ad ad

अपराध


पेरिस पुगे कुख्यात सिरियल किलर चार्ल्स शोभराज

पेरिस पुगे कुख्यात सिरियल किलर चार्ल्स शोभराज

नेपालखबर
पुस ९, २०७९ शनिबार १७:२७, काठमाडौँ

कुख्यात सिरियल किलर चार्ल्स शोभराज पेरिस पुगेका छन्। २० वर्षको जेल बसाइपछि शुक्रबार नेपालबाट डिपोर्ट गरिएका शोभराज फ्रान्स पुगेको एएफपीले जनाएको छ।

शोभराज दोहा हुँदै पेरिस पुगेका हुन्। पेरिस आइपुगेलगत्तै उनको पहिचानका लागि सीमा प्रहरीले लिएको विमानस्थल स्रोतलाई उधृत गर्दै सो समाचार एजेन्सीले बताएको छ।

सर्वोच्च अदालतले उनलाई छाड्न बुधबार आदेश दिएको थियो। 

भियतनामको साइगनमा भारतीय बाबु र भियतनामी आमाबाट जन्मेका शोभराज १९७५ मा थाइल्यान्ड पुगेका थिए। त्यसपछि उनले रत्न व्यापारीको भेषमा पर्यटकहरुसँग घुलमिल भएर तिनलाई ड्रग खुवाइ मार्ने र लुटपाट गर्न थाले।

उनले २० भन्दा बढी हत्या गरेको आरोप छ।

१९७६ मा भारतमा पक्राउ परेका उनी २१ वर्ष त्यहाँ जेल बसे। १९८६ मा जेलका रक्षकहरुलाई नसामा पारेर भागेका उनी फेरि गोआमा समातिएका थिए। 

१९९७ मा जेलबाट छुटेपछि पेरिसमा बस्दै आएका उनी पत्रकारहरुलाई पैसा लिएर अन्तर्वार्ता दिन्थे।

२००३ मा नेपाल आएपछि उनी समातिए र १९७५ मा अमेरिकी पर्यटक कनी जो ब्रन्जिचको हत्या गरेको अभियोगमा जेल परे। पछि ब्रन्जिचकै साथी क्यानडेली पर्यटकलाई पनि मारेको अभियोगमा उनी दोषी ठहर भए।

कतार एयरवेजको विमानबाट फ्रान्स फर्किंदै गर्दा उनले नेपालको सबै अदालतले आफूविरुद्ध पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाए।

उनले आफू निर्दोष भएको दाबी पनि गरे।  

१९७६ मा शोभराजको गिरफ्तारीका लागि महत्वपूर्ण सबुत जुटाउन काम गरेको थाइ प्रहरी अधिकारी सोमपोल सुथिमाइले त्यतिबेला शोभराजलाई थाइल्यान्ड सुपुर्दगी गरेर मुद्दा चलाउन जोड गरेका थिए।

तर, अहिले सोमपोलले आफू र शोभराज दुवै बुढो भइसकेकाले उनको रिहाइमा आफ्नो कुनै आपत्ति नरहेको बताए।

‘अहिले उप्रति मेरो कुनै भावना छैन। धेरै पुरानो कुरा भयो,’ ९० वर्षका सोमपोलले भने, ‘मलाई लाग्छ, उसले आफ्नो कर्मको फल भोगिसक्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .