ad ad

अपराध


जब ७९ वर्षीय वृद्धले आफ्नै अश्लील भिडिओ बनेको थाहा पाए

जब ७९ वर्षीय वृद्धले आफ्नै अश्लील भिडिओ बनेको थाहा पाए

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार २२:२३, काठमाडौँ

काठमाडौंका एक युवक केही दिनपहिले अत्तालिँदै नेपाल प्रहरीको साइवर ब्युरो भोटाहिटीमा पुगे। उनले समस्या सुनाउन थाले। समस्या उनको नभई नातामा हजुरबुबा पर्ने ७९ वर्षीय वृद्धको थियो। 

उनका वृद्ध हजुरबुबा साइबर क्राइममा परेछन्। उनी सामाजिक सञ्जाल राम्रोसँग चलाउन पनि जान्दैनथे। नातिलाई भनेर उनले ह्वाट्सएप डाउनलोड गराए र चलाउन सिके। 

तर केही दिनमै उनलाई नचिताएको आपत आइलाग्यो। प्रहरी गुहार्नु पर्ने अवस्था आयो। ती वृद्धका छोराछोरी र नातिनातिना सबै विदेशमा छन्। विदेशमा रहेका आफ्ना सन्तानसँग कुरा गर्न उनले फेसबुक चलाउँथे। तर एक दिन उनको फेसबुकमा एउटी सुन्दर युवतीको फ्रेन्ड रिक्वेस्ट आयो। उनले फोटो हेरे र रिक्वेस्ट स्वीकार गरे। 

लगत्तै म्यासेन्जरमा कुरा हुन थाल्यो। छिनमै उनीहरु नजिक भए। केही दिनको कुरापछि उनीहरु ख्यालठट्टा गर्ने अवस्थामा पुगे। त्यसपछि युवतीले ह्वाट्सएपमा आउन भनिन्। 

उनले नातिलाई भनेर ह्वाटस्एप डाउनलोड गरे र आईडी पनि बनाए। त्यो आईडी म्यासेन्जरमार्फत ती युवतीलाई पठाउनासाथ ह्वाट्सएपमा ती वृद्धलाई भिडिओ कल आयो। अनि उनीहरु भिडिओमा कुरा गर्न थाले। 

भिडिओमा कुरा हुँदा ती युवती नाङ्गिँदै गइन् र ७९ वर्षीय वृद्धलाई पनि त्यसैगरी कपडा निकाल्न भनिन्। उनले पनि युवतीको लैलै मा लागेर त्यसै गरे। उनीहरुले नाङ्गै भिडिओ कलमा अश्लील हर्कत गरेका थिए। 

तर भोलिपल्ट उनलाई आपत आइलाग्यो। अघिल्लो दिन कुरा गरेको भिडिओ उनलाई आइपुग्यो। बुढेसकालमा होस् गुमाउँदा उनी एकछिनको रमाइलोले आपतमा परे। उनलाई त्यो भिडिओ हटाउने भए पैसा दिन भनियो। उनले बल्ल थाहा पाए ती युवतीले केका लागि आफूसँग त्यस्तो कुरा गरेकी रहिछन्।

उनले यो कुरा सुनाएपछि ती युवक साइबर ब्युरोमा पुगेका थिए। 

डाक्टरको पनि त्यस्तै भिडिओ आइपुग्यो
काठमाडौंमा डाक्टरी पढ्दै गरेका पश्चिम नेपालका एक युवालाई यस्तै आपत आइलाग्यो। उनी कोठामा पढ्दै गर्दा फेसबुकमा एक युवतीको फ्रेन्ड रिक्वेस्ट आयो। रिक्वेस्ट आएको मिनेट बित्न नपाउँदै उनले फोटो हेरेरै ती युवतीको रिक्वेस्ट स्वीकार गरे। 

हिन्दी भाषामा कुरा गर्ने ती युवतीले उनको खुबै प्रशंसा पनि गरिन्। प्रशंसाले युवक मक्ख। उनले आफूलाई डाक्टर मन पर्ने बताइन्। केह छिनकै कुरापछि उनीहरु नजिक भइहाले। छिनभरमै गर्लफ्रेन्ड व्वाइफ्रेन्डको जस्तो सम्बन्ध बन्यो। 

युवतीले उनलाई ह्वाटस एप चलाउने गरेको छ कि छैन भनेर सोधिन्। उनले त्यसको जवाफमा ह्वाटसएप आईडी पठाइदिए। लगत्तै भिडिओ कल आयो। कुरा गर्न थाले। ७९ वर्षका वृद्ध त लठ्ठिएका युवतीसँग यी जवान झन् किन बच्थे! युवतीले भने अनुसार कपडा उतार्दै गए। ती युवतीले पनि उनलाई त्यसैगरी उक्साइन्। 

निकैबेरको त्यो भिडिओ संवाद र अश्लील गतिविधिपछि त्यो दिनको कुरा टुंगियो। तर भोलिपल्ट ती डाक्टरलाई अर्को नम्बरबाट ह्वाटसएपमा भिडिओ आइपुग्यो। भिडिओमा अघिल्लो दिनका सबै नग्न दृश्य थिए। 

उनलाई म्यासेजमा भनिएको थियो, ‘मेरो बहिनीसँग यस्तो यो के गरेको?’ त्यसपछि ती डाक्टर छाँगाबाट खसेजस्तै भए। उनले केही जवाफ नै दिन सकेनन्। यो सब कसरी भयो?  भिडिओ पठाउने पुरुषले त्यो भिडिओ हटाउने हो भने २० हजार रुपैयाँ दिन भनेका थिए। तर डाक्टरले उनले मागेको रकम दिएनन्। भोलिपल्ट प्रहरीको साइबर ब्युरोमा पुगे र सबै घटना सुनाए। 

साइबर ब्युरोले उनलाई सम्झाइबुझाइ गर्यो। आइन्दा यस्ता गतिविधि नगर्न भन्यो। उनलाई भिडिओ कल गर्ने ह्वाटसएप नम्बर लियो र अनुसन्धान गर्ने जवाफ दियो। 

युवतीलाई थाहै नदिई खाताबाट कारोबार 
काठमाडौंमा अध्ययनरत २५ वर्षीया युवती आफ्नो बैंक खातामा भइरहेको गतिविधिले आश्चर्यमा परिन्। उनले आफ्नो खातामा कुनै रकम जम्मा गरेकी थिइनन् र रकम निकालेकी पनि थिइनन्। तर उनको मोबाइलमा भने रकम जम्मा गरेको र छिनमै निकालेको म्यासेज आउन थाल्यो। 

उपत्यका बाहिर घर भएकी उनले आफूलाई जानकारी नदिई रकम निकालेको र जम्मा गरेको थाहा पाएपछि बैंकमा पुगेर बुझिन्। बैंकले पनि उनको खातामा रकम जम्मा भएको पुष्टि गर्यो। तर रकम भने कसले निकालिरहेको छ भन्ने पत्तो भएन।

बैंकको सिस्टममा हेर्दा भने तिनै युवतीले निकालेको देखिन्थ्यो। बैंकले नै उनलाई प्रहरीमा गएर उजुरी गर्न र थप अनुसन्धान गर्न सुझायो। त्यसपछि उनी प्रहरीको साइबर ब्युरोमा पुगिन्। 

प्रहरीले बुझ्दै जाँदा थाहा भयो उनले अर्कैले भनेपछि खाता खोलेकी रहिछन्। खाता खोलिसकेपछि ओटीपी पनि ती व्यक्तिलाई दिएकी रहिछन्। त्यसैबाट उनको बैंक खातामा भएको रकम विदेशीले निकालिरहेका रहेछन्। 

उनलाई केही समय पहिले जोन नाम गरेको फेसबुक आईडीबाट फ्रेन्ड रिक्वेस्ट आएको थिए। ती व्यक्तिले नेपालको बारेमा ती युवतीसँग कुरा गरेका थिए। छिट्टै उनीहरु साथी बने। सुरुसुरुमा नेपालको बारेमा प्रशंसा गरेका ती विदेशीले युवतीलाई मक्ख पारे।

अब छिट्टै नेपाल आउने बताए। बस्नका लागि होटल बन्दोबस्त गर्न ती युवतीलाई भने। युवती पनि विदेशी ब्वाइफ्रेन्ड बन्ने भएपछि मक्ख परिन्। उनले यताबाट जवाफ पठाइन्, ‘होटल किन र? हामीसँगै बस्ने हो।’ उनीहरुको भर्जुअल लभ झाँगिदै गयो। एक दिन ती विदेशीले उनलाई बैंक खाता खोल्न लगाउँछन्। युवतीले बैंक खाता खोल्छिन्। 

खाता खुलेलगत्तै उनले ओटीपी (वान टाइन पासवर्ड) माग्छन्। युवतीले थपक्क दिन्छिन्। ती विदेशीले ठगी गरेको रकम युवतीको खातामा जम्मा गर्न लगाउँदा रहेछन्। जम्मा गर्नासाथ आफूले निकाल्दा रहेछन्। तर यो कुरा खातावालालाई थाहै थिएन। 

उनीसँग भने नियमित कुरा भइरहन्थ्यो। सम्बन्ध पनि राम्रै थियो। विदेशीले पार्सल पठाउँछु, चिट्ठा पर्यो जस्ता बहानामा नेपालीहरुलाई नै ठगेर पार्सल, चिट्ठा परेको सामान लिनका लागि कर बापतको रकम भन्दै उनको खातामा जम्मा गर्न लगाउँदा रहेछन्। यी नै बहानामा नेपालीले नै त्यहाँ रकम जम्मा गर्दा रहेछन्। 

साइबर ब्युरोले अनुसन्धानपछि यो कुरा पत्ता लगायो। लगत्तै युवतीको बैंक खाता रोक्का गर्यो। केही रकम भने खातामा बच्यो, बाँकी पैसा विदेशीले निकालिसकेका रहेछन्। 

ब्युरोका अनुसन्धान अधिकृतले भने, ‘युवतीको खातामा ३ लाख जतिको कारोबार भइसकेको रहेछ। तर केही रकम निकालिसकेका रहेछन्। समयमै पीडित सम्पर्कमा आएकाले बाँकीलाई ठगिनबाट बचायौं।’ 

यसरी धमाधम ठगी र साइबर क्राइमका जाहेरी आउन थालेपछि साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ। ब्युरोले सूचना जारी गरेरै यस्ता गतिविधिबाट बच्न अनुरोध गरेको एसएसपी नविन्द अर्यालले बताए। विदेशबाट हुने यस्ता अपराधलाई कारबाही गर्न प्रहरीले प्रयास गरिरहेको भए पनि कारबाहीको दायरामा ल्याउन कठिन रहेको अर्याल बताउँछन्। 

प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई म्यासेन्जर, भाइबर, ह्वाट्सएप, इमो लगायतमा म्यासेज तथा भिडिओ कल गरेर साइबर अपराध गर्न सक्ने भएकाले त्यस्ता अपराधमा फस्नबाट बच्न प्रहरीले सूचनामार्फत आग्रह गरेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .