राजनीति र राजकाज भनेको जंगल र रूखजस्तै हुन्। राजनीति जंगल हो भने राजकाज रूख। यिनीहरू अन्तरसम्बन्धित छन्। अलग बनाएर हेर्न मिल्दैन। रवीन्द्र मिश्रले किताबको शीर्षक राजनीतिसँगै राजकाज राखेर राजनीति रहर त पूरा भयो, तर राज्य सञ्चालन गर्ने ढंग पुगेन भन्न खोज्नुभएको छ।
म आफैं देशमा राजनीतिक अवस्था परिवर्तनका लागि ४०/४५ वर्षदेखि लागिरहेको छु। छोटो समय राजकाज पनि चलाएँ।
राज्य-व्यवस्था भनेको तथ्यांकीय हुँदैन। हामीले कुनै पनि गतिशीलता, परिवर्तनशीलता र ऐतिहासिकता सापेक्षातामा हेर्नुपर्छ। राजनीति, राज्य सञ्चालन भन्ने कुरा सामाज, मानिसको चेतना सँगसँगै परिवर्तन हुँदै जान्छ। नेपालमा हामी २१औं शताब्दीमा परिवर्तनका लागि लड्यौं, तर यो काम युरोप, अमेरिकामा २ सय वर्षपहिले भएका थिए। एसियामा २०औं शताब्दीमा भइसकेको थियो। हामी पछाडि पर्यौं र पूर्णतामा पुर्याउन सकेनौं। राजनीतिक परिवर्तन ठीक ढंगले पूरा गर्न सकेनौं।
त्यो कारणले नेपालमा राज्य सञ्चालन ठीक ढंगले अघि बढ्न सकेको छैन। फेरि पनि यसलाई ठीक ढंगले सञ्चालन गर्न सकिन्छ। हुँदै भएन। सक्दै सकिएन भन्ने होइन।
म अर्थमन्त्री हुँदा भर्खरै गणतन्त्र नेपालको पहिलो सरकार बनेको थियो। त्यसबेला शान्ति प्रक्रिया, सेना समायोजन, संविधान निर्माणलगायत व्यवस्थापन मुख्य काम थिए। राज्य सञ्चालन गर्नु र विकास निर्माण समृद्धिको दिशामा अघि बढ्ने काम सहायक मात्रै थिए।
त्यो पनि एक मात्रै कार्यकालमा मैले बजेट ल्याएको हुनाले धेरै गर्न सकिनँ। तर पनि त्यसले सुरुवात राम्रै गरेको थियो भन्ने मलाई लाग्छ।
प्रधानमन्त्री बन्दा पनि ९ महिना कार्यकाल हो। अर्को ९ महिना कामचलाउ थियो। त्यसबेला पनि विकास निर्माणमा मैले केही गर्न सकिनँ भन्ने कुरा आउँछ। तर त्यसबेला पनि संविधान निर्माण, शान्ति प्रक्रिया र सेना समायोजन नै मुख्य कुरा थिए। विकास निर्माण र राज्य सञ्चालन सहायक मात्र थिए। मेरो प्रधानमन्त्रित्व कालमा करिब २ वर्षसम्म बजेट पेस गर्नसमेत दिइएन।
यसकारण राज्य सञ्चालनमा म सन्तुष्ट छु भन्ने होइन। विविध कारण अपेक्षागरेजस्तो मैले गर्न सकिनँ।
रवीन्द्र मिश्रले किताबमा हाम्रा विकृति, विसंगती उठान गरेका छन्। तर हामीले त्यसको निदान गर्नुपर्छ। किताबको सार– पटकपटक परिवर्तन भयो तर ‘गर्भनेन्स’ भएन भन्ने छ। मेरो भनाइ के छ भने २००७ सालमा आंशिक परिवर्तन भयो, त्यसपछि महेन्द्रले प्रजातन्त्र खोसे।
सात सालकै कुरा २०४६, ६२–६३ मा ल्याइएको हो। त्यो पूरा छैन। राजनीतिक परिवर्तनपछि उपलब्धिहरूलाई संस्थागत गर्न परिवर्तनकामी शक्तिहरूले नै केही दसक नेतृत्व गर्नुपर्छ। तर नेपालमा बीपी कोइरालाले पनि क्रान्तिकारी परिवर्तन गर्नुभयो। तर सरकार ढल्यो।
२०४७ सालमा पनि परिवर्तन आयो। फेरि राजाले सत्ता हातमा लिए। पछिल्लो जनआन्दोलनपछि पटकपटक तनातानले सरकार फेरिँदा बलियो ‘इन्सिच्युसन’ विकास हुन सकेको छैन। त्यसकारण गाडीको इन्जिन खराब छ भने राम्रो ड्राइभर राखिदिएर केही हुँदैन।
(रवीन्द्र मिश्रले लेखेको ‘राजनीतिसँगै राजकाज’ पुस्तक विमोचन तथा राजकाज संवादमा डा. भट्टराईले राखेको मन्तव्यको सम्पादित अंश)
प्रतिक्रिया