ad ad

अपराध


दार्चुला हत्या अभियुक्तको बयान : त्यो रात रुखमा बसेँ, बाटो नचिन्दा प्रहरीले भेट्यो

दार्चुला हत्या अभियुक्तको बयान : त्यो रात रुखमा बसेँ, बाटो नचिन्दा प्रहरीले भेट्यो

उजिर कार्की
असार १७, २०७९ शुक्रबार २१:३६, काठमाडौँ

भाउजूलाई बलात्कार गरेर जिउँदै जलाएको आरोपमा पक्राउ परेका दार्चुलाको शैल्यशिखर नगरपालिका १ का भोजराज खडायत पुर्पक्षका लागि थुनामा छन्। 

जिल्ला अदालत दार्चुलाका न्यायाधीश कोमलप्रसाद आचार्यले खडायतलाई थुनामा पठाउन आदेश दिएका हुन्। ५० दिन लामो अनुसन्धानपछि प्रहरीले गत बुधबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। त्यसैको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध तीनवटा कसुरमा मुद्दा दायर गरेको थियो। 

खडायतविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो। दोषी ठहर भए उनलाई बाँचुन्जेल सजाय हुन सक्छ। यसअघि जिल्ला सरकारी वकिल कार्यालय समक्ष गरेको बयानमा भने उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। 

उनकै बयान र अनुसन्धानका आधारमा अन्य व्यक्तिको संलग्नता नदेखिएपछि प्रहरीले पक्राउ परेका अन्य दुई जनालाई भने अनुसन्धान पछि छाडेको थियो। घटनापछि खडायत भने फरार थिए। 

ढुंगाले टाउकोमा हानेर लगाए आगो
जेठ २४ गते बेलुकी ७/८ बजेतिर भोजराज आफ्नो घर पुगेका थिए। तातापानीमा गाउँकै रघे तितरा, जगन खडायत र ईने तितरासँग उनको भेट भयो। 

ईने तितरा भने घर जान्छु भनेर आफ्नो घरतर्फ बाटो लाग्छन्। त्यसपछि भोजराज,  रघे तितरा र जगन खडायत तीनै जना बैतडी जिल्लाको सिमार बजारतर्फ गए। 

त्यहाँ वीरेन्द्र रानाको पसलमा बसेर २ बोतल घरेलु रक्सी खाए। राति १२ बजेतिर तीनै जना गफ गर्दै घर फर्किंदैथे। 

भोजराजको बयान अनुसार रातको करिब २ बजेको थियो। उनी साथीहरुसँग छुट्टिएर आफ्नो घरतर्फ आउँदै गर्दा बाटोमा पर्ने अनिभा खडायतको घरको मूल ढोका खुलै देखे।

भित्र बत्ती पनि बलेको थियो। रक्सीले मातेका भोजराज अनिभाको घरभित्र पसे। 

‘आफ्नो सुत्ने कोठामा केही सामान खोजेजस्तो गरी उभिएको देखेँ, मैले उहाँलाई केही काम छ बाहिर जाऊँ भन्दा हामी दुवै जना घरबाट सँगै बाहिर गाउँ जाने बाटोसम्म आयौँ,’ भोजराजले बयानमा भनेका छन्, ‘त्यहाँदेखि टाढा जान मान्नु भएन। मैले ललाइफकाई गफगाफ गर्दा समेत मञ्जुर हुनु भएन। पछि डर–त्रास देखाई घरनजिकै रहेको अम्मर खडायतको पिडालको बारीमा लगेर करणी गर्ने प्रयास गरेँ।’

त्यहाँ अनिभाले नमानेपछि घरदेखि करिब ५० मिटर टाढा रहेको उखुबारीको गराको छेउमा लगेर उनलाई जबरजस्ती करणी गरेको र अनिभाले त्यसको प्रतिकार गर्ने प्रयास गर्दै अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको भोजराजको बयान छ। त्यसपछि नजिकै रहेको ढुंगाले अनिभाको टाउकोमा प्रहार गरे। 

भोजराजले ढुङ्गाले टाउकोमा हानेपछि अनिभा ऐया–ऐया गरी कराउन थालिन्। छट्पटाइन्। उनको टाउकोबाट रगत बग्न थाल्यो। भोजराजले फेरि उनको टाउकोमा त्यही ढुंगाले प्रहार गरे। 

घटनास्थल नजिकै राखेका आफ्ना कपडा खोजे। प्यान्ट र दाहिने खुट्टाको चप्पल भेटाए। एउटा मात्रै चप्पल लगाए। प्यान्ट लगाएर अर्को चप्पल केहीबेर खोजे। तर देब्रे खुट्टाको चप्पल भेट्टाएनन्। 

त्यसपछि अनिभाका कानमा लगाएका सुनका गहना र नाकमा लगाएको सुनको नथिया निकाले। घटनास्थलको केही पर ओढारमा रहेको सुकेको खर र गहुँको नल ल्याए र त्यसले घाइते अवस्थामा रहेकी अनिभालाई छोपिदिए।

घाइते अनिभालाई खरले छोपिसकेपछि एउटा चप्पल पनि खोलेर घटनास्थल नजिकै रहेको झाडी नजिकबाट तल भिरतिर फालिदिए। 

‘सर्ट पनि त्यहाँ भेटिएन। अनिभाको घरको कोठा भित्र छुट्यो कि भन्ने सोचेर म मोबाइलको टर्च बालेर घटनास्थलबाट फर्किएर कोठाभित्र गएर हेरेँ। त्यहाँ पनि नभेटेपछि म पुनः सोही मोबाइलको टर्चको सहाराले घटनास्थलतर्फ गएँ। फेरि खोज्दा पनि सर्ट भेटिनँ। म त्यहाँबाट फेरि अनिभाको घरतर्फ आएँ,’ भोजराजले बयानमा भनेका छन्। 

भोजराजको हातमा रगत लागेको थियो। घर बाहिर पानीको ड्रम थियो। रगत लागेको हात धोए। त्यसपछि गाउँ जाने बाटोतर्फ जान लाग्दा भोजराजले अनिभाकी छोरी गोमतीले मोबाइलमा फोन गरिरहेको अवस्थामा देखे। 

भोजराजले सोचे, गोमतीले घटना थाहा पाइसकिछन्, पक्कै फोनबाट प्रहरीलाई खबर गर्दैछिन्। त्यसपछि भोजराजले गोमतीको मोबाइल खोस्न गोमतीको हात समात्न खोजे। गोमती भागेर खोलातर्फ लागिन्। 

उनको पछिपछि गए भोजराज पनि। भोजराज खोलामा पुग्दा गोमती नजिकै रहेको दशरथ खडायतको घरतर्फ गइन्। भोजराज त्यहीँबाट फर्किएर फेरि घटनास्थलमा पुगे। 

‘अनिभालाई छामछुम गर्दा हल्का आवाज निकाली घ्यार–घ्यार गरिरहेकी थिइन्।  हल्लाउँदा समेत केही छट्पटाएको जस्तो लाग्यो। नजिकै ओढारमा गएर ३/४ भारी सुकेको खर र गहुँको नल ल्याए। अनिभाको शरीरमाथि हालेँ,’ उनले भनेका छन्।

त्यसपछि सलाई निकालेर बिहान ४ बजेर १५ मिनेटतिर आगो लगाइदिए र उनी त्यहाँबाट भागे। त्यसपछि उनी आफ्नो घरमा पुगे। बाहिर रहेको जुत्ता र बाहिरै सुकाएको सर्ट लगाएर घर परिवारलाई केही जानकारी नदिई बैतडीको गन्नाको बाटो हुँदै पुर्तौडी हाटतर्फ गए।

त्यहाँबाट ढोल्या मोडको नजिकको गाउँमा पुगे। 

‘त्यहाँ मानिसहरुले थाहा पाउँछन् जस्तो लाग्यो बाटो समेत थाहा नभएकोले त्यहाँबाट फर्किएँ। बाटोमा भेटिएको जंगलको कापवाला हांगा भएको रुखमा रातभरि बसेँ,’ उनले बयानमा भनेका छन्, ‘भोलिपल्ट अर्थात् २६ गते बिहान उक्त स्थानबाट बझाङतिर हिँड्दै गर्दा जंगलको बाटो भुलेर दिउँसो करिव १२ बजेतिर खोचेलेख स्थित सडकमा पुगेँ।’

प्रहरी उनकै खोजी गरिरहेको थियो। सादा पोसाकमा रहेका प्रहरीले उनलाई त्यहीँ पक्राउ गरे र दार्चुला लगे। त्यसपछि भोजराजमाथि कानुनी कारबाही अघि बढ्यो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .