अपराध


नक्कली शरणार्थी प्रकरण : अदालतमा अब टोपबहादुर र बालकृष्णसहित ९ जनाको बयान लिन बाँकी

नक्कली शरणार्थी प्रकरण : अदालतमा अब टोपबहादुर र बालकृष्णसहित ९ जनाको बयान लिन बाँकी

उक्त तस्बिरमा पछिल्लो समय पक्राउ परेकी लक्ष्मी महर्जन छैनन्।


नेपालखबर
जेठ १७, २०८० बुधबार ८:५५, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १७ जनामध्ये ८ अभियुक्तको अदालती बयान सकिएको छ। 

काठमाडौं जिल्ला अदालतले मंगलबार अभियुक्तहरू इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान लिएसँगै अदालतमा बयान दिनेको संख्या ८ पुगेको हो। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा यसअघि जेठ १४ गते सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंक गुरुङको बयान लिइएको थियो।

सुरुमा जेठ १२ गते अदालतले अभियुक्तहरू केशव दुलाल र सागर राईसँग बयान लिएको थियो।

अब पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ९ जनासँग बयान लिन बाँकी छ। अदालतले बयान लिन बाँकी अन्यमा पूर्वसांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरी छन्। 

अदालतले पक्राउ परेका सत्रै जनाको बयान लिइसकेपछि थुनछेक बहस हुनेछ। जसबाट उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गर्ने वा कारागारबाहिरै राखेर मुद्दाको अनुसन्धान जारी राख्ने भन्ने निर्णय हुनेछ। 

पछिल्लो समय यही जेठ १२ गते पक्राउ परेकी ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जनबाहेक यसअघि समातिएका १६ जनासँग भने प्रहरीले पनि बयान लिएको थियो। तर उनीहरुकाे अदालती बयान सुरु भएकै दिन पक्राउ परेकी महर्जनलाई भने एकैचाेटि अदालतमा बयान लिइएको हो। 

यो प्रकरणमा परेका १७ अभियुक्तसहित ३० जनाविरुद्ध मुद्दा चलाइएको छ। जसमध्ये १३ जना फरार छन्। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राईका छोरा निरज फरार सूचीमा छन्। 

उनीहरुसमेत तीसै जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .