सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङले आफू पुनः सत्तामा फर्किने ठोकुवा गरेका छन्।
चाम्लिङको दावी अनुसार २०२४ को चुनाउमा उनको दल सिक्किम प्रजातान्त्रिक मोर्चा पुनः सिक्किमको सत्तामा फर्कि आउनेछ।
करिब तीन महिनाको दिल्ली बसाइपछि आज सिक्किम फर्केका उनलाई बाक्लो सङ्ख्यामा भेला भएका पार्टी कार्यकर्ताहरूले सिलगढीको बाघडुग्रा हवाइअड्डामा स्वागत जनाएका थिए।
यसैबीच, पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा उनले अहिले पनि सिक्किमेली जनताको अपार समर्थन आफ्नो पार्टी सिक्किम प्रजातान्त्रिक मोर्चामाथि नै रहेको बताए।
‘आउँदो चुनाउसम्म हाम्रो पार्टी अझ मौलाएर जानेछ। फुल्ने फल्नेछ। किनभने जनताको समर्थन र माया हाम्रो पार्टीमाथि नै छ’ उनले भने।
लगातार पाँच पटक सिक्किमको सत्तामा बसेर रेकर्ड बनाएका चाम्लिङलाई २०१९ चुनाउमा पीएस गोलेले पराजित गरेका थिए।
२०१९ को चुनाउमा गोलेको दलको सिक्किम क्रान्तिकारी मोर्चाले चाम्लिङको दलभन्दा दुई सिट बढी जितेको थियो।
अर्कोतर्फ, उनले वर्तमान मुख्यमन्त्री पीएस गोलेलाई झुट मात्र बोल्ने नेताको संज्ञा दिएका छन्।
‘झुट बोल्नमा सिक्किमका वर्तमान मुख्यमन्त्रीले ओस्कर अवार्ड नै पाउनेछन्’, चाम्लिङले भने।
साथै, उनले गोलेको शासनकालमा सिक्किममा विकास हुनको सट्टामा अत्यधिक विनाश भएको आरोप पनि लगाएका छन्।
प्रतिक्रिया