अपराध


कारागारमा चिनजान, छुटेपछि घरमै गएर प्रहरीको हत्या

कारागारमा चिनजान, छुटेपछि घरमै गएर प्रहरीको हत्या

पूर्व प्रहरी हवल्दार सीता कँडेलको हत्या घटनाबारे जानकारी दिँदै लमजुङ प्रहरी।


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार २०:४४, काठमाडौँ

कारागारमा रहेका वेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डेकी ४५ वर्षकी सीता कँडेलको हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो। सीता पूर्वप्रहरी हवल्दार हुन्। 

सीताको हत्या आरोपमा चितवनको रत्ननगर नगरपालिका-६ का ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए। बुद्धिरामलाई थप अनुसन्धान तथा कारबाहीका लागि आज लमजुङ प्रहरीलाई बुझाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

यस्तो थियो घटना

सीआईबीले सार्वजनिक गरेको घटना विवरणमा २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डेस्थित सोही स्थानमा बसोबास गर्ने ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को घरबाट दुर्गन्ध फैलिएको भनेर स्थानीय व्यक्तिले प्रहरीमा सूचना गरेका थिए। घरको बाहिरबाट ताल्चा लागेको थियो। 

त्यही सूचनाका आधारमा घरभित्र प्रवेश गरी खानतलासी गर्दा पूर्वप्रहरी सीता कँडेलको शव आफ्नै सुत्ने कोठामा रहेको बक्सपलङको विस्तारामुनी त्रिपालले बेरिएको अवस्थमा फेला परेको थियो। त्यसपछि उक्त विभत्स हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट विशेष अनुसन्धान टोली खटिएको प्रवक्ता श्रेष्ठले बताए। 

घटनाको प्राविधिक तथा स्थलगत अनुसन्धान गर्दा चितवनको रत्ननगर-६ का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको खुलेको उनले बताए। अपराध अभिलेख हेर्दै जाँदा बुद्धिराम २०६७ सालमा गोरखाकी चिनीमाया पाण्डेको  हत्या अभियोगमा दोषी ठहर भएका व्यक्ति भएको खुलेको उनले जानकारी दिए। 

त्यतिवेला चिनिमायाकी छोरी विहे गर्नका लागि माग्न जाँदा भएको विवादमा बुद्धिरामले चिनीमायाको घाँटी थिची हत्या गरेको पाइएको थियो। त्यस मुद्दामा गोरखा जिल्ला अदालतबाट २०६८ असार २० गते जन्मकैदको फैसाला भएको थियो।

सजाय भुक्तानका क्रममा बुद्धिराम भीमफेदी कारागारमा पुगे। त्यहाँ रहँदा तत्कालीन प्रहरी हवल्दार सीता कँडेलसँग परिचय भएको पाइएको सीआईबीका प्रवक्ता श्रेष्ठले बताए। त्यस वेला कँडेल त्यही कारागारमा सुरक्षामा खटिएकी थिइन्। 

कैद भुक्तानपछि बुद्धिराम कारागारबाट छुटे। उनी पूर्वप्रहरी हवल्दार कँडेल घरमा रहेका वेला २०८१ चैत ३१ गते हत्या गरेर कोठामै शव छाडी बाहिरबाट ताला लगाएर भागेको खुलेको हो। 

उनलाई २०८२ वैशाख १५ गते लमजुङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि खोजतलास तथा अनुसन्धानका क्रममा ब्यूरोको टोलीले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट बुद्धिरामलाई पक्राउ गरेको थियो। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad