अर्थनीति


१२० वर्ष पुरानो चन्द्र नहर ब्युँतायो जापानले, सप्तरीका ३५ हजार किसान हुनेछन् लाभान्वित

१२० वर्ष पुरानो चन्द्र नहर ब्युँतायो जापानले, सप्तरीका ३५ हजार किसान हुनेछन् लाभान्वित

चन्द्र नहर पुनःनिर्माणपछि बुधबार नेपाललाई हस्तान्तरण गरिएको हो। तस्विरः जाइका


नेपालखबर
माघ १४, २०८२ बुधबार २०:२१, काठमाडौँ

नेपालको सिँचाइ इतिहासमा कोशेढुंगा मानिने सप्तरीको ऐतिहासिक 'चन्द्र नहर' ले झण्डै एक शताब्दी पछि नयाँ जीवन पाएको छ। सन् १९२७ मा निर्माण सम्पन्न भएको मुलुककै पहिलो आधुनिक सिँचाइ प्रणालीको पुन:निर्माण कार्य पूरा गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले मंगलबार नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

ऐतिहासिक सम्बन्धको गौरव यो आयोजना केवल पूर्वाधार मर्मत मात्र नभई नेपाल र जापानबीचको १२० वर्ष पुरानो शैक्षिक र प्राविधिक सम्बन्धको प्रतिविम्ब पनि हो। सन् १९०२ मा उच्च शिक्षाका लागि जापान गएका आठ नेपाली विद्यार्थीमध्येका एक डिल्लीजंग थापाले त्यहाँ सिकेको इन्जिनियरिङ कौशलकै आधारमा चन्द्र नहरको निर्माणको नेतृत्व गरेका थिए। सोही ऐतिहासिक विरासतलाई जोगाउन जापान सरकारले २ अर्ब ५ करोड नेपाली रुपैयाँ (२.२५६ अर्ब येन) अनुदान उपलब्ध गराएको थियो।

पुन:निर्माण भएको चन्द्र नहर

९५ वर्ष लामो सञ्चालनपछि जीर्ण बनेको यो प्रणालीलाई आधुनिक इन्जिनियरिङ मापदण्ड अनुसार पुन:स्थापना गरिएको छ। जाइकाका अनुसार आयोजना अन्तर्गत ८ वटा क्यानल अन्डरपास, ९ वटा क्रस ड्रेनेज र १५ वटा नहर क्रसिङ पुल गरी ३२ वटा महत्वपूर्ण संरचनाको मर्मत गरिएको छ। यसबाट सप्तरीको ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा थप सुदृढ भएको छ।

नहर सुधारिएसँगै सो क्षेत्रका ३५ हजार कृषक परिवारको जीविकोपार्जन र खाद्य सुरक्षामा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने देखिएको छ।

सप्तरीको भग्नी मलेठमा आयोजित एक विशेष समारोहका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, नेपालका लागि जापानी दूतावासका नियोग उप-प्रमुख यासुहारु सिन्तो र जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले संयुक्त रूपमा पुन:स्थापित आयोजनाको उद्घाटन गरे।

'गुणस्तरीय पूर्वाधारको नमूना' हस्तान्तरण कार्यक्रममा बोल्दै ऊर्जा सचिव सरिता दवाडीले जापानको सहयोगले नेपालको गौरवशाली संरचना जोगिएको बताइन्। 'यसले भौतिक संरचना मात्र दिएको छैन, ज्ञान र प्रविधि हस्तान्तरणमार्फत हाम्रा प्राविधिकहरूको क्षमता अभिवृद्धिमा पनि ठूलो सघाउ पुगेको छ,' उनले भनिन्।

जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपालको कृषि र जलस्रोत जस्ता प्राथमिकताका क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए। दशकौँदेखि मर्मत सम्भारको अभावमा नहरको अन्तिम छेउसम्म पानी पुग्न छाडेका बेला भएको यो सुधारले स्थानीय किसानहरूमा नयाँ उत्साह जगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad