बलात्कार सम्बन्धी मुद्दामा पक्राउ परेका नेकपा (एमाले) का नेता कर्णबहादुर मल्ल जेल चलान भएका छन्।
जिल्ला अदालत, ललितपुरको आदेशपछि मल्ललाई जेल चलान गरिएको हो। उनलाई नख्खु कारागार पठाइएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले बताए।
बलात्कार सम्बन्धी मुद्दामा गत चैत १४ गते मल्ललाई सातदोबाटोबाट प्रक्राउ गरिएको थियो। पुर्पक्षका लागि भएको थुनछेक बहसपछि जिल्ला अदालत, ललितपुरले जेल चलान गर्न आदेश दिएको हो।
एमाले कर्णाली प्रदेश कमिटी सदस्य मल्ललाई ७ देखि १० वर्षसम्म कैद सजायको माग गरिएको छ। तीन लाख रुपैयाँ जरिवाना र पीडित महिलालाई क्षतिपूर्ति भराइदिन पनि सरकारी वकिलको माग छ।
मल्लले बलात्कार गरेको एक ३० वर्षीय युवतीले आरोप लगाएकी थिइन्। २०८० कात्तिकमा मल्लसँग भेटघाट र चिनजान भएको उनले बताएकी छन्।
२०८० फागुन १२ गते एकछिन भेटौँ, खाजा खाएर जानु भन्दै बोलाएर मल्लले होटलमा लगेको पीडितको जाहेरी छ।ग्वार्कोको एक होटलमा लगेपछि जबर्जस्ती करणी गरेको र आफूलाई श्रीमतीका रुपमा स्वीकार गर्छु समेत भनेको जाहेरीमा उल्लेख छ।
त्यसपछि दुई वर्षसम्म निरन्तर यौन सम्पर्क गरेको र त्यसक्रममा गर्भ समेत रहेको उनको दाबी छ। मल्लले मानसिक यातना समेत दिएको उनले जाहेरीमा उल्लेख गरेकी छन्।
Shares

प्रतिक्रिया