अमेरिकाको टेक्सास राज्यअन्तर्गतको अष्टिन र यस आसपासमा बसोबास गर्ने नेपालीहरूको संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स)को नयाँ कार्यसमितिले शपथ गरेको छ। गत हप्ता भएको अधिवेशनले पदम ठकुराठीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
ग्यान्स सभाहलमा सम्पन्न छैठौं अधिवेशनपछि नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा जिम्मेवारी हस्तानतरण गरिएको हो।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अशोक शाही, उपाध्यक्षमा धीरेन्द्र यादव, महिला उपाध्यक्षमा सपना राउत, महासचिवमा सूर्य कार्की, सचिवमा प्रिन्स भट्ट, कोषाध्यक्षमा नारायण रिजाल तथा सदस्यहरूमा दीपक हुमागाई, एलिजा थापा पौडेल, प्रदिप भँडेल र विनम आचार्य निर्वाचित भएका हुन्।
तीन वर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिलाई केही समययता अष्टिन नेपाली समाजमा देखिएको आलोचना, विवाद र आरोपप्रत्यारोप समाधान गरी एकीकृत नेपाली समाज बनाउने चुनौती छ।
छैठौं अधिवेशन तथा शपथग्रहण कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष विजयराज भुषाल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका उपाध्यक्ष छबि चापागाई, ग्यान्सका पूर्व संयोजक डा कमल अधिकारी, ग्यान्सका पुर्व अध्यक्ष भोजराज भट्ट, एनआरएनए अभियन्ता तथा ग्यान्स ट्रष्टि सिपी पौडेल, बरिष्ठ चलचित्र निर्देशक नारायण पुरी, ग्यान्स निर्वाचन कमिटी संयोजक प्रधुम्न श्रेष्ठ लगायतले शुभकामना तथा नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
शपथपछि नवनिर्वाचित अध्यक्ष ठकुराठीले आफूलाई निर्वाचित गराउने मतदाता तथा सहयोग र साथ दिनेहरुप्रति आभार व्यक्त गरे। साथै नेपाली समाजसँग सहकार्य, सहमति, उत्तरदायी तथा पारदर्शी भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए।
यसैबीच निर्विरोध निर्वाचित ट्रष्टि संयोजक तथा ग्यान्स पूर्व अध्यक्ष देवराज न्यौपाने, उपसंयोजक निरोज मानन्धर तथा बोर्ड अफ ट्रष्टि सदस्यहरूमा निर्वाचित हर्षबहादुर नकर्मी, रोशन गोसाई, सुरज अधिकारी, वर्षा गौतम र टीकामाया गुरुङले पनि शपथ गरेका थिए।
ग्यान्सका पूर्व अध्यक्ष तथा निवर्तमान बोर्ड अफ ट्रष्टि संयोजक गेहेन्द्र केसीलगायत अष्टिनका अग्रज नेपालीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण बिदुर खतिवडाले गरेका थिए। २०१३ मा स्थापना भएको ग्यान्समा यसपटक भने दुई वटा प्यानल बनाएर निर्वाचनमा होमिएकोमा मिश्रित नतिजा आएको छ।
Shares

प्रतिक्रिया