ad ad

अपराध


भारतीय एक जोडी, जसले इन्स्टाग्राममा ‘रिल्स’ बनाउन छोरा बेचेर आइफोन किने

भारतीय एक जोडी, जसले इन्स्टाग्राममा ‘रिल्स’ बनाउन छोरा बेचेर आइफोन किने

नेपालखबर
साउन १२, २०८० शुक्रबार ९:१, काठमाडौँ

डिजिटल दुनियाँमा मानिसहरू 'क्रेजी' हुँदै गइरहेको सर्वविदित छ। 'शो-अप'का लागि महँगो क्यामेरा/फोन किन्नु यतिबेला 'फेसन' जस्तो भइसकेको छ। तर हालै भारतमा संसारलाई नै स्तब्ध पार्ने घटना घटेको छ।

भारतको पूर्वी राज्य पश्चिम-बंगालमा एक जोडीले आफ्नो ८ महिनाको बच्चालाई आइफोन किन्नका लागि बेचेका छन्। घटना परगाना जिल्लाको हो। साठी र उनका पति जयदेवले इन्स्टाग्राम रिल्स भिडि‌ओ बनाउनका लागि महँगो आइफोन किन्न आफ्नै सन्तानलाई बेचेको स्थानीय समाचार एजेन्सीले जनाएका छन्।

उक्त घटनामा प्रहरीले आमा साठीलाई नियन्त्रणमा लिइसकेको छ भने जयदेव फरार छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै जी मिडिया नेटवर्क डब्लुआईओनले जनाएको छ।

उक्त जोडीमा केही समययता अचानक बदलाव आएको छिमेकीहरूले पाएका थिए। पानीहाटी गान्धिपुर क्षेत्रका छिमेकीले उक्त घरबाट अचानक बच्चा हराएको देखे। उक्त जोडीमा अचानक परिवर्तन आयो। दैनिक जीविकोपार्जन गर्न संघर्ष गरिरहेका उनीहरूको हातमा अचानक आइफोन देखियो। उनीहरू रिल्स भिडिओ बनाउन विभिन्न ठाउँ घुमिरहेका पनि थिए। छिमेकीले बच्चाको अनुपस्थितिबारे सोधीखोजी गर्दा आइफोन किन्न बेचेको स्वीकारेपछि घटना बाहिरिएको हो।

यो थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खर्डह क्षेत्रबाट बच्चाको उद्धार गरेको छ। उक्त दम्पत्तीले आइफोन किन्न प्रियंका घोष नामकी महिलालाई आफ्नो बच्चा बेचेका थिए। प्रहरीले बच्चा किन्ने ती महिलालाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

उक्त दम्पत्तीकी सात वर्षीय एक छोरी छिन्। दम्पत्ती नै लागूऔषध दुर्व्यसनी भएको छिमेकीले बताएका छन्।

छोरा बेचेपछि उनीहरू छोरीलाई पनि बेच्ने तयारीमा रहेको खुलेको छ। उनीहरूले छोरी बेच्नका लागि पनि सम्झौता गरिसकेका थिए। स्थानीय काउन्सिलर तारक गुहाले भने, 'छोरा बेचेपछि उनीहरू शनिबार राति छोरीलाई पनि बेच्ने तयारीमा थिए। हामीले थाहा पाएलगत्तै प्रहरीलाई खबर गर्‍यौँ।'

उक्त जोडीले गरिबीका कारण सन्तान बेचेको हो वा अन्य केही कारणले खुलिनसकेको प्रहरीले बताएको छ। ब्याराकपुर प्रहरीले घटनाबारे सबै कोणबाट अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .