हुवावेले नेपालमा २० जना विद्यार्थीलाई प्रविधि (आईसीटी) सम्बन्धी अध्ययन गराउने भएको छ।
कम्पनीले ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो।
हुवावेले २० जना आईसीटी अध्ययन गरिरहेका विद्यार्थीलाई अनलाइन कोर्स गराउने भएको छ।
हुवावेले यो कार्यक्रम २००८ देखि विश्वका अन्य देशमा सञ्चालन गरे पनि नेपालमा पहिलो पटक सञ्चालन गर्न लागेको जानकारी दिएको छ।
चीनले प्रविधि, नवप्रवर्तन, संस्कृतिक आदानप्रदानसम्बन्धी इन्ट्री लेभल र एडभान्स कोर्ष गराउने छ। जसमा मुख्य प्रविधि, फाइभजी, क्लाउड कम्प्युटिङ र एआई सम्बन्धी विषय समेटिएको छ।
हुवावे नेपालका अनुसार कोर्स ८ दिनको हुनेछ। कोर्स नोभेम्बर २९ देखि डिसेम्बर ६ सम्म चल्नेछ।
‘सिड्स फर द फ्युचर’ कार्यक्रममा परम्परागत र आधुनिक चीनको विषयमा भर्चुअल टुर गराउनेछ। कार्यक्रममा छनोट हुने विद्यार्थीलाई हुवावेका विज्ञ, बाह्य उद्यमी, प्रोफेसर वा वैज्ञानिकले सेक्युरिटीदेखि एरो स्पेससम्मका अनुभव विद्यार्थीलाई साइबर सेयर गर्ने छन्।
अनलाइन कक्षामा समूह छलफल, बहस विश्वभरका आईटी विद्यार्थीसँग हुनेछ। अनलाइन कोर्सपछि हुवावे नेपालको कार्यालय भ्रमण र हुवावेले नेपालमा निर्माण गरिरहेको कुनै एउटा आयोजनामा अवलोकन गराउनेछ।

कसरी छनोट हुन्छन् विद्यार्थी ?
हुवावेले नेपालभरबाट आईसीटी विषय कलेज अन्डरग्रेजुएट (स्नातक पढिरहेका) विद्यार्थीलाई सहभागी हुन पाउने जनाएको छ। जसमा विद्यार्थीले कम्तीमा ३ जीपीए ल्याएको हुनुपर्नेछ।
कोर्स अंग्रेजीमा हुने भएकाले अंग्रेजी भाषामा निपूर्ण हुनुपर्नेछ। टेलिकम र टेक्नोलोजी क्षेत्रमा रुचि भएको हुनुपर्नेछ।
विद्यार्थीले सिड्स नेपाल डटकममार्फत फर्म भर्न सक्नेछन्। फर्म भर्दा ट्रान्सक्रिप्ट वा कलेजको सिफारिस पत्र देखाउनुपर्नेछ।
हुवावेले अक्टोबर ६ देखि नोभेम्बर ७ सम्म आवेदन दिन सक्ने जनाएको छ। नेपालभरबाट आवेदन परेका विद्यार्थीलाई एउटा समितिले छनोट गर्नेछ।
३ जनाको छनोट समिति
इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रो.डा. शशिधरराम जोशी, प्रा.डा सुवर्ण शाक्य र तिमिला यमी थापा रहेका छन्।
प्रो.डा. शशिधरराम जोशीले यस कार्यक्रममा भाग लिने विद्यार्थीले टेलिकम्युनिकेसन र एन्ड्रोइड स्टुडियोको विषयमा आधुरभुत ज्ञान भएको हुनु पर्ने बताएका छन्।
जोशीले आफूहरुको छनोट समितिले नेपालका उत्कृष्ट विद्यार्थी छनोटगर्ने बताएका छन्।
तिमिला यमी थापाले हुवावेको ‘सिडस् फर द फिउचर’ कार्यक्रम नेपाली विद्यार्थीको लागि महत्वपूर्ण हुने बताएकी छन्। उनले कोभिड १९ को कारण प्रविधि कति आवश्यक रहेको छ भन्ने देखिएको बताइन्।

‘हुवावेले यस्ता कार्यक्रम ल्याएर धेरै विद्यार्थीलाई प्रोत्साहान गरेको छ,’ थापाले भनिन् ‘यसले नेपाललाई मात्र होइन विश्वलाई नै फाइदा गर्छ।’
उनले प्रविधिले ग्रामीण क्षेत्रको रुपान्तरण नगरेसम्म विश्व रुपान्तरण हुन नसक्ने बताइन्।
प्रो.डा. सुवर्ण शाक्यले हुवावेले राम्रो कार्यक्रम ल्याएको बताएका छन्। शाक्यले नेपालको डिजिटल ट्रफोरमेसनकालागि हुवावेले ग्रामिण क्षेत्रका कलेज तथा स्कुलमा ‘एक्सपर्टिज्’ दिन सक्ने बताएका छन्।
हुवावे नेपालका सिइओ विलियम झाङले हुवावेले डिजिटल कार्यक्रमलाई प्रोत्साहन गरिरहेको बताएका छन्। हुवावेले नेपालमा प्रविधि–अर्थतन्त्रमा ठुलो योगदान गरेको दाबी गरे।
‘विभिन्न टेलिकमसंग मिलेर २जी, ३जी, ४जी का कार्यक्रम ल्याएका छौं,’ सिइओ झाङले भने ‘हुवावेले नेपालमा १० हजार बढी रोजगारी सिर्जना गरेको छ। जसमा ९० प्रतिशन नेपाली रहेका छन्।’
Shares

प्रतिक्रिया