प्रवास


एनआरएनए क्यानडा: अध्यक्षको दौडमा इन्जिनियर किरोज श्रेष्ठ, यस्ता छन् एजेन्डा

एनआरएनए क्यानडा: अध्यक्षको दौडमा इन्जिनियर किरोज श्रेष्ठ, यस्ता छन् एजेन्डा

नेपालखबर
असार २५, २०८२ बुधबार १३:३८, काठमाडौँ

विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)मा यतिखेर चुनावी माहोल गर्माएको छ।

विभिन्न मुलुकमा रहेका एनआरएनएले आफ्नो नयाँ नेतृत्वका लागि धमाधम चुनावी मिति घोषणा गरेका छन्।

यसै सिलसिलामा एनआरएनए, क्यानडाले पनि २०२५-२७ कार्यकालका लागि २० जुलाईमा चुनाव गर्दैछ। जसको लागि धमाधम उम्मेदवारीको घोषणा भइरहेको छ। लामो समयदेखि क्यानडामा बस्दै आएका इन्जिनियर किरोज श्रेष्ठ पनि अध्यक्षको दौडमा होमिएका छन्।

उनले केही दिनअघि मात्र अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन्। आफूले ‘गैरराजनीतिक एनआरएनए’ को नारासहित अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएको उनले बताए।

नेप्लिज क्यानेडियन क्रिकेट क्लबका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ एनआरएनए क्यानडाका उपाध्यक्ष हुन्। २०२३-२५ कार्यकालका उपाध्यक्ष उनले एनआरएनए क्यानडाकै इतिहासमा पहिलो पटक संघीय सरकारबाट अनुदान भित्र्याएका थिए।

नेपाली समुदायको लागि पहिलेदेखि योगदान दिँदै आएको र वर्तमान कार्यसमितिमा पनि उपाध्ययक्ष रहेकाले आफू अध्यक्ष पदको स्वाभाविक उम्मेदवार रहेको उनी बताउँछन्।

संघीय, प्रान्तीय र स्थानीय सरकारसँग सहकार्य गरी नेपाली समुदायको हितमा काम गर्ने उनले चुनावी एजेन्डा अघि सारेका छन्।

‘क्यानडास्थित नेपाली समुदायको हितको लागि काम गर्नु नै मेरो मुख्य एजेन्डा हो,’ श्रेष्ठ भन्छन्, ‘नेपाल र क्यानडाको सम्बन्ध विस्तारको लागि विभिन्न आयामहरू जस्तै, खेलकुद, बिजनेस र ट्रेड जस्ता काम गर्नको लागि यो प्लेटफर्मलाई प्रयोग गर्न सकिन्छ। जसले नेपाली समुदायको उन्नति गर्न सकोस्। यसका लागि संघीय, प्रान्तीय र स्थानीय सरकारसँग सहकार्य गर्नेछौँ।’

नेपालबाट क्यानडा आउने नवआगन्तुकले भोग्ने समस्याका बारेमा जानकार श्रेष्ठ आफू अध्यक्ष बनेमा यो समस्या समाधानका लागि लागिपर्ने बताउँछन्।
 
‘यहाँ जति पनि न्यु कमरहरू आउनुहुन्छ, बासस्थानदेखि लिएर यहाँको संस्कृतिसँग घुलमिल हुन कठिनाइ हुन्छ। पीआरबाटमा आउनुभएकोहरूलाई पनि यहाँको वातावरणसँग घुलमिल हुन समय लाग्छ,’ श्रेष्ठ भन्छन्, ‘विशेषगरी विद्यार्थीहरू, जुन आशाका साथ उहाँहरू यहाँ आउनुभएको हुन्छ, त्यो उहाँहरू नपाइरहेको हुन सक्छ। जसले गर्दा धेरै जना डिप्रेसनमा गएको हामीले देखेका छौँ। यसरी समस्यामा परेकाहरूलाई सहयोग गर्न नेपाली राजदूतावास, स्थानीय संघसंस्था लगायतसँग मिलेर सहकार्य गर्नेछौँ।’

त्यस्तै, एनआरएनए क्यानडाको अल्मुनाइ नेटवर्क बनाएर पूर्वएनआरएनए क्यानडाका पदाधिकारी तथा एनआरएनए क्यानडालाई एकताबद्ध गरेर अगाडि बढ्ने पनि उनले बताए।

त्यस्तै, एनआरएनएलाई पारदर्शी, प्रभावकारी र गैरराजनीतिक बनाउनेदेखि एनआरएनए क्यानडाको स्थायी कार्यालय स्थापना गर्न पहल गर्ने उनको योजना उनको छ। 

एनआरएनएमा आबद्ध हुनु भनेको राजनीति गर्नु हो भन्ने धेरैको बुझाइ रहेको तर यथार्थमा भने त्यसो नभएको श्रेष्ठ बताउँछन्। साथै, यदि कसैले राजनीतिक रूपमा सोचेर व्यवहार गरिरहेको छ भने पनि त्यो गलत भएको उनको धारणा छ।

‘एनआरएनए क्यानडाको विधानमै यो गैरराजनीतिक संस्था हो भनेर लेखिएको छ। त्यसैले यहाँ राजनीति भएन भने नै सबै कुरा ठिकठाक हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘एनआरएनए क्यानडाले धेरै काम गरिरहेको भए पनि आलोचनामक्त हुन सकेको छैन। यसो हुनुको मुख्य कारण यसमा भएको राजनीति सोच नै हो। त्यही भएर यो राजनीतिमुक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो।’ 

श्रेष्ठले आफ्नो एजेन्डामा वृद्धवृद्धाको हेरचाहलाई पनि समेटेका छन्। युवाहरू काममा व्यस्त हुँदा वृद्धवृद्धाको हेरचाह अहिलेको टड्कारो आवश्यकता देखिएको उनको ठहर छ। भन्छन्, ‘हाम्रा बाआमा पनि वृद्धावृद्धा भइसकेकाले उहाँहरूको हेरचाहका लागि पनि हामीले वृद्धाश्रम जस्ता परियोजना ल्याउन जरुरी छ।’ 

त्यस्तै, वर्षभरिमा राम्रो काम गर्नेहरूलाई विभिन्न विधामा पुरस्कृत गर्नेदेखि ग्रान्डको व्यवस्था गर्ने उनको भनाइ छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडामा ६ हजारको हाराहारीमा सदस्य रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad