ad ad

अपराध


अनिभाकी छोरीको बयान : बलिरहेको आगोमा आमाको हात मात्रै देखियो, अनि म अचेत भएँ

अनिभाकी छोरीको बयान : बलिरहेको आगोमा आमाको हात मात्रै देखियो, अनि म अचेत भएँ

उजिर कार्की
असार १७, २०७९ शुक्रबार २२:३७, काठमाडौँ

५० दिन लामो अनुसन्धानपछि भाउजूलाई बलात्कार गरेर जिउँदै जलाएको अभियोग लागेका भोजराज खडायत पुर्पक्षका लागि थुनामा परेका छन्। 

दार्चुलाको शैल्यशिखर नगरपालिका १ की ४३ वर्षीया अनिभा खडायतको जेष्ठ २५ गते बिहान देवर नाता पर्ने भोजराजले बलात्कारपछि जिउँदै जलाएर हत्या गरेको आरोप छ।

भोजराजले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ। अदालतमा बुझाइएको बयानमा पनि उनले स्वीकार गरेको देखिएको छ। घटनालगत्तै अनिभाकी १६ वर्षीया छोरी गोमतीले पनि भोजराजलाई फेला पारेकी थिइन्। 

२५ गते टाउकामा ढुंगाले हानेर अनिभालाई गम्भीर घाइते बनाएका भोजराज रगत पखाल्न उनकै घरमा पुगेका थिए। त्यतिबेला गोमती आमा खोजिरहेकी थिइन्। भोजराजसँग गएको देखेकी गोमतीले दुई घण्टासम्म पनि नफर्किएपछि बाहिर निस्किएर फोन गरिरहेकी थिइन्। सुरुमा तीन पटक घण्टी गए पनि त्यसपछि अनिभाको मोबाइल बन्द भएको गोमतीले बयानमा बताएकी छन्। 

भोजराजसँगै गएको देखिन्, नफर्किएपछि खोज्न थालिन् 
जेठ २४ गते राति अनिभा र गोमतीकी नाबालक बहिनीले साँझको खाना खाई सकेपछि सुत्ने तरखर गरे। घरभित्र प्रवेश गर्ने मूलढोकासँगै रहेको कोठामा आमा अनिभा सुतिन्। गोमती र उनकी बहिनी भित्रपट्टिको अर्को कोठामा सुतेका थिए।

त्यसै राति २ बजेतिर घर बाहिर आँगनमा मानिस बोलेको आवाज गोमतीले पनि सुनेकी थिइन्। मान्छे बोलेको सुनेपछि उनले झ्यालबाट हेरिन्। 

‘बाहिर आँगनमा काका भोजराज र आमा कुराकानी गरीराखेको देखेकी थिएँ,’ गोमतीले बयानमा भनेकी छन्, ‘त्यसको लगभग २ घण्टासम्म पनि आमा घर फर्किनु भएन।’

बिहान ४ बजेतिर गोमती घरबाहिर निस्किन्। घर वरपर आमालाई कहीँ पनि देखिनन्। गाउँ जाने बाटोको डिलमा सिमेन्टको पिलर गाडेको स्थान नजिक गइन् र आमाको मोबाइलमा फोन गरिन्। ३ पटक आमाको फोनमा घण्टी गयो। त्यसपछि अनिभाको मोबाइल नै बन्द भयो। 

‘त्यसपछि पनि मैले आमाको मोबाइलमा फोन लागिहाल्छ कि भन्ने सोचेर सोही पिलर गाडेको स्थानबाट कल गरिरहेकी थिएँ। भोजराज आफ्नो मोबाइलको टर्च बालेर हाम्रो घरतिरै आउँदै थिए। उनको शरीरको माथिल्लो भागमा कपडा, दुवै खुट्टामा चप्पल थिएन। प्यान्ट मात्र लगाएका थिए,’ गोमतीको बयान छ। 

उनीहरुकै घरमा पुगेर भोजराजले हातमुख धोए। घर बाहिर ड्रममा पानी थियो। 

‘हातमुख धोइसकेपछि म भएको स्थानतर्फ आउँदैथे। म पनि त्यहाँबाट घरतिरै जाँदै थिएँ। आँगननजिक रहेको बिजुलीको पोल भएको स्थानमा पुग्दा भोजराजले केही नबोली एक्कासि मलाई दुवै हातले झम्टिए। मेरो दुवै हात समात।े म जोडले प्रतिकार गरेर त्यहाँबाट फुत्किएँ,’ अदालतमा बुझाइएको बयानमा गोमतीले भनेकी छन्। 

भोजराजको पञ्जाबाट फुत्किएपछि गोमती खोलातिर भागिन्। गाउँकै भाउजु नाता पर्ने नरमा खडायतको घरतर्फ भाग्दै गर्दा उनलाई भोजराजले खेदिरहे।

नरमा खडायतको घरको मूलढोका खुलै थियो। गोमती हतारहतार भित्र पसिन् र ढोका बन्द गरिन्। गोमती अत्तालिँदै भित्र पसेको देखेर नरमा उठिन् र के भयो भन्दै सोधिन्। 

‘के भयो? किन यसरी आत्तिएर आएकी भनी भाउजुले सोध्नुभयो। मलाई भोजराजले लखेटिरहेको छ भनेँ। घरबाट उसँगै गएकी आमा हराइरहेको सुनाएँ,’ गोमतीले भनेकी छन्, ‘तिम्रो दाजु घरमा छैन, तिमी देवर महेश खडायतको घरमा जाऊ उसलाई भन। म आँगनसम्म गइदिन्छु भनेपछि उहाँ र म आँगनमा निस्कियौं। त्यहाँबाट एक्लै दाजु महेशको कोठामा गएर उसलाई उठाएँ। त्यसपछि म र भाउजु नरमा कुरा गर्दै गर्दा दाजु महेशले पर आगो बलेको देखे।’

नरमाले गोमतीलाई देखाउँदै उनकी आमा घरमा नभएको र खोज्न सहयोग गर्न महेशलाई भनिन्। गोमती र महेश आगो बलेको स्थानतर्फ जाँदै थिए। 

बाटोमा घर भएका अमर खडायतलाई पनि उनीहरुले बोलाएर सँगै लगे। आगो बलिरहेको स्थानतर्फ आउँदै गर्दा गोमती भने घरमा बहिनी एक्लै सुतेकीले उसको सुर्ताले घरतिर लागिन्। 

महेश र अमर आगो बलेको स्थानतर्फ गए। गोमती भने घरमा गएर बहिनीलाई ब्युँझाइन् र आगो बलेको स्थानतर्फ गइन्। 

आगो बलिरहेको स्थानमा बाहिर थोरै हात मात्रै देखियो। अनिभालाई यहीँ जलाए जस्तो छ भन्नेबित्तिकै गोमती अचेत भइन्।

केही बेरपछि गाउँलेहरु जम्मा भए। घटनाबारे प्रहरीलाई जानकारी गराए। 

प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्यो। गोमतीकै सूचनाका आधारमा भोजराजको संलग्नता रहेको आशंकामा उनलाई खोज्न थाल्यो। भोजराज भने गाउँघरमा भेटिएनन्। भोलिपल्ट बैतडीबाट उनलाई पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .