चलचित्र विकास बोर्डले पछिल्लो समय प्रदर्शनरत नेपाली फिल्मको व्यापारको तथ्यांक सार्वजनिक गरेको छ। जसअनुसार स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘लालीबजार’ ले सबैभन्दा धेरै कमाइ गरेको देखिन्छ।
जेठ १६ गते अर्थात शनिबारसम्मको रिपोर्टअनुसार यस फिल्मले ७ करोड ९० लाख ३१ हजार बढीको व्यापार गरेको छ। वैशाख २५ गतेबाट रिलिज भएको फिल्मलाई २ लाख ६९ हजार २०२ जनाले हेरेका छन्।
त्यसैगरि, सोहीदिनबाट रिलिज भएको गायक रामकृष्ण ढकालको डेब्यु लगानी रहेको फिल्म ‘मालती मंगले’ भने कमजोर देखिएको छ। यस फिल्मले जम्मा ५१ लाख ७३ हजार ७९३ ग्रस कलेक्सन गरेको छ। यस फिल्मका जम्मा १६ हजार १८८ टिकट बिक्री भएका छन्।
जेठ १ गतेबाट रिलिज भएको निमेष श्रेष्ठको ‘लाइफ ड्यामेज’ ले भने ३३ लाख २६ हजार ३२० रुपैयाँ कमाइ गरेको छ।
त्यसैगरि, जेठ ८ गतेबाट रिलिज भएको ‘मितज्यू’ ले १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ कमाएको छ। ९ दिन अर्थात शनिबारसम्म यस फिल्मलाई ४१ हजार २४८ दर्शकले हेरेका छन्। सोहीदिनबाट रिलिज भएको ‘काजी’ ले ४० लाख ८८ हजार १७५ व्यापार गरेको छ। सोही अवधीमा फिल्मका १३ हजार ७ टिकट बिक्री भएका छन्।
लक्ष्मण सुनार निर्देशित ‘परालको आगो’ ले भने ४ करोड २७ लाख ८४ हजार ४४५ रुपैयाँ कलेक्सन गरेको छ।
Shares

प्रतिक्रिया