महिलाको हत्या गरेको आरोपमा बर्दिया प्रहरीले ठाकुरबाबा नगरपालिका–४ मैनावारका अन्दाजी वर्ष ४५ को जन्जिरे थारुलाई पक्राउ गरेको छ।
थारुले ठाकुरबाबा नगरपालिका–५ गोबिन्दपुर घुम्नेफाँटा बस्ने अतवारी थारुकी पत्नी वर्ष ४२ की सोनचिरिया थारुको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यही फागुन १६ गतेका दिन बिहान अन्दाजी १२ बजेको समयमा सोनचिरिया थारु घरबाट औषधि गर्न जान्छु भनि भुरीगाउँ बजारतर्फ गएकोमा बेलुकासम्म पनि घरमा फर्कि नआएकोले उनका आफन्तहरुले खोजतलास सुरु गरेका थिए।
सो दिन फेला नपरेकी उनी भोलिपल्ट विहान भुरिगाँउ बजारमा रहेको नेपाल टेलिकमको कार्यालय नजिक रहेको दिपक अधिकारीको घर अगाडिको बरण्डामा मृत अवस्थामा फेला परेकी थिइन्।
अनुसन्धानका क्रममा मृतक सोनचिरिया थारु र घटनास्थल नजिकै डेरा गरी बस्ने जन्जीरे थारुबीच पटक पटक फोन सम्पर्क भएको र १६ गते समेत उनीहरुबीच फोन सम्पर्क भएको देखिएको, मृतकले प्रयोग गर्ने गरेको चप्पल जन्जिरे थारुले डेरा गरी बस्ने घरको पूर्वपट्टी खेतबारीमा लुकाई छिपाई राखेको अवस्थामा जन्जिरे थारुले बताए बमोजिम फेला परेकोले उनले नै कर्तव्य गरी मारि फालेको देखिएको थियो।
मृतकका श्रीमान अतवारी थारुले दिएको किटानी जाहेरीका आधारमा आइतबार पक्राउ गरी जन्जिरेलाई बर्दिया जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया