ad ad

कारोबार


एमाले महाधिवेशनः ५ दिनलाई ६५ सय कोठा बुकिङ, १० करोडसम्म काराेबार

एमाले महाधिवेशनः ५ दिनलाई ६५ सय कोठा बुकिङ, १० करोडसम्म काराेबार

होटल बेड। तस्बिरः चितवन फरेस्ट रिसोर्ट


वसन्त अर्याल
मंसिर ६, २०७८ सोमबार १६:५४, काठमाडौँ

नेकपा एमालेको महाधिवेशनले चितवनका डुब्नलागेका होटल व्यवसायीलाई उत्साहित बनाएको छ। 

एमालेको महाधिवेशनले सौरहा आसपासका ६५ सय बेड बुकिङ भएकोमा होटल व्यवसायी उत्साहित भएका हुन्। 

एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा १०औँ महाधिवेशन गर्दै छ। १० गतेको उद्घाटनसत्रमा लाखौँ कार्यकर्ता उतार्ने तयारी गरेको छ। 

बन्दसत्रमा २ हजार प्रतिनिधि, विदेशी प्रतिनिधि, हजार बढी स्वयंसेवक, स्वास्थ्यकर्मी, पत्रकार गरी ३५ सय बेड बुकिङको लागि पार्टीले व्यवसायीसँग सम्झौता गरिसकेको जनाएको छ।  

‘३५ सय बेड दिने गरी एमालेसँग सम्झौता भएको छ’, क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष दीपक भट्टराईले नेपालखबरसँग भने, ‘३५ सय जनाको लागि २ करोडमा सम्झौता गरेको हो। सम्झौताअनुसार २ छाक खाना र ३ रात बस्न पाउनेछन्। यो रकम एमाले पार्टीले रकम तिर्छ।’ 

एमालेले आफ्ना प्रतिनिधिको लागि मंसिर १०, ११ र १२ गतेको लागि होटल बुकिङ गरेको छ। पार्टीले ३५ सय बेड बुकिङबाहेक व्यक्तिगत बुकिङ समेत राम्रो रहेको व्यवसायीहरुको भनाइ छ। 

सौरहामा हुन गइरहेको नेकपा एमालेको महाधिवेशनको लागि चाहिने ३५०० बेडको सम्झौता।

‘पार्टीबाहेक अन्यहरुको लागि बुकिङ खुल्ला नै छ। सौरहा आसपासका होटल प्याक भइसकेका छन्’, चितवन फरेस्ट रिसोर्टका सञ्चालक समेत रहेका भट्टराईले थपे, ‘एमालेका कार्यकर्ता, पत्रकारहरुले व्यक्तिगत रुपमा होटल बुकिङ गरिरहेका छन्।’

सौरहा आसपासमा करिब ६५ सय बेड छन्। एमालेले नारायणी किनारामा उद्घाटनसत्र गरे पनि बन्दसत्र सौरहामा गर्दै छ। सौरहा आसपासमा ६५ सय बेड बुकिङ भएसँगै अब कोठा पाउन अप्ठ्यारो रहेको व्यवसायीले बताएका छन्। 

नाफाभन्दा प्रचारप्रसार बढी हुने आशा
एमालेको महाधिवेशनबाट होटलहरुले नाफा कमाउनेभन्दा पनि प्रचारप्रसार हुँदा पछिसम्म बढी फाइदा हुने व्यवसायीको आकलन छ। 

एमालेको महाधिवेशनले चितवनको पर्यटन प्रवर्द्धन हुने र पर्यटक आवागमन बढ्ने व्यवसायी बताउँछन्। 

एमालेको कार्यक्रम पर्यटकीय क्षेत्रमा हुन व्यवसायीको लागि खुसीको कुरा भएको क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरे बताउँछन्। 

‘हामीले तत्कालको फाइदाभन्दा पनि दीर्घकालीन पर्यटन प्रवर्द्धन गर्नेतर्फ ध्यान दिएका छौँ’, जंगल सफारी लजका सञ्चालक समेत रहेका घिमिरेले भने, ‘तत्कालको फुल अकुपेन्सी हुँदा कारोबार बढेको छ।’ 

व्यवसायीले नाफा कमाउनुभन्दा पनि कोभिडको महामारीले डुब्न लागेका व्यवसायी बाँच्नसक्ने अवस्था बनेको बताएका छन्। 

संघका अध्यक्ष भट्टराईले अहिलेको महाधिवेशनले पछिसम्म प्रतिफल पाउनसक्ने बताए। 

जंगल सफारी लज।

‘एमाले महाधिवेशनभरि सौरहा क्षेत्रमा कारोबार १० करोड रुपैयाँ हुने आकलन गरिएको छ’, अध्यक्ष भट्टराईले भने, ‘एमालेले चितवनमा महाधिवेशन गर्ने भनेसँगै सौरहामा चहलपहल बढेको छ। अहिले नै महाधिवेशनलाई लक्षित गर्दै नेता कार्यकर्ताको आउजाउ बढेको छ।’ 

एमालेको महाधिवेशन १२ गतेसम्म भए पनि १४–१५ गतेसम्मै होटल बुकिङ भएको उनले बताए। 

३ दिनमा मात्रै ५ करोड बढी कारोबार हुने अनुमान गरिएको पूर्वअध्यक्ष घिमिरेको भनाइ छ। 

‘३ दिनको लागि शतप्रतिशत अकुपेन्सी छ’, घिमिरेले भने, ‘लगातार ३ दिनसम्म १०० प्रतिशत नै अकुपाई भएको पहिलोपटक होला।’

पर्यटन व्यवसायीले एमाले महाधिवेशनमा नेपाली प्रतिनिधिसँगै विदेशी प्रतिनिधि पनि आउने हुँदा प्रचारप्रसार बढी हुने बताएका छन्। एमालेले विभिन्न देशका ६० भन्दा दललाई आफ्नो महाधिवेशनमा निमन्त्रणा गरेको छ। जसमध्ये कति प्रतिनिधि महाधिवेशनमा सहभागी हुन्छन् भन्ने एकीन छैन। 

एमाले महाधिवेशनले होटलबाहेकका हवाइ यातायात, सडक यातायात, माछा मासु, पेयपदार्थमा समेत राम्रो कारोबार हुने आकलन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .