ad ad

कारोबार


ओलीले बनाएको नयाँ भवनमा तीन महिनाभित्रै देउवा

ओलीले बनाएको नयाँ भवनमा तीन महिनाभित्रै देउवा

वसन्त अर्याल
भदौ १०, २०७८ बिहिबार १९:२१, काठमाडौँ

अबको तीन महिनाभित्र प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारको नयाँ भवनमा सर्न पाउने भएका छन्। 

२०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएपछि पुरानो भवनलाई भत्काएर  नयाँ बनाइएको हो। 

२०७६ असोजमा निर्माण सुरु भएको भवन यही भदौसम्म सक्ने लक्ष्य थियो। तर कोभिड महामारीको कारण समयमा काम गर्न नसकिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। 

पुरानो निवास क्षेत्रफलका हिसाबले साँघुरो भएको र भूकम्पले समेत प्रभावित पारेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले पुरानो भवन भत्काई नयाँ बनाउन सुरु गरेको थियो।

यसअनुसार सरकारले २०७६ भदौ १५ गते दुई वर्षमा निर्माणसम्पन्न गर्ने गरी कन्टेक प्रालिसँग सम्झौता गर्यो। 

सरकारले कोभिड महामारीको कारण निर्माणाधीन आयोजना प्रभाव परेको भन्दै ६ महिना थप गर्ने घोषणा गरेको छ। अबको ६ महिनासम्ममा आयोजनाको काम सकिने कार्यालयको भनाइ छ। 

बालुवाटरमा २ वटा भवन निर्माणाधीन छन्। एउटा भवनको काम ३ महिनाभित्रै सकिनेछ भने अर्को भवनको पनि आवासीय सबै काम चैतसम्म सकिने कार्यालयले जनाएको छ। 

‘बालुवाटारमा निजी र सार्वजनिक गरी २ वटा भवन छन्’, विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय प्रमुख  दिलिप शेखर श्रेष्ठले भने, ‘निजी भवन २ महिनामा सक्ने लक्ष्य छ। सार्वजनिक भवन चैतसम्म सकिन्छ।’

निजी भवनमा इन्टेरियरको काम भइरहेको उनले बताए। निजी भवनको इन्टेरियरलगायतको काम ३ महिनाभित्रै सकिन्छ। 

‘निजी भवन पूर्ण रुपमा सम्पन्न हुँदै छ। फिनिसिङको काम भइरहेको छ। ३ महिनामा नयाँ भवनमा सर्न सकिन्छ’, श्रेष्ठले भने, ‘अलि–अलि ढिला कोभिडकै कारण हो। फेरि म्यादथप गर्नुपर्दैन।’

प्रधानमन्त्रीको पारिवारका लागि आवास र आगन्तुकसँग भेटघाट गर्न सार्वजनिक भवन निर्माण भइरहेको उनले बताए। यसको ठेक्का कन्टेक निर्माण कम्पनीले ३३ करोड ८० लाखमा लिएको हो। हालसम्म २० करोड बढीको काम सम्पन्न भएको आयोजना समन्वय कार्यालयले उल्लेख गरेको छ। 

सम्पूर्ण आवासको ८५ प्रतिशत काम सकियो
प्रधानमन्त्री सरकारी आवास निर्माण कार्य ८५ प्रतिशत काम सम्पन्न भएको छ। 

प्रधानमन्त्री निवासमा बनाइँदै गरेको दुई भवनमध्ये निजी भवन प्रधानमन्त्रीको व्यक्तिगत जीवनका लागि प्रयोग गरिनेछ । भवनमा विभिन्न संरचना निर्माण हुनेछन्। जसमा पाहुना कोठा, बस्ने कोठा, भान्सा र खाना खाने कोठा, लाउन्ड्री, सुरक्षा कोठालगायतका संरचना हुनेछन्।   

जसमा निजी आवासमा मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङको काम भइरहेको छ। वायरिङको काम लगभग सकिएको छ भने फल सेलिङको करिब २० प्रतिशत मात्रै काम बाँकी रहेको छ। 

आईपीएस फ्लोरिङको करिब ९० प्रतिशत, लिफ्ट जडानको करिब ८५ प्रतिशत, इँट्टा, काठको काम करिब सम्पन्न भएको छ। 

त्यस्तै सार्वजनिक भवन भने राजनीतिक दलसँगको भेटघाट, कूटनीतिक व्यक्तित्व र सर्वसाधारणसँगको भेटघाटका लागि प्रयोग गरिनेछ । त्यसमा मन्त्रिपरिषदको बैठक बस्न मिल्ने हल, ब्यान्क्वेट हल र प्रेस सेन्टर लगायतका पूर्वाधार रहनेछन्। 

उक्त भवनमा इँट्टा लगाउने काम, रुफ ट्रसमा प्लाइउडको काम सम्पन्न भएको छ। मेकानिकल, इलेक्ट्रिकल, प्लम्बिङको काम ७० प्रतिशत बढी काम सम्पन्न भएको छ। 

सार्वजनिक भवनको डबलीमा ट्रस राख्ने काम अन्तिम चरणमा रहेको आयोजना समन्वय कार्यालयले जनाएको छ।

भवनको आर्किटेक्चर डिजाइन आजु डिजाइन कम्पनी र स्ट्रक्चर डिजाइन क्राफ्ट डिजाइन कम्पनीले गरेको थियो । 

करिब एक हजार स्क्वायर फिटमा निर्माण गर्न लागिएको भवनमा नेपाली संस्कृति र परम्परा झल्किनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .