ad ad

कारोबार


चार्जिङ स्टेसन निर्माणमा आक्रामक टाटा, हुन्डाई र बीवाईडी, कहिले सक्ला प्राधिकरणले?

चार्जिङ स्टेसन निर्माणमा आक्रामक टाटा, हुन्डाई र बीवाईडी, कहिले सक्ला प्राधिकरणले?

सांकेतिक तस्बिर


वसन्त अर्याल
कात्तिक २८, २०७८ आइतबार ९:१४, काठमाडौँ

नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको बिक्री बढ्दो क्रममा छ। 

तर यसका लागि अत्यावश्यक चार्जिङ स्टेसन भने पर्याप्त मात्रामा बन्नसकेका छैनन्। 

सडकमा धेरै विद्युतीय कारहरु देखिँदा नेपालमा हालसम्म झण्डै ५ दर्जन मात्रै फास्ट चार्जिङ स्टेसन (छिटो चार्ज हुने) स्थापना भएका छन्। 

पाँच दर्जन चार्जिङ स्टेसन भनेको ६० वटा मात्रै हो। यी स्टेसनहरू नेपालमा विद्युतीय सवारीसाधन बिक्री गर्ने हुण्डाई, बीवाईडी, टाटा र कियाले बनाएका हुन्। 

अन्य कम्पनीहरु महिन्द्रा र एमजी मोटर्सले पनि विद्युतीय गाडीहरु बिक्री गरिरहेका छन्। उनीहरुले फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेका छैनन्।  

तीबाहेक भर्खरै विद्युतीय सावारीसाधन नेपाल भित्र्याएका कम्पनीहरु निसान (लिफ) र दीगोले पनि चार्जिङ स्टेसन स्थापनालाई प्राथमिकता दिने बताएका छन्। 

निसानले आफ्नो शोरुममा चार्जिङ स्टेसन स्थापना गरेको जनाएको छ। दीगोले सिन्धुली र भक्तपुरमा चार्जिङ स्टेसन निर्माण गरेको उल्लेख गरेको छ। 

फास्ट चार्जरबाट करिब १ घण्टामै फुल चार्ज हुन्छ भने घरबाट चार्ज गर्दा ६ देखि ८ घण्टा लाग्ने गरेको छ। सबै विद्युतीय गाडीमा भने फास्ट चार्ज प्रयोग गर्न मिल्दैन। 

महिन्द्रा विद्युतीय गाडीको आधिकारिक बिक्रेता अग्नी इनर्जी प्रालिका प्रबन्धक प्रमोद भण्डारीले महिन्द्राको इ२ओमा फास्ट चार्जर प्रयोग गर्न नमिल्ने हुँदा चार्जिङ स्टेसन नेटवर्क स्थापना नगरेको बताए।

‘महिन्द्राका बढी बिक्री हुने विद्युतीय गाडी फास्ट चार्जरबाट गर्न मिल्दैन’, प्रबन्धक भण्डारीले भने, ‘महिन्द्राको इ२ओ घरमै चार्ज गर्न मिल्छ।’

इ२ओ फुल चार्ज हुन करिब ६ घण्टा लाग्छ। महिन्द्राको सर्वाधिक बिक्री हुने विद्युतीय गाडी इ२ओ रहेको छ। 

महिन्द्राले इ–भेरिटो पनि बिक्री गर्दै आएको छ। जसलाई फास्ट चार्जर प्रयोग गर्न सकिन्छ। त्यसको लागि शोरुममा चार्जिङ स्टेसन राखेको  भन्डारीले जानकारी दिए। 

‘सेडान सेगमेन्टमा उपलब्ध इ–भेरिटो काठमाडौंमा मात्रै बिक्री गरेका छौँ’, भण्डारीले भने, ‘घरमै चार्ज गर्न पनि सकिन्छ। काठमाडौंमै फास्ट चार्जर आवश्यक परे शोरुममा सेवा छ।’

त्यस्तै विद्युती सवारी बिक्रीमा अगाडि रहेको एमजीले चार्जिङ स्टेसन स्थापना गरेको छैन। कम्पनीले २ महिनाभित्र १५ ठाउँमा चार्जिङ स्टेसन राखिसक्ने जनाएको छ। 

‘एमजीले अहिलेसम्म डीसी चार्जर राखेको छैन’, पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले भने, ‘अबको २ महिनामा मुख्य राजमार्गमा चार्जिङ स्टेसन निर्माण गर्छौँ।’ 

अर्यालले सहरलाई केन्द्रितभन्दा पनि मुख्य राजमार्गमा चार्जिङ स्टेसन निर्माण गर्ने बताए। 

टाटा, हुन्डाई र बीवाईडीको आक्रामक विस्तार 
चार्जिङ स्टेसन निर्माणमा हालसम्म हुन्डाई सबैभन्दा अघि देखिएको छ। 

त्यसपछि दोस्रोमा बीवाईडी छ। केही महिनाअघि विद्युतीय गाडी भित्र्याएको टाटाले पनि चार्जिङ स्टेसन निर्माणलाई मुख्य प्राथमिकतामा राखेको बताएको छ। 

टाटाले काठमाडौं बाहिर जाँदा चार्जिङ स्टेसन हुन्छ कि हुँदैन भन्ने चासो सम्बोधन गर्न काठमाडौंबाहिर चार्जिङ स्टेसन निर्माण गरेको जनाएको छ। 

टाटाले काठमाडौंको बागडोलबाहेक चुम्लिङटार, पोखरा, भैरहवा, हेटौंडा, मूलकोट र इटहरी फास्ट चार्जिङ स्टेसनको निर्माण गरिसकेको छ।

कम्पनीले चालू आर्थिक वर्षको अन्तसम्म थप १५ वटा फास्ट चार्जर राख्ने दाबी गरेको छ। सय बढी ठाउँमा एसी चार्जिङ स्टेसन राख्ने जनाएको छ।

नेपालभर रहेका २४ वटा नेटवर्कमध्ये अधिकांशमा फास्ट चार्जर वा एसी चार्जर राख्ने जनाएको छ। टाटाले मुख्य राजमार्गको १५० किलोमिटरको दूरीमा चार्जिङ स्टेसन राख्ने योजना बनाएको छ। 

कुन ठाउँमा चार्जिङ स्टेसन रहेको छ भन्ने मोबाइल एपमार्फत पत्ता लगाउने सिस्टम समेत विकास गरिरहेको छ।

हुन्डाईले २२ ठाउँमा फास्ट चार्जिङ स्टेसन स्थापना गरेको छ। हुन्डाईले काठमाडौंको कुपण्डोल, तीनकुने, पुल्चोक, सिनामंगल, नक्साल र थापाथलीमा चार्जिङ स्टेसन निर्माण गरेको छ।

कम्पनीका पोखरामा ५ वटा चार्जिङ स्टेसन सञ्चालनमा छन् भने भैरहवा, बुटवल, नेपालगञ्ज, धनगढी, वीरगन्ज, विराटनगर, इटहरी, भरतपुर, बिर्तामोडमा पनि सञ्चालन गरिरहेको छ।

नेपालमा राष्ट्रपतिदेखि मन्त्रीसम्मलाई विद्युतीय गाडी चढाएको बीवाईडीले १८ ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ। 

बीवाईडी नेपालले काठमाडौं उपत्यकाका ९ ठाउँसहित इटहरी, बर्दिबास, हेटौंडा, चितवन, बुटवल, लुम्बिनी, नेपालगञ्ज, लमही, पोखरामा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ।

बीवाईडीले धनगढी, सुर्खेत, नेपालगञ्ज, लमही, मुग्लिङ, वीरगन्ज, धुलिखेल, धरान, विराटनगरमा नयाँ चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको छ। 

यता किया मोटर्सले देशका विभिन्न ७ ठाउँमा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ। कम्पनीले उपत्यकामा तीनसहित बाहिर ४ गरी कुल ७ वटा यस्ता स्टेसन निर्माण गरिसकेको छ। उपत्यकाबाहिर चुम्लिङटार, भरतपुर र पोखरामा राखेका छन्। 

कियाले भक्तपुर, हेटौंडा, जनकपुर, बर्दिबास, बिर्तामोड, विराटनगर, बुटवल, भैरहवा, दाङ, नेपालगन्ज र धनगढीमा समेत चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको छ।

प्राधिकरणले ५० चार्जिङ स्टेसन निर्माण गर्दै
यता नेपाल विद्युत् प्राधिकरणले ५० चार्जिङ स्टेसन निर्माण गर्दै छ। 

प्राधिकरणले चिनियाँ कम्पनी वानवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड जियाङ्सुलाई ठेक्का दिएको छ। 

प्राधिकरणले चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरेको हो।

‘ठेक्का लागेको ५० चार्जिङ स्टेसनको निर्माण हुँदै छ। सामग्री ल्याउने काम भइरहेको छ’, प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीले भने, ‘अबको ४–५ महिनामा तयार हुन्छन्।’

विद्युत् प्राधिकरणले कसैले चार्जिङ स्टेसन राख्न चाहे सहयोग गर्ने बताएको छ। केही समयअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ५०० चार्जिङ स्टेसन निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए। 

३ महिनामा करिब साढे ४ सय विद्युतीय गाडी
चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा ४ सय ४६ वटा विद्युतीय गाडी आयात भएका छन्। विद्युतीय सवारी बिक्रेताले यो वर्ष करिब एक हजार विद्युतीय गाडी बुकिङ भए पनि मागअनुसार आयात हुन नसकेको दाबी गरेका छन्। 

गत आर्थिक वर्षमा २ सय ४९ वटा विद्युतीय गाडी आयात भएकोमा त्यसअघि आर्थिक वर्ष २०७६÷०७७ मा ५ सय ७४ वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए। 

सरकारले गत वर्ष विद्युतीय गाडीमा कर बढाएसँगै आयात घटेको थियो। तर चालू आर्थिक वर्षमा कर घटाएपछि फेरि विद्युतीय सवारीसाधनको आयात र माग बढेको छ। 

विद्युतीय सवारीसाधनको बिक्री बढ्दै गए पनि पर्याप्त मात्रामा चार्जिङ स्टेसन निर्माण नहुँदा समस्या हुँदै आएको गुनासो बढिरहेको छ। 

हाल नेपालमा टाटाको नेक्सन ईभीसँगै, बीवाईडी ई ६, हुन्डाई कोना, कियाको निरो, एमजी एसजेट ईभी, महेन्द्राको ई२ओ, दीगोको ई ८, निसानको लिफ कारहरु उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .