ad ad

कारोबार


नक्कली अन्तःशुल्क स्टिकरः पिँधमा पुगेर अनुसन्धान गर्ने चुनौती अब प्रकाश पौडेलको काँधमा

नक्कली अन्तःशुल्क स्टिकरः पिँधमा पुगेर अनुसन्धान गर्ने चुनौती अब प्रकाश पौडेलको काँधमा

राजस्व अनुसन्धान विभागमा भर्खरै सरुवा भइआएका प्रकाश पाैडेल।


दीपक भट्ट
असोज १५, २०७८ शुक्रबार १२:२२, काठमाडौँ

राजस्व नियमन र संकलन गर्ने दुई विभागका महानिर्देशकबीच नक्कली अन्तःशुल्क स्टिकरको अनुसन्धानलाई लिएर चर्काचर्की भइरहँदा राजस्व अनुसन्धान विभागको नेतृत्व परिवर्तन भएको छ। 

सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रकाश पौडेललाई ल्याएको हो। 

यसअघिका महानिर्देशक रामप्रसाद आचार्यलाई गण्डकी प्रदेशमा सरुवा गरी उनको स्थानमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक पौडेललाई राजस्व अनुसन्धानको नेतृत्व दिइएको हो। 

आचार्य राजस्व अनुसन्धानमा हुँदा आन्तरिक राजस्व विभागले उनले नक्कली अन्तःशुल्क स्टिकर प्रकरणमा गम्भीर अनुसन्धान नगरेको भन्दै असन्तुष्टि जनाइरहेको थियो। 

अब नक्कली स्टिकर प्रकरणको अध्ययनलाई अन्तिम रुपमा पुर्याउनुपर्ने चुनौती पौडेलको काँधमा आएको छ। 

पौडेलले नक्कली अन्तःशुल्क स्टिकर आयात र प्रयोग गर्ने धेरै व्यवसायी रहेकाले यसविरुद्धको अनुसन्धानलाई टुंग्याउनुपर्नेछ। 

त्यही उद्देश्यले उनलाई राजस्व अनुसन्धानमा ल्याइएको हो। 

योसँगै धेरै मदिरा व्यवसायीहरु नक्कली स्टिकर प्रकरणमा मुछिने त्रासमा छन्। नक्कली अन्तुःशल्क स्टिकर आयात गर्ने एक गिरोहलाई सरकारले गत महिना समातेको छ। 

आयात गर्ने गिरोह समातिएपछि नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गर्ने केही लोकल डिस्टिलरी समेत छानबिनको दायरामा आएका छन्। 

यसबारे अध्ययन अघि बढिरहँदा ठूला डिस्टिलरीहरुलाई समातिएकाहरुले पोलिसकेकाले राम्ररी अनुसन्धान अघि बढे तिनीहरु पनि कारबाहीमा पर्ने देखिएको छ। 

किनकि समातिएकै कारोबारीबाट उनीहरुले नक्कली अन्तःशुल्क स्टिकर लिएर आफ्नो उत्पादनमा प्रयोग गरेको देखिइसकेको आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागको अध्ययनले समेत देखाइसकेको छ। 

तर दुवै विभागले नक्कली स्टिकर प्रयोग गर्ने ठूला डिस्टिलरीबारे औपचारिक रुपमा केही भनिसकेका छैनन्। 

नक्कली स्टिकरको पछिल्लो घटना अहिले पनि अध्ययनमै छ। 

विशेष गरी आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले राजस्व अनुसन्धानज विभागका तत्कालीन महानिर्देशक आचार्यलाई फोनै गरेर यो प्रकरणलाई गम्भीर अनुसन्धान गर्न भनेका थिए। 

दुई विभागका नेतृत्वबीच नै खटपट भइरहेका बेला राजस्व अनुसन्धानको नेतृत्व परिवर्तन हुनुलाई अर्थपूर्ण मानिएको छ। 

के थियो नक्कली अन्तःशुल्क स्टिकर प्रकरण?
राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय बुटवलले गत भदौ ५ मा सशस्त्र प्रहरीको सहयोगमा भैरहवाको डण्डा क्षेत्रबाट २ करोड ३५ लाख ६३ हजार रुपैयाँ मूल्यबराबरको नक्कली स्टिकर समातेको थियो।  

८० रोलको ती अन्तःशुल्क नक्कली स्टिकर भारतबाट ल्याएर भैरहवाको दरखसको एउटा घरमा लुकाएर राखेको पाइएको थियो। त्यसमा संलग्न सहिद अन्सारी र अमानत अलीलाई प्रहरीले पक्राउ गरेको थियो। 

भैरहवाको क्रिस्टल डिस्टिलरीले ती स्टिकर ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको थियो।  

त्यस्तै अर्को यहीसम्बन्धी घटनामा आन्तरिक राजस्व विभागअन्तर्गतको राजस्व कार्यालय धनगढीले नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गर्दै आएका हर्केष सिंह र संग्राम साउदसहित ६ जनालाई नियन्त्रण लिएको थियो। 

उनीहरुले भारतबाट नक्कली अन्तःशुल्क स्टिकर आयात गरी नेपालमा स्थानीय डिस्टिलरीहरुमा बिक्रीवितरण गरेको भेटिएको थियो।  

अन्तःशुल्क ऐन २०५८ अनुसार धरौटी दिन नसकेपछि उनीहरु जेल चलान भइसकेका छन्। उनीहरुलाई राजस्व कार्यालयले नक्कली अन्तःशुल्क स्टिकरको कारोबारीले धरौटी दिन नसकेपछि जेल चलान गरेको थियो।

आन्तरिक राजस्व कार्यालय धनगढीले आरोपितहरुसँग सात करोडका दरले कुल ५२ करोड रुपैयाँ धरौटी माग गरेको थियो। माग गरेअनुसारको धरौटी भुक्तानी गर्न नसकेपछि अन्तःशुल्क ऐनअनुसार उनीहरु जेल चलान भएका थिए।

उक्त दुई घटना पत्ता लागेपछि पनि राजस्व अनुसन्धानले आफ्नो कारबाहीलाई प्रभावकारी रुपमा अघि नबढाएको आरोप आचार्यमाथि लागेको थियो। 

खासगरी भरिया समातेर प्रयोग गर्नेलाई उन्मुक्ति दिन टालटुले अनुसन्धानमात्रै गरेको उनीमाथि आरोप थियो। 

आन्तरिक राजस्वले पनि यसमा आचार्यसँग प्रत्यक्ष असन्तुष्टि देखाइरहेको थियो। 

तर अब आचार्यमात्र होइन, राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखको समेत सरुवा भएको छ। बुटवलका प्रमुख राजन बिसीको सरुवा गरिएको हो। बिसीको ठाउँमा कसैलाई पनि ल्याइएको छैन। सोही कारण यसबारेको अध्ययन पनि रोकिएको छ। 

पौडेलको आगमनसँगै अब राजस्व अनुसन्धानले नक्कली अन्तःशुल्क प्रयोग गर्ने मुख्य र ठूला डिस्टिलरीहरुको अनुसन्धान गर्नुपर्ने हुन्छ। 

त्यही अनुसन्धानले उनीहरुबाट कति रकमबराबरको राजस्व छली भइरहेको छ, खुल्नेछ। तर यसका लागि पौडेलले यो अनुसन्धानलाई पिँधमा पुगेर केलाउनुपर्नेछ। यो तहको अनुसन्धान नभइरहेका बेला नवआगन्तुक पौडेलबाट ठूलै आशा गरिएको छ।  

राजस्व अनुसन्धानका एक अधिकारीले भने, ‘अन्तःशुल्क आयात गरेर नेपालमा कारोबार गर्ने गिरोहहरुको तहमा मात्रै मुद्दा अघि बढाउने गरी अनुसन्धान अघि बढेको थियो। नयाँ महानिर्देशक आउनुभएको छ हेरौँ अब कुन तहमा अध्ययन हुन्छ।’

राजस्व अनुसन्धानले नक्कली अन्तःशुल्क कारोबार गर्ने मुख्य आरोपित भारतीय नागरिक बाबुराजा कसोधनलाई देखाएको छ। उनलाई नै केन्द्रित गरी अनुसन्धान अघि बढाएको छ। 

यो पनि–
नक्कली अन्तःशुल्क स्टिकर प्रकरणः भरिया समातेर राजस्व छल्नेलाई छुट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .