ad ad

कारोबार


कोभिडले १९६० को दशकमै फर्कायो नेपालको पर्यटन, पोखरा पुगे ११ देशका राजदूत र कूटनीतिज्ञ

कोभिडले १९६० को दशकमै फर्कायो नेपालको पर्यटन, पोखरा पुगे ११ देशका राजदूत र कूटनीतिज्ञ

वाशुदेव मिश्र
असोज १०, २०७८ आइतबार १६:३८, काठमाडौँ

नेपालको पर्यटन उद्योग सन् १९६० को दशकबाट सुरु भएको हो। 

पर्यटन मन्त्रालयका अनुसार सन् १९६४ मा जम्मा ९ हजार ५ सय २६ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। 

त्यसपछि नेपाल आउने पर्यटकको संख्या बढ्दै गयो। सन् १९९८ मा यो संख्या ४ लाख ६३ हजार ६ सय २४ पुग्यो। 

नेपालले सन् १९९८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएको थियो। 

नेपालमा सबैभन्दा बढी पर्यटन चाहिँ सन् २०१८ र २०१९ मा भित्रिए । कोभिड सुरु हुनुअघि सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय १ जना पर्यटकले नेपाल भ्रमण गरे। 

तर, सन् २०२० मा यो संख्या घटेर २ लाख ३० हजार ८५ मा पुग्यो। सन् २०१९ मा ती पर्यटकले औसत १२.७ दिन र  २०२० मा आउनेले १५ दिन नेपालमा बिताए। 

सन् २०१९ मा भारत २ लाख ५४ हजार १ सय ५०, अमेरिकाका ९३ हजार २ सय ४१ जना तथा  ६१ हजार १ सय ४४ जना बेलायतका पर्यटक नेपाल आए। 

यता, सोही अवधिमा थाइल्याण्डबाट ४१ हजार ६ सय ६०, दक्षिण कोरियाबाट ३१ हजार १ सय ८, श्रीलंकाबाट ५६ हजार ३ सय १६, बंगलादेशबाट २५ हजार ४ सय ८९, मलेसियाबाट ३ हजार ४ सय ६० जना पर्यटक नेपाल भित्रिए। 

पर्यटन प्रवर्द्धनको लागि पोखरेली अभियान 
पोखरामा ११ देशका राजदूत र त्यति नै कूटनीतिज्ञहरु 

भनिन्छ, नेपाल आएकामध्ये आधाभन्दा बढी पर्यटकले पोखरा र अन्नपूर्ण क्षेत्रको भ्रमण गर्छन्। 

पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा मात्रै खर्बौंको लगानी छ। तर, कोभिड–१९ का कारण यी बितेका २ वर्ष पर्यटन व्यवसाय नराम्ररी हल्लियो। 

केही व्यवसायी पलायन भए, भएकाहरुले पनि जसोतसो व्यवसाय धाने । 

हालै नेपाल सरकारले खोप लगाएका पर्यटकहरुलाई क्वारेण्टिन बस्नु नपर्ने घोषणा गरेसँगै नेपाल र पोखराको पर्यटनमा आशा पलाएको छ। 

शरद् ऋतुको लागि खासै बुकिङ नभए पनि सरकारी घोषणाका कारण घुम्न निस्केका पर्यटकहरुले गन्तव्य परिवर्तन गर्दै नेपाल आउने सम्भावना बढेर गएको छ। 

यस्तैमा पोखराका पर्यटनसँग आबद्ध संघ÷संस्थाको पहल, नेपाल पर्यटन बोर्डको समन्वय एवं गण्डकी प्रदेश सरकारको सहयोगमा पोखराले ‘पोखरा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने जमर्को गरेको छ। 

यही मेसोमा ४२औँ विश्व पर्यटन दिवस मनाउन पोखरामा ११ देशका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु निम्त्याइएको छ। 

भ्रमण दलमा जर्मनी, संयुक्त अरब इमिरेट्स, कतार, फिनल्याण्ड,दक्षिण कोरिया, साउदी अरब, श्रीलंका, उत्तर कोरिया, थाइल्याण्ड, बंगलादेश, इजिप्टका राजदूत, संयुक्त राष्ट्रसंघका आवासीय  प्रतिनिधि, इसिमोडका महानिर्देशक, अन्तर्राष्ट्रिय मुद्राकोषका नेपाल प्रमुख, यूएनएडका कन्ट्री डाइरेक्टर, युनेस्कोका नेपाल प्रतिनिधि, विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टरलाई पोखरा निम्त्याइएको छ। 

बुद्ध एयरको चार्टर्ड उडानबाट उनीहरु आइतबार पोखरा आएका छन्। 

उनीहरुको सम्मानमा आइतबार साँझ रात्रिभोज आयोजना गरिएको छ। 

सोमबार विश्व पर्यटन दिवसका दिन उनीहरुलाई कास्कीको कास्कीकोटमा हाइकिङ गराउने, रेण्टुरेण्ट एण्ड बार एसोसिएसनले आयोजना गरेको मिनी सडक महोत्सव एवं साहसिक पर्यटकीय गतिविधिमा सहभागी गराउने कार्यक्रम तय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए। 

‘कूटनीतिक नियोगका प्रमुखहरुको आवागमन र उनीहरु स्वयं पर्यटकीय गतिविधिमा सरिक हुँदा नेपाल र पोखरा पर्यटकको लागि खुल्ला छ भन्नेमात्र नभएर उनीहरुको देशमा नेपालको प्रवर्द्धन पनि हुन्छ’, अध्यक्ष भट्टराईले भने, ‘एकैपटक यति धेरै देशका राजदूत र कूटनीतिज्ञहरुलाई बोलाएर गरिएको कार्यक्रमले यहाँको पर्यटन बौरिनेछ।’

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीका अनुसार प्रवर्द्धनात्मक गतिविधिअनुसार नै कूटनीतिक क्षेत्रका व्यक्तित्वहरुलाई पोखरा निम्तो गरिएको हो। 

यो कार्यक्रम पोखराको मात्र नभएर समग्र नेपालको पर्यटन प्रवर्द्धनको लागि कोशेढुंगा हुने बताउँदै उनले भने, ‘कोभिडबाट पीडित व्यवसायीलाई राज्य भएको अनुभूति दिलाउन पनि यो अभियान गरिएको हो।’ 

यद्यपि,अहिले पोखरा निम्त्याइएका कूटनीतिज्ञहरुमध्ये केही देशबाट मात्रै नेपालमा उल्लेख्य पर्यटक आउने गरेका छन्। 

पर्यटक बढी आउने भारत, चीन, अमेरिका, बेलायतलगायतका देशका राजदूतहरु भने यो अभियानमा सरिक भएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .