ब्लग


आँखा चिम्लिएर बेसारपानी खाएँ, ठीक हुन २५ दिन लाग्यो

आँखा चिम्लिएर बेसारपानी खाएँ, ठीक हुन २५ दिन लाग्यो

गोकुल बास्कोटा
कात्तिक २६, २०७७ बुधबार १३:३९,

श्रीमती तारा मानन्धरलाई ज्वरो, रुघाखोकी, जिउ दुख्ने लगायत लक्षण देखिएपछि कोरोना परीक्षण गर्‍यौँ। उनी र म दुवैलाई कोभिड–१९ संक्रमण देखियो।

हामीलाई कोरोना कहाँबाट सर्‍यो, अत्तोपत्तो छैन। म १० दिनदेखि कहीँ हिँडेको थिइनँ। घरमा पनि कसले कसलाई सार्‍यो भनेर रमाइलो ठाकठुक नै पर्‍यो। मैले ल्याएर सारेँ भन्ने परिवारका सदस्यहरुको कुरो, तिमीहरु बजार जान्छौ, त्यसैले तिमीहरुले नै सार्‍यौ भन्ने मेरो कुरा। जे होस्, लापरबाही भएछ र संक्रमण भयो।

पोजिटिभ देखिएपछि दुवै जना घरमै आइसोलेसनमा बस्न थाल्यौं। दुई दिन हल्का खोकी लागेजस्तो भयो। सिटी भ्यालु भने हामी दुवैको कम थियो। श्रीमतीको ११ र मेरो १९ मात्रै थियो। नेपालमा दुई लाखलाई संक्रमण भइसकेको छ। यस्तो अवस्थामा डर मान्ने, हिम्मत हार्ने कुरै भएन। रोग आउँछ, जान्छ। मुख्य कुरा सावधानी अपनाउने हो।

हामीले कीर्तिपुर आयुर्वेदिक अस्पताल तथा रिचर्स सेन्टरका डा. रामआधार यादवले सिफारिस गरेका औषधि खान थाल्यौं। डा. बीपी तिमिल्सिना, संसद् सचिवालयको स्वास्थ्य सचिवालयका पुष्प बरालले पनि सहयोग गर्नुभयो।

कोरोना लाग्दा खान मन पटक्कै नहुने रहेछ। तर, दूधमा बेसार हालेर घोलेर खाएँ। बेसारपानी, अदुवापानी, जिरापानीको झोल खाएँ। खान मन नलाग्दा पनि आखाँ चिम्लिएर खाएँ।

कोरोनाले बढी कमजोर गराउँदो रहेछ। निको भएपछि यसो बगैँचातिर हिँड्न निस्केको त रिंगटा आउलाजस्तो भयो। त्यसैले आइसोलेसनमा बस्दा पौष्टिक खानेकुरा खानुपर्दो रहेछ। भिटामिन डी, भिटामिन बी पनि खाइयो। अमला खाएँ। अम्बाको पात, बेसार, नुन मिसाएर, उमालेको पानीले कुल्ला गरेँ।

भाइरस फोक्सोमा जानु खतरा हुने रहेछ। त्यसैले पानीको वाफ नियमित लिएँ। थकाइ लाग्दो रहेछ। आराम पनि आवश्यक पर्ने रहेछ। सुत्न चाँही उत्तानो सुतिनँ। घोप्टो, दुईकोल्टो परेर सुत्दा राम्रो हुने डाक्टरले सुझाव दिएका थिए।

संक्रमण भएपछि ध्यान दिने मुख्य कुरा श्वासप्रश्वास रहेछ। कति असहज भएको छ हेर्नुपर्ने रहेछ। अक्सिजनको लेभल ठेगानमा हुनुपर्दो रहेछ। अक्सिजन लेभल ठिक भएकै कारण सिटी भ्यालु कम हुँदा पनि हामी अस्पताल पुग्नुपरेन। ९० भन्दा अक्सिजन लेभल कम आउनु हानिकारक मानिँदो रहेछ। तर मेरो एकदिन मात्रै ८९ आयो त्यसपछि ९० भन्दा तल कहिल्यै आएन। श्रीमतीको पनि त्यस्तै भयो।

श्रीमतीको १८ दिन र मेरो १३ दिन पुगेपछि पुनः परीक्षण गर्दा फेरि पोजिटिभ देखियो। यतिबेला दुवैको सिटी भ्यालु भने ३० माथि पुगेकाले खासै डर भएन। तर एक छोरालाई भने यतिबेला संक्रमण देखियो। त्यसको आठ दिनपछि पुनः परीक्षण गराउँदा तीनजना नै कोरोना मुक्त भयौं। मलाई ठिक हुन २५ दिन लाग्यो, श्रीमती २८ दिनमा र छोरा १० दिनमा ठिक भए।

यो हामीजस्तै सयौं कोरोनापीडितहरुको साझा समस्या हो। कुनै तनाव लिइएन। साथीहरुको फोन चाहिँ कम उठाइयो। चिकित्सकले लामो कुरा नगर्नु भनेका थिए। धेरै बोल्दा घाँटी दुख्दो रहेछ।

अब मैले तिहारपछि मात्रै साथीभाइसँग भेटघाट गर्ने भनेको छु। कार्यक्रमको प्रस्ताव राख्ने साथीहरुलाई ६ गतेपछि मात्रै राख्न भनको छु। त्यो दिनमा दुईतीन वटा होइन, एउटा मात्रै राख्न भनेको छु। सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाएर, दुरी कायम गरेर, ज्वरो नापेर, स्यानिटाइज गरेर, मास्क लगाएरमात्रै कार्यक्रम राख्न भनेको छु।

धेरै योसँग त्रसित हुनुपर्दैन। सचेत हुनु र सावधानी अपनाउनु पर्छ। सतर्कता अपनाउँदै आफ्नो काम गर्दै जानुपर्छ।

महामारी सुरु भएपछि सरकारले सबैलाई सुरक्षित बस्नुस् भनेकै हो। काबुबाहिरको परिस्थिति आउँदा सरकारले गरेर मात्रै हुँदैन। ठूलो समस्या आएपछि त्यसलाई नियन्त्रण गर्न जनता पनि सक्रिय हुनुपर्‍यो। सरकारले परीक्षण, उपचार गर्ने नीति लिएर आयो। त्यो त सरकारले दिने सुविधा मात्रै हो। तर सुरक्षित हुने त नागरिक आफैँले हो।

त्यसैले सरकारले केही गरेन भन्न मिल्दैन। दैनिक बाह्रचौध हजार परीक्षण भएकै छ। क्षमताले भ्याएसम्म नर्सहरु, डाक्टरहरुलाई खटाएकै छ। सुरक्षाकर्मीहरु खटेकै छन्। नकारात्मक सोच राख्ने हाम्रो संस्कारजस्तो बसेकाले नकारात्मक कुरा बढी आएका हुन्। सरकारले केहीपनि गरेन भन्ने कुरा एकदमै गलत हुन्छ। सरकारले काम गरेकैले युरोप, अमेरिका, भारतभन्दा हाम्रो मृत्युदर कम छ।

राज्यको क्षमता पनि हेर्नुपर्छ। चीनबाहेक कुन देशले कोभिड १९ रोक्नमा सफलता हासिल गरेको छ? हामीभन्दा सबै हिसाबले सम्पन्न देशहरुलाई लपेटेर लगेको छ। त्यसैले सरकारले सकेजति गरेको छ।

हाम्रो देशमा पनि वर्ग संरचना छ। त्यसो हुँदा सरकारले तिनलाई हेर्नुपर्‍यो, जसको सरकारबाहेक कोही पनि छैन, केहीपनि छैन। तिनलाई सरकारले निशुल्क उपचार गर्ने हो। सक्नेले आफ्नो उपचार खर्च आफैँ बेहोर्नुपर्छ। 

तिर्न सक्नेले सबैकुरा सरकारले सित्तैमा दिनुपर्छ भन्नु हुँदैन। हामीले सामाजवादको कल्पना पो गरेको हो त। समाजवाद कार्यान्वयन भएको अवस्था होइन नि। कसैलाई प्रधानमन्त्री, अर्थमन्त्री बनाएर पनि एकैछिनमा सामाजवाद आउने होइन।

यतिबेला सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, दोस्रोमा सुरक्षाकर्मी र तेस्रोमा कर्मचारीलाई हेर्नुपर्छ। त्यसपछि केहीपनि नहुने र कोहीपनि नहुने जनतालाई। उनीहरुलाई सरकारले हात उठाऊ, हामी गर्छौँ भनेकै त छ।

(पूर्वमन्त्री बास्कोटासँग नेपालखबरका यज्ञराज जोशीले गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad