ad ad

कारोबार


मकालु यातायातका कन्डक्टर अचेल भेटिन्छन् भैँसी गोठमा

मकालु यातायातका कन्डक्टर अचेल भेटिन्छन् भैँसी गोठमा

जनार्दन पाेखरेल
भदौ १२, २०७८ शनिबार १७:३८, काठमाडौँ

बिहानको ११ बजिसकेको थियो। सर्लाहीको बागमती नगरपालिका–६ राजघाट पञ्चमुखी टोलका घिमिरे दाजुभाइको कृषि फर्मका कामदार सुरेन्द्र यादव पाडा चराउन जंगल जान हतारिँदै थिए। गोठमा बाँधिएका थिए– ५२ वटा पाडापाडी। 

‘अरु दिन सधैँ बिहान १० बजे नै यी पाडापाडी चर्न गइसक्थे। आज ढिलो भयो,’ फर्म सञ्चालक रामप्रसाद घिमिरेले भने, ‘आज एकघण्टा ढिलो हुँदा भोकाएर यी कराउन थालिसके। कतिखेर फुकाइदिन्छन् भनेर हतारिएका छन्।’ 

घिमिरे दाजुभाइ (रामप्रसाद, चेतन र यामप्रसाद) ले एक–एक गर्दै ५२ वटा पाडापाडीको दाम्लो खोलिदिए। भोकाएका पाडापाडीको बथान गोठबाट उफ्रिँदै बाहिर डगरमा निस्किए। पाडापाडीलाई अघि लगाउँदै यादव हिँडे– बागमती नदीको बगरतिर। 

राजघाटबाट पश्चिमतर्फ अवस्थित बागमती किनारको विशाल काँसघारी (नदी उकास पर्ति जमिन) मा अब उनी साँझ पाँच बजेसम्म यीनै पाडापाडीसँगै रमाउँनेछन्। पाडापाडीसँगै बागमतीमा पौडी खेल्नेछन्।

रामप्रसादसहित उनका चार दाजुभाइले संयुक्त लगानीमा कृषि फर्म सुरु गरेको तीन वर्ष भयो। जसको नाम राखिएको छ, ‘घिमिरे दाजुभाइको कृषि फर्म’। 

घिमिरे परिवारमा ६ भाइ छन्। कृषि फर्ममा भने चार भाइमात्रै सहभागी छन्। ‘दुई भाइ यसमा सहभागी हुन मानेनन्,’ माइला भाइ चेतनले भने, ‘सायद उनीहरुलाई यतातिर लागियो भने डुबिन्छ भन्ने डर पो भयो कि!’

फर्ममा रामप्रसादसँगै उनका भाइहरु चेतन, सरोज र यामप्रसादको संयुक्त लगानी छ। यो तीन वर्षको बीचमा उनीहरुले यहाँ झण्डै एक करोड रुपैयाँ लगानी गरिसकेका छन्। जहाँ एक सय पाडा अट्ने सुविधायुक्त गोठ निर्माण गरिएको छ। घाँसपराल राख्ने, कुटि काट्ने छुट्टै गोठ तयार छन्। 

पाडापाडीको गोठ भन्दा केही पर उनीहरुले करिब एक सय जति खसीबाख्रा अट्ने खोर पनि तयार गर्दैछन्। जहाँ उन्नत जातका खसीबाख्रा पालन गर्ने तयारी घिमिरे दाजुभाइको छ। नजिकै स–साना तीनवटा माछा पोखरी छन्, जहाँ हुर्किंदैछन्– मुंग्रे जातका १० हजार माछा। पाडापाडी, खसीबाख्रा र माछा पालनसहितको यो कृषि फर्ममा अचेल घिमिरे दाजुभाइको दिन बित्छ।

‘हामीलाई कृषिबाटै केही गर्न सकिन्छ भन्ने लाग्यो र यो धन्दा सुरु गर्यौं,’ दुई दशकसम्म मकालु यातायातमा कन्डक्टर बसेर देशभरी घुमेका रामप्रसादले भने, ‘त्यतिबेला बसमा कुद्दै गर्दा म सधैँ खेतीकिसानी गरेको, पशुपालन गरेको सपना देख्थेँ। कुदिरहेको बसमा बसेर पत्रपत्रिका पढ्दै गर्दा पनि मेरो आँखा कृषि सम्बन्धी समाचारमै जान्थ्यो। अहिले बसमा कुद्न छाडेर त्यही सपनाको पछि कुद्दै छु।’ 

भाइ चेतन स्वास्थ्य विमा बोर्डको सर्लाही जिल्ला संयोजक छन्। अफिसको कामबाट बचेको समय उनको कृषि फर्ममै बित्ने गरेको छ। नेपालीमा डिग्री गरेका कान्छा भाइ यामप्रसादलाई अरु जागीर भन्दा अचेल यही कृषि कर्म नै प्यारो लाग्न थालेको छ। उनी पनि अचेल खसिबाख्रा, पाडापाडी र पोखरीमा खेल्दै गरेका माछासँगै हराउँछन्, उनीहरुसँगै रमाउँछन्।

घिमिरे दाजुभाइले चार बिघा जति जमिनमा कृषि फर्म सञ्चालन गरेका छन्। करिब १० कठ्ठा जति जमिनमा गोठ, पोखरी सहितका विभिन्न संरचना छन्। बाँकी जमिन उनीहरुले घाँस उत्पादनको लागि छुट्याएका छन्। जहाँ पाडापाडी र खरिबाख्राको लागि विभिन्न जातका डाले घाँस तयारी अवस्थामा छ। डेढ बिघा जमिनमा उनीहरुले सुपर नेपियर जातको उन्नत घाँस मात्रै लगाएका छन्।

गएको वैशाखमा मासुका लागि योग्य दुई ट्रक राँगा उनीहरुले काठमाडौं पठाए। त्यसबाट राम्रो आम्दानी पनि भयो। जसले उनीहरुको उत्साह अझ बढेको छ। फेरि पनि गोठमा झण्डै दुई ट्रक राँगा मासुको लागि तयार हुँदैछन्। आगामी दसैँ छेका पारेर त्यो काठमाडौं पठाउने उनीहरुको तयारी छ। अघिल्लो लटमा एउटा राँगोबाट ४५ हजार रुपैयाँसम्म आम्दानी भएको भाइ चेतनले बताए।

फर्ममा हुर्काउनको लागि पहिला–पहिला उनीहरु स्थानीय बजारमा गएर पाडापाडी किनेर ल्याउँथे। तर अचेल पाडापाडी किन्न उनीहरु बजार जाँदैनन्। ‘भैँसीले दूध दिन छाडेपछि कतिपय किसान किनिदिनुपर्यो भनेर आफैँ पाडापाडी लिएर हामीकहाँ आउँछन्,’ रामप्रसादले भने, ‘कतिपय बेला हामी आफैँ पनि गाउँ घुमेर पाडापाडी खोज्छौँ।  किन्न भनेर बजार जाँदैनौँ।’ 

बजारमा गएर किनेका पाडापाडीमा रोग देखिएको उनले सुनाए। ‘त्यस्ता पाडापाडी भारतबाट ल्याइएका हुँदा रहेछन्। जुन यहाँ फस्टाएनन्,’ उनले भने, ‘अहिले यहाँ भएका सबै पाडापाडी स्थानीय नै हुन्। यिनमा खास रोग पनि देखिएको छैन।’

घिमिरे दाजुमाइको फर्ममा दुईवटा ब्याडे पाडा छन्। एउटा मुर्रा र अर्को जाफ्रा जातको। उनीहरुको फर्ममा ४५ किलोसम्मका खसी र बोयर जातको व्याडे बोको पनि छ। बोयर जातको बोको उनीहरुले एक महिना अघि मात्रै डेढ लाखमा किनेर ल्याएका हुन्। 

‘२० किलोको बोकोलाई डेढ लाख हालेको’ भनेर कतिपयले घिमिरे दाजुभाइलाई उल्लीबिल्ली पनि पारे। ‘दुईवटा लैनौ भैँसी आउने दाम एउटा बोकोलाई हालेछन्’ भनेर उडाउने काम पनि भयो,’ चेतनले हाँस्दै भने, ‘मासुको लागि त्यो दाम हालेको होइन। उन्नत जातको बिउबिना उत्पादन राम्रो हुँदैन भनेर सानो बोकोलाई नै डेढ लाख हाल्नु परेको हो।’

घिमिरे दाजुभाइले आफ्नो फर्ममा अब बिस्तारै पाडा भन्दा पनि पाडीको संख्या बढाउने बिचार गरेका छन्। ‘पाडीलाई भैँसी बनायो भने एउटै एकदेखि डेढ लाख रुपैयाँसम्ममा बिक्री हुन्छ। राँगाबाट त्यति आम्दानी हुँदैन,’ रामप्रसादले भने, ‘दैनिक खर्च व्यवस्थापनको लागि पनि दूधालु भैँसी पाल्नुपर्ने रहेछ भन्ने लाग्न थालेको छ।’ 

कृषिमा टिक्न गाह्रो छ। मान्छेले सुरुमा देखासिकी गर्दै पूर्वाधारमा धेरै खर्च गर्छन्। अनि सोचेअनुसार आम्दानी नभएपछि निरास हुन्छन्। जतिबेला थप लगानी गर्ने रकम हातमा हुँदैन। ‘त्यसरी निरास हुने धेरैले लगानी डुबाएर कृषि पेशा नै छाडेको पनि हामीले देखेका छौँ,’ रामप्रसादले भने, ‘अब दुई तीन वर्ष यसमा टिक्न हामीलाई गाह्रो छ। तर, हामीले हिम्मत हारेका छैनौँ।’

फर्म उद्घाटनको बेला बागमती नगरपालिकाका मेयर भरत थापाले पनि घिमिरे दाजु भाइलाई यस्तै सुझाब दिएका थिए। ‘बाजेहरु अहिले धेरै नफुर्किनु। कृषि कर्म गर्ने धेरै टिक्न सकेका छैनन्। तपाईंहरु तीन वर्षसम्म टिक्न सक्नुभयो भने गरिखानुहुन्छ। नत्र डुबिन्छ,’ मेयर थापाको त्यतिबेलाको अभिव्यक्ति उनीहरुले अझै भुलेका छैनन्। 

कृषिमा सरकारले अनुदानको व्यवस्था गरेको छ। स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि त्यस्तो अनुदान बाँढ्छन्। तर सरकारी अनुदान बास्तविक किसानले हम्मेसी पाउँदैनन्। 

‘यहाँ झोलामा पोखरी, राँगा, भैँसी, खसीबाख्रा बोक्ने आफ्नो पार्टीका कार्यकर्तालाई अनुदान दिने, तर वास्तविक किसानले सरकारी अनुदान नपाउने समस्या छ,’ दाजु रामप्रसादले भने, ‘सरकारी निकायले वास्तविक किसानलाई अनुदान दिने हो भने किसानको उत्साह मर्ने थिएन।’

कुनै पनि काम गर्न पहिला सपना देख्नुपर्छ। ‘हामीले अहिले त्यस्तै सपना बोकेका छौँ,’ रामप्रसादले भने, ‘थोरै जमिनमा पनि कृषि कर्म गर्न सकिन्छ भन्ने उदाहरण हामी स्थापित गर्न चाहन्छौँ।’ १० धुर जमिनमा १० हजार माछा हुर्काउँदै गरेका घिमिरे दाजुभाइले ६ महिनामा त्यसबाट १० लाख आम्दानी लिन सकिने आँकलन गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .