कारोबार


ऋण तिर्न इच्छाराजविरुद्ध सञ्चय कोषले जारी गर्‍यो ३५ दिने सूचना

ऋण तिर्न इच्छाराजविरुद्ध सञ्चय कोषले जारी गर्‍यो ३५ दिने सूचना

नेपालखबर
मंसिर ६, २०७८ सोमबार १३:५२, काठमाडौँ

कर्मचारी सञ्चय कोषले आफूसँग लिएको ऋणको सावाँ र ब्याज भुक्तानी ३५ दिनभित्र तिरिसक्न सिभिल इस्टेट्स प्रालिलाई समयसीमा तोकिदिएको छ। 

कोषले आज एक सार्वजनिक सूचना जारी गर्दै उक्त दिनभित्र ऋण नतिरे कर्मचारी सञ्चय कोष ऐन २०१९, कर्जाको शर्त सम्झौता लिखत र प्रचलित ऐन, कानुनबमोजिम धितोमा रहेको चल÷अचल सम्पत्ति कोषले कुनै पनि बखत कब्जा÷लिलाम बिक्री गरी वा अन्य कारबाही गरी असुल उपर गरिने जानकारी दिएको हो। 

उक्त कब्जा लिलाम बिक्रीबाट सम्पूर्ण ऋण रकम र सोसँग सम्बन्धित अन्य रकम समेत असुल उपर नभए कानुनबमोजिम ऋणी तथा जमानी दिनेको अन्य चल अचल सम्पत्तिबाट असुल उपर गरिने कोषले जनाएको छ। त्यसरी पनि अपुग हुन आए कानुनअनुसार कारबाही गरी आफ्नो लेना रकम असुल उपर गरिने कोषले चेतावनी दिएको छ। 

कोषले सञ्चालकहरु इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ, प्रविण मुखिया र जमानीकर्ताहरु इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ, प्रविण मुखिया, लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रविण प्रसाद प्रधान र सुमन नन्दन वैद्यको नाममा सूचना निकालेको छ।  

तामाङ अहिले केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। सिभिल एन्ड क्रेडिट कोअपरेटिम लिमिटेड घोटाला प्रकरणमा सीआईबीले उनीसहित १२ जनालाई हिरासतमा राखेको छ। उनीविरुद्ध ठगीका १३ सय बढी उजुरी परेको छ भने झण्डै साढे ५ अर्ब ठगी गरेको आरोप लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .