत्व गर्ने व्यक्तिका गुण कस्ता हुन्छन्? आधुनिक व्यवस्थापनका सिद्धान्तमा दोहोरो सञ्चार विधिबाट उठेका सवालहरूको मूल्याङ्कन गरेर निर्णय लिन सक्ने, संगठनमा लोकतान्त्रिक पद्धति अँगाल्न सक्ने, मातहतलाई उत्प्रेरित गर्न सक्ने आदिजस्ता विभिन्न उत्तर पाउन सकिन्छ। तर कविशिरोमणिको उल्लिखित वाक्यांश पढ्दा तिनीहरूभन्दा अझ महत्त्वपूर्ण गुण ‘तुल्य तुल्य दया दण्ड’ गर्न सक्ने नेतृत्व नै आज टड्कारो रूपमा खड्केको विषय हो भन्ने लाग्छ।

नेतृत्व तहमा बसेको व्यक्तिलाई आफ्ना कर्मचारीलाई कहिले, कहाँ, कसरी दया गर्ने अथवा आधुनिक मानव संसाधन व्यवस्थापनको भाषा प्रयोग गर्दा तिनीहरूलाई कसरी उत्प्रेरित गर्ने भनी सिकाउन सकिन्छ। दण्ड–सजाय दिन अथवा कारबाही गर्न पनि चरण–चरणमा प्रशिक्षित गराउन सकिन्छ। तर न्यायसंगत हुने गरी दुवैलाई बराबर कसरी लैजाने भन्ने विषय सिकाएर मात्र पर्याप्त हुँदैन। त्यसका लागि प्रत्येक व्यक्तिको कार्यक्षमता मूल्याङ्कन गरेर रणनीतिक तवरले कौशल प्रस्तुत गर्न सक्ने प्रतिभा भएको र अनुभवले खारिएको नेतृत्वबाट मात्र सम्भव हुन्छ।

कतिखेर कति दया गर्ने वा कति दण्ड दिने भनी चरण–चरणको मूल्याङ्कनपछि सन्तुलित निर्णय गर्न सक्नु नै उच्च कोटीको निर्णय क्षमता भएको असल नेतृत्वको गुण हो भन्ने सन्देश कविशिरोमणिका शब्दले इङ्गित गरेका छन् भन्नुमा अत्युक्ति नहोला।

तुल्य तुल्य दया दण्डको भाव अङ्ग्रेजीको ‘क्यारोट एन्ड स्टिक’ जस्ता प्रचलित पदावलीले समेत बोकेको पाइन्छ। कर्मचारीलाई बढी पैसा दिनासाथ परिणाम निकाल्न सहयोग पुग्ने एफडब्ल्यू टेलरका परीक्षणले देखाए तापनि पछि यो विषयमा थुप्रै बहस भएको पनि पाइन्छ। संस्कृत श्लोकदेखि अङ्ग्रेजी भनाइसम्म बुझ्न सकिन्छ कि दया र दण्डलाई सन्तुलित राख्नुपर्ने धारणा प्राचीन र सर्वव्यापी हो।

आजका दिनमा हाम्रा सार्वजनिक सेवा प्रदान गर्ने संस्थाहरू कमजोर हुँदै गएको भाष्य सर्वसाधारणमा व्याप्त छ। यसको बहुआयामिक कारण हुन सक्छन् जसलाई आन्तरिक र बाह्य वातावरणले समेत प्रभाव पारेका हुन्छन्। एक ढङ्गबाट विश्लेषण गर्दा कतै नेतृत्व तहबाट दया–दण्डको सन्तुलन व्यवहारमा कार्यान्वयन गर्ने प्रयास कम हुनाले बिग्रेको त होइन भन्ने प्रश्न पनि उठ्न सक्छ।

कविशिरोमणिका उद्धृत शब्दहरूको वास्तविक प्रसङ्ग उनको ‘ऋतु–विचार’ खण्डकाव्यमा छ। सो खण्डकाव्यको सुरुमा रहेको ‘वसन्त–विचार’ शीर्षकमा पढ्न पाइन्छ-

वसन्तमा समानै छन् ठण्डी गर्मी दुवै गुण।
तुल्य तुल्य दया दण्ड राजाका हुन् विभूषण॥

अर्थात् वसन्तमा धेरै ठण्डी पनि हुँदैन, धेरै गर्मी पनि हुँदैन। यसैलाई दृष्टान्तस्वरूप उनले तुल्य तुल्य दया दण्ड राजाका हुन् विभूषण भनेका थिए।

राजाको प्रसङ्ग यहाँ अनायास आएको होइन। वसन्त आफैँमा ऋतुराज हो। २०८२/८३ सालको वसन्तमा पनि देशले नयाँ र बलियो सरकार पाएको छ। कविशिरोमणिकै भाषामा भन्नुपर्दा, वसन्त ऋतुले झैँ यसले नेपाली लोकलाई गौरवले भरोस्। देशका निजी तथा सार्वजनिक प्रशासनले दया–दण्डज्ञ नेतृत्व पाऊन्। नेपालको यो वासन्ती युग दिगो रहोस्। 

(भिक्टरकुमार सापकोटाले फोर्डम विश्वविद्यालय, न्युयोर्कबाट अन्तर्राष्ट्रिय र विकास अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad