अपराध


सांसद टोपबहादुरपुत्र सन्दीपलाई आज अदालत पेस गरिँदै

सांसद टोपबहादुरपुत्र सन्दीपलाई आज अदालत पेस गरिँदै

नेपालखबर
बैशाख २१, २०८० बिहिबार ७:४३, काठमाडौँ

अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीपुत्र सन्दीप रायमाझीलाई आज काठमाडौं ल्याइँदैछ।

प्रहरीका अनुसार सन्दीपलाई काठमाडौं ल्याउन भैरहवा विमानस्थल पुर्‍याइएको छ। तर मौसम प्रतिकूल भएका कारण उडान हुन सकेको छैन।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका सन्दीप बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए। नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि एमाले सचिव समेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो।

छोरा पक्राउ परेपनि सांसद टोपबहादुरलाई भने प्रहरीले अहिलेसम्म समातेको छैन, उनी गृहजिल्ला अर्घाखाँची छन्।

बुटवलबाट पक्राउ परेका सन्दीपलाई बुधबार भैरहवा हिरासतमा राखिएको थियो। आज काठमाडौं पठाउन लागिएको रूपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

सन्दीपलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौंमा पेस गर्न लागिएको हो।

हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन्। ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।

उनीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ। बुधबार नै प्रहरीले तत्कालीन गृहसचिव  टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो।

यही प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने उनीहरू हाल फरार छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .