ad ad

ब्लग


सन्दीपलाई टिममा फर्काएर कस्तो नजिर बनाउँदैछ क्यान?

सन्दीपलाई टिममा फर्काएर कस्तो नजिर बनाउँदैछ क्यान?

सन्दीप लामिछाने। तस्बिर : नेपाल क्रिकेट संघ क्यान


लक्ष्मी जि.सी
माघ २५, २०७९ बुधबार १७:४, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछाने घरेलु मैदानमा आगामी साता हुने नामिबिया र स्कटल्याण्डसहितको आइसीसी एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा छन्। 

उनी टिमको अन्तिम छनोटमा पर्छन्, पर्दैनन्? केही दिन प्रतीक्षा गर्नुपर्नेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिरिज फागुन २ देखि ९ गतेसम्म हुँदैछ। 

बलात्कार आरोप लागेर ९९ दिन जेल बसेपछि गत पुस २९ गते धरौटीमा रिहा भएका सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाएपछि नेपाल क्रिकेट संघ (क्यान) को विरोध भइरहेको छ। 

सन्दीपलाई टोलीमा समावेश गरेकोमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत विरोध गरेका थिए। 

क्यानको कदमको सार्वजनिक विरोधका क्रममा माइतीघर मण्डलामा प्रदर्शन पनि भयो। यसबारे सामाजिक सञ्जालमा जनमत विभाजित छ। क्यानको निर्णयको समर्थन गर्ने पंक्ति पनि धेरै छ।

नाबालिग बलात्कार आरोपमा ९९ दिन जेलमा बिताएका क्रिकेटर सन्दीप धरौटीमा रिहा भएका थिए। उनले काठमाडौं छाड्नसमेत अदालतको अनुमति लिनुपर्ने आदेश छ। 

यस्तोमा सन्दीप सिरिजलाई लक्षित गर्दै टोलीमा समेटिँदा झन् विवाद भएको छ। सन्दीपलाई बलात्कार आरोपमा नभई बन्द प्रशिक्षण छाडेकाले कप्तान पदबाट निलम्बन गरेको जवाफ क्यानले दिइरहेको छ। 

सुरुमा क्यानले बलात्कारको आरोपकै कारण निलम्बन गरिएको बताएको थियो। तर अहिले क्यान आफ्नै अडानबाट पछि हटेको छ। 

बलात्कार जस्तो जघन्य अपराधलाई क्यानले हेर्ने दृष्टिकोणलाई लिएर बहस भइरहेको छ। क्यानले सन्दीप प्रकरणमा पीडितलाई कस्तो मानसिक असर पर्छ भन्ने ध्यान दिएको छैन। 

सन्दीपलाई टोलीमा समावेश गर्दा यसले अरु गलत नजिर बन्ने सम्भावना छ। उनीमाथि  बलात्कार आरोप लागेपछि अरु खेलाडीलाई पनि झस्काएको छ। स्टारडमको आडमा जे गरे पनि हुन्छ भन्ने मानसिकता पछिल्लो समय केही खेलाडीमा देखिएको छ। 

सन्दीप एक प्रतिनिधि पात्र मात्रै हुन्। नेपाली खेलकुदमा खेलाडी र पदाधिकारी पनि विवादमा नपरेका होइनन्। व्यवसायिक कामबाहेक महिला पत्रकारलाई भेट्न होटलमा बोलाउने खेलाडीले एउटा सामान्य फ्यानलाई कसरी हेर्छन्? व्याख्या गरिराख्नु परेन।

नेपालको कानुनअनुसार फौजदारी अपराधकाआरोपितले सार्वजनिक पद धारण गर्न नपाउने नियम छ। सन्दीपमाथि नाबालिग बलात्कार आरोप लागेको छ। नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय टोलीमा सन्दीप कसरी अटाउन सक्छन् ? अहिले बहस यहीँ अडिएको छ। 

अन्तर्राष्ट्रिय अभ्यासमा बलात्कार आरोप लागेका थुप्रै खेलाडीले अरुले जस्तै खेलेका थिए, खेलिरहेका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले देशको नियमले नरोके खेलाउन सकिन्छ भन्ने संकेत गरेकाले उनलाई टोलीमा राख्दा समस्या नहुने क्यानले दाबी गरेको छ। तर, देशको कानुनले त्यो अनुमति दिन्छ त? अदालतले खेल्न रोकेको छैन भन्ने तर्क क्यानले दिएको छ। अदालतले उनलाई खेल्न दिनुपर्छ पनि भनेको छैन। 

अन्तर्राष्ट्रिय अभ्यास भन्दै आरोपित खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्दा यसले अन्य खेलाडीमा पनि गलत नजिर बस्न सक्छ। बलात्कार या अन्य अपराधमा पनि छुट पाइने सोचले अन्य खेलाडीले पनि गलत गरे त्यसको जिम्मा कसले लिने? 

‘जारी मुद्दाको किनारा लाग्न १० वर्ष लागेर सन्दीप निर्दोष सावित भए के गर्ने?’, क्यान अध्यक्ष चतुरबहादुर चन्दले भन्दै आएका छन्। त्यसो हो भने उनी दोषी ठहरिए के गर्ने भन्ने जवाफ कसले दिन्छ? क्यानले यसबारे केही बोलेको छैन।

सन्दीपमाथि अहिले आरोप मात्रै लागेको छ, फैसला बाँकी छ। तर अपराध पुष्टि नहँुदासम्म खेलाडीले जे पनि गर्न पाइन्छ त? बन्द प्रशिक्षणको एउटा खेलाडी भविष्यको चिन्ता नगरी प्रशिक्षण छाडेर निस्कन्छ भने त्यसको चिन्ता अरुले किन लिइदिनु पर्ने?  

क्यानले सन्दीपको भविष्यको चिन्ता लिँदै क्याम्पमा राखेको देखिन्छ। क्यान आफैँले आयोजना गरेको नेपाल टी२० लिगमा स्पट फिक्सिङ आरोपमा उदीयमान खेलाडी आदिल अन्सारी प्रहरी हिरासतमा छन्। यदि आदिललाई अदालतले सन्दीपलाई झैँ तारेखमा छाड्यो भने क्यानले टोलीमा बोलाउला? 

सन्दीपलाई टोलीमा राखेर खराब नजिर बसालेको क्यानले आफ्नो कदमलाई सच्याउन जरुरी छ। सन्दीपको मामलामा मात्र क्यान उदार हो कि अन्य खेलाडीबारे पनि क्यानले सोच्छ? सबै खेलाडीलाई एउटै व्यवहार गर्न क्यान तयार छ? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .