सेन्टर फर नेपाल स्टडिज युके (सीएनएस यूके) को वार्षिक समर–भेला लन्डनस्थित सटनमा सम्पन्न भएको छ। भेलाले आगामी वर्ष संस्थाको बिसौं वार्षिकोत्सव मनाउने तथा नेपालसँग जोडिएका विषयमा क्रमशः थप अनुसन्धानमूलक प्रकाशनहरू गर्दै जाने निर्णय गरेको छ।
कार्यक्रमको सुरुवातमा भर्खरै निधन भएका नागरिक अगुवा तथा मानवअधिकारकर्मी डा देवेन्द्रराज पाण्डेलाई सम्झिँदै श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
यसपछि भएको छलफलमा बोल्दै संस्थाका कार्यकारी निर्देशक लोकेन्द्र ढकालले नेपाल–डाइलग वेबिनारलाई अझ सहभागितामूलक तथा विषयकेन्द्रित बनाइने बताए। सोहीअनुसार गोर्खा पेन्सन तथा समान अधिकार आन्दोलन र दुई सरकारबीच भएका पछिल्ला वार्ताबाट प्राप्त उपलब्धीमाथि केही महिनामा नै एक वेबिनार गर्न सुझाइएको छ।
‘डेढ वर्षयता नेपाल डायलगमा सहभागी वक्ता तथा स्रोताहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछौँ’ भन्दै ढकालले थपे, ‘आगामी दिनमा अझै बढी छलफल हुनेगरी नेपाली डायस्पोरा र समसामयिक मुद्दामा रहेर वेबिनार गर्नेछौंँ, जसमा जुममार्फत् लाइभ जोडिन सबै विद्यार्थी, पेशाकर्मी र आम नागरिकलाई आह्वान गर्दछौँ।’
सिएनएस युकेले सन् २०२५ देखि प्रत्येक महिनाको पहिलो शनिबार युके समय बिहान दश बजे, नेपाल डाइलग वेबिनार गर्दै आएको छ। यस्तै बेलायत आउने पहिलो नेपाली मोतिलाल सिंहको नाममा स्थापना गरिएको ‘मोतिलाल फेलोसिप’ नेपालमा एमए गर्ने एकजना विद्यार्थीलाई वार्षिक रूपमा प्रदान गर्दै आएको छ ।
उक्त छात्रवृत्तिको संयोजन केन्द्रका डा। कृष्ण अधिकारीले गर्दै आएका छन् भने यसलाई नेपालस्थित सामाजिक अनुसन्धान संस्था ‘सोसल साइन्स बहस’ सँगको साझेदारीमा सञ्चालन गर्दै आइएको छ। यस वर्ष त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पसकी मनोविज्ञान विभागकी सिर्जना गौतमले सो छात्रवृत्ति पाप्त गरेको र छात्रवृत्तिमा ५० हजार रुपैयाँ र डा अधिकारीको सहसुपरिवेक्षण समावेश छ।
डा अधिकारीले मोतिलाल फेलोसिपका लागि कोष निर्माण गरिएको र उक्त कोषमा लोकेन्द्र ढकाल, डा कृष्ण अधिकारी, प्रो गेल्नर, डा जोन व्हेल्प्टन, कल्पना लक्सम्बा र प्रो जआना पाफ जारनेस्काबाट सहयोग प्राप्त भएको जनाए। उनले कोष बृध्दिको अभियान जारी रहेकोले सबैले यथासक्य सहयोग गर्न आव्हान पनि गरे।
मिनी–पुस्तक प्रदर्शनीसहित गरिएको समर–भेलाको संयोजन सिएनएस युकेकी रिसर्च एसोसियट डा सुष्मा बस्नेतले गरेकी थिइन्। बस्नेतले संस्थाको प्रतिनिधित्व गर्दै गत जुनमा ब्रिटेन एकेडेमिक काउन्सिलले आयोजना गरेको नेपाल अध्ययन दिवसमा प्यानलिस्टको रूपमा भाग लिएकी थिइन् ।
सन् २००७ मा स्थापना गरिएको सिएनएस युकेले आगामी वर्ष अन्तर्क्रिया, सेमिनार तथा अनुसन्धानमूलक ग्रन्थ प्रकाशन गरी बिसौँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ। संस्थाले दुई दर्जन भन्दा बढी अनुसन्धानमूलक ग्रन्थ, जर्नल, न्युलेटर र युकेमा रहेका नेपालीहरूको पहिलो जनगणना गरेर पुस्तक प्रकाशन गरेको छ ।
समर–भेलामा संस्थाका संस्थापक तथा अध्येता डा कृष्ण अधिकारी, संस्थापक सल्लाहकार प्रा डेभिड गेल्नर, अध्येताहरू डा सङ्गिता श्रेष्ठ, नरेश खपाङ्गी मगर, डा कृष्ण उपाध्याय, फेलो डा गंगाराम दाहाल, निर्भीकजंग रायमाझी, आर्थिक सल्लाहकार एलएन पाण्डेलगायत सहभागी थिए।
Shares

प्रतिक्रिया