यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन्। चीनबाट यसअघि बीवाईडीले रसुवागढीबाट ल्याउँदै आएपनि अरु कम्पनीले पनि उत्तरी नाका रोज्न थालेका हुन्।
आवाज एवं धूवाँरहित चिनियाँ विद्युतीय कार तीन दिनको अन्तरालमा १०० वटा नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताएका छन्।
वाईडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंकले रसुवागढी नाकामा २० वटा आएको १० वटा आउँदै गरेको बताएको छ।
‘हामीले पहिलेबाटै रसुवागढी नाकाबाटै बीवाईडीका गाडी ल्याउँदै आउका थियौं,’ कम्पनीका मार्केटिङ म्यानेजर समिर श्रेष्ठले नेपालखबरसंग भने ‘२० वटा भन्सारमा आएका छन्। १० वटा आउँदै छन्।’
श्रेष्ठले उत्तरी नाकाबाट ल्याउँदा समय छोटो भए पनि भन्सारमा धेरै गाडी राख्ने ठाउँ नहुँदा समस्या हुने बताए।
‘पहिला बीवाईडीले ल्यउँथ्यो। अहिले अरु कम्पनीले पनि ल्याउँदा धेरै गाडी देखिएका हुन्,’ उनले भने।
भन्सार कार्यालयका अनुसार कारबाट १० करोड ९८ लाखभन्दा बढी रकम राजस्व असुली भएको छ ।
धुँवा तथा आवाजरहित भएका कारण नयाँ आयात भएका चिनियाँ कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा समेत सहज पार्ने जनाइएको छ ।
रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारी साधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए।
डिजेल पेट्रोलजस्ता इन्धनबाट चल्ने अन्य सवारी साधनभन्दा चिनियाँ विद्युतीय कार गुडाउन अत्यन्तै सहज हुने बताइएको छ ।
गत आर्थिक वर्षदेखि हालसम्म करिब ८०० साना ठूला सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार अधिकारीले बताए।
प्रतिक्रिया