ad ad

अपराध


महम्मदको हत्या : भारतीयले गरे कि आफ्नै समूहले?

महम्मदको हत्या : भारतीयले गरे कि आफ्नै समूहले?

नेपालखबर
असोज ४, २०७९ मंगलबार १५:२१, काठमाडौँ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा सर्लाहीका व्यापारीको गोली हानी हत्या भयो। सोमबार साँझ गोली लागेर गम्भीर घाइते भएका ५८ वर्षीय लाल महम्मद दर्जीको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। 

महम्मद गोठाटारको कृष्णमन्दिर नजिकैको एभेन्जर इन्टरप्राइजेज –गार्मेन्ट) का सञ्चालक हुन्। उनी माथि गोली प्रहार गार्मेन्टकै अगाडि भएको थियो।

हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। तर ती व्यक्तिहरुको पहिचान भने भइनसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले बताए।  

उक्त घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ। बा ६ च ५१५२ नम्बरको कारमा साँझ पौने ७ बजेतिर पसलमा आइपुगेका महम्मदलाई कारबाट झर्नासाथ गोली प्रहार भएको फुटेजमा देखिन्छ। रातो लुगा लगाएका व्यक्तिले खेदिखेदि महम्मदलाई गोली प्रहार गर्छन्। आफूमाथि गोली हान्न थालेपछि महम्मद कारमा छलिँदै भाग्न खोज्छन्। तर उनलाई पटक पटक गोली लाग्छ।

महम्मदलाई गोली प्रहार गरेको उनकी छोरीले थाहा पाएपछि घरको तलामाथिबाटै हामफाल्छिन्। उनी घटनास्थलमा पुगे पनि सुटरले गोली प्रहार गरेर भागिसक्छन्। त्यसपछि उनले बुबालाई समात्दै घरतर्फ लैजान्छिन्। गोली प्रहार गर्ने व्यक्तिहरु भने मोटरसाइकलमा फरार हुन्छन्। 

महम्मद एक जना ग्राहकको गाडीमा प्लाष्टिक किन्न गएर फर्किएका थिए। तर ती कारवाला ग्राहककै अगाडि उनीमाथि गोली प्रहार भयो।

गोली लागेर गम्भीर घाइते मोहम्मदलाई सुरुमा शंखरापुर अस्पताल नारायणटार जोरपाटी लगिएको थियो। तर अवस्था गम्भीर भएपछि त्यहाँबाट शिक्षण अस्पताल लगिएको थियो। अस्पतालले सोमबार राति नै मृत घोषणा गरेको थियो। 

घटना लगतै उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं परिसर र विशेष व्यूरोले पनि अनुसन्धान गरिरहेको छ। तर अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। हत्यामा प्रयोग भएको मेड इन यूएसए लेखेको एक थान पेस्तोल, एउटा म्यागजिन, चार राउण्ड गोली र चार वटा खोका घटनास्थलबाट बरामद भएको छ। 

एकसाता पहिले नै हत्याको प्रयास 
महम्मदको हत्याको कारण उनको विगतको आपराधिक पृष्ठभूमि रहेको प्रहरीको अनुमान छ। तर हत्यामा संलग्नता भने दुई समूहमा प्रहरीको आशंका छ। पहिलो उनकै समूह र दोस्राे भारतीय सुटर। 

उनको हत्या एक साता पहिले नै गर्ने प्रयास गरेको प्रहरी स्राेतको दाबी छ। उपत्यका अनुसन्धान कार्यालय स्राेतका अनुसार मोहम्दले आफ्नो हत्या प्रयास गरिएको भन्दै काँडाघारी प्रहरी प्रभागमा जानकारी गराएका थिए। 

उनले आफ्नो सुरक्षा माग गरे पनि प्रहरीले भने त्यसलाई गम्भीर रुपमा नलिएको देखिएको छ। 

मोहम्मद पटक पटक यस्ता घटनामा जोडिएका व्यक्ति हुन्। हत्याकै आरोपमा उनलाई जन्म कैदको फैसला पनि भएको थियो। ६ वर्ष पहिले उनी राष्ट्रपतिबाट कैद छुट पाएर जेलमुक्त भएका थिए। २०७३ को गणतन्त्र दिवशमा कैद छुट पाएर फर्किए पनि उनी विगतकै लफडामा पर्दै आएका थिए। 

विगतमा उनले जुन समूहसँग मिलेर आपराधिक कर्म गरेका थिए पछिल्लो समय उनको त्यही समूहसँग लफडा चलिरहेको थियो।

समूहका अन्य व्यक्तिलाई महम्मदले फसाएको आरोप उनीमाथि त्यो समूहले लगाएको थियो। त्यहि भएर पछिल्लाे समय उनी आफ्नै समूहको टार्गेटमा थिए। 

१५ वर्ष पहिलेको त्यो घटना 
महम्मद हत्याको कारण १५ वर्ष पहिलेको त्यो घटनाबाट सुरु भएको प्रहरीको अनुमान छ। २०६४ असारमा अनामनगरस्थित धोविखोलामा बाराका बलराम पटुवाको गोली हानि हत्या भएको थियो। हत्याको तीन सातापछि प्रहरीले सर्वोच्च अदालत परिसरबाट उनलाई पक्राउ गरेको थियो। 

पटुवालाई गोली हान्ने लाल मोहम्मद नै रहेको प्रहरीको दाबी छ। यहि घटनाका कारण उनलाई जन्म कैदको सजाय भएको थियो। पटुवा भारतीय नक्कली नोटका कारोबारी थिए। लाल मोहम्मद पनि भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ। 

अहिले प्रहरीको आशंका यीनै दुई कारणले भएको हुन सक्ने प्रहरीको अनुमान छ। नक्कली जाली नोटको कारण हत्या गरिएको हो भने यसमा भारतीयको संलग्नता रहेको हुनसक्छ। नभए पहिलेकै उनकै समूहबाट हत्या भएको हुन सक्ने अनुमान छ। 

नक्कली नोटको कारोबारका काराण उनीहरु भारतीय खुफिया एजेन्सी (रअ) को समेत निगराननीमा थिए। अर्को कारण भनेको उनी जेलबाट छुटेपछि साथी पक्राउमा सहयोग गरेको आरोप थियो।

उनकै सूचनाको आधारमा प्रहरीले वाहिद खानलाई पक्राउ गरेको स्राेतको दाबी छ। हत्यामा संलग्नले प्रयोग गरेको मोटरसाइकलको पहिचान भइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .