ad ad

कारोबार


उपभोग्य क्षेत्रमा बैंकको पैसा खनिएपछि तरलता अभाव, कहाँ कति गयो कर्जा?

उपभोग्य क्षेत्रमा बैंकको पैसा खनिएपछि तरलता अभाव, कहाँ कति गयो कर्जा?

दीपक भट्ट
मंसिर १४, २०७८ मंगलबार ९:३९, काठमाडौँ

चालू आर्थिक वर्ष सुरु हुन अगाडिदेखि नै बैंकमा कर्जामा माग धेरै हुँदा तरलता अभाव सिर्जना भएको थियो। 

यो समस्या अहिलेसम्म कायमै छ। यसरी पैसा अभाव हुनु (तरलता अभाव)मा उपभोग्य क्षेत्रमा भएको अत्यधिक पैसा माग र त्यसबमोजिम प्रवाह भएको लगानी मुख्य कारण रहेको तथ्यांकले देखाएको छ। 

विशेषगरी उपभोग्य क्षेत्रहरु व्यक्तिगत आवास कर्जा, व्यक्तिगत कर्जा, सवारीसाधन कर्जाजस्ता शीर्षकमा धेरै कर्जा वितरण भएको देखिएको हो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको पहिलो त्रैमासिकलाई हेर्दा यो वर्ष जम्मा ३ खर्ब १९ अर्ब रुपैयाँले बैंकको कर्जा बढेको छ। 

केही क्षेत्रको कर्जा यो वर्ष घटे पनि उल्लिखित शीर्षकका उपभोग्य क्षेत्रमा मात्रै ६ खर्ब अर्ब २७ अर्ब रुपैयाँ कर्जा वितरण भएको छ। जुन गत वर्षको तुलनामा ४ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा बढी हो।

तथ्याङ्कअनुसार व्यक्तिगत आवास कर्जा, व्यक्तिगत कर्जा, सवारीसाधन कर्जा जस्ता शीर्षकमा ४ खर्ब ७४ अर्ब रुपैयाँ बढ्दा तरलता अभाव हुनपुगेको हो। 

ट्रेडिङ गर्नेले उठाए धेरै रकम 
कर्जाको वृद्धिदरको हिसाबमा उपभोय वस्तुको लागि बैंकहरुले कर्जा बढाएको देखिए पनि सबैभन्दा धेरै कर्जा प्रवाह भएको क्षेत्र भने यो होइन। चालू आर्थिक वर्षको  तीन महिनाको तथ्याङ्क हेर्दा ट्रेडिङ गर्ने व्यवसायीहरुले धेरै पैसा लिएका छन्। 

होलसेलर र रिटेलर व्यवसायीले नै तीन महिनाको अवधिमा ८ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लिएका छन्। गत आर्थिक वर्षको यही अवधिलाई हेर्ने हो भने ७ दशमलव ५ प्रतिशको कर्जा बढाएको देखिन्छ। 

त्यस्तै उत्पादनमूलक उद्योगहरुले पनि ६ खर्ब ८९ अर्ब रुपैयाँ ऋण लिएको देखिन्छ। उनीहरुले समेत ७ प्रतिशत लगानी बढाएको तथ्याङ्कले देखाउँछ।  

तीन महिनाको अवधिमा अन्य क्षेत्रको कर्जा प्रवाह हेर्ने हो भने कृषि क्षेत्रमा ३ खर्ब ५३ अर्ब रुपैयाँ प्रवाह भएको छ। जुन गत आर्थिक वर्षको यही अवधिभन्दा २९ अर्बले बढी हो। खनिज उत्खननका क्षेत्रमा ९ अर्ब प्रवाह भएको छ जुन यो वर्ष ५ अर्बले बढी हो। 

रड, फलाम, इलेक्ट्रोनिक्स व्यवसायमा ७१ अर्ब रुपैयाँ प्रवाह भएको देखिन्छ जुन गत वर्षको तुलनामा ९७ करोड बढी हो। 

यातायात तथा सञ्चार सार्वजनिक क्षेत्रमा २ खर्ब ६४ अर्ब रुपैयाँ प्रवाह भएको छ। यो गत वर्षको तुलनामा १२ अर्ब बढी हो। सेवा क्षेत्रमा ३ अर्ब ८० करोड रुपैयाँ  प्रवाह भएको छ। जुन गत वर्षको तुलनामा १८ अर्ब रुपैयाँ बढी हो। 

गत आर्थिक वर्षको चौथो त्रैमासिकदेखि नै नेपालमा लगानीयोग्य रकम अर्थात् तरलता कसिलो देखिन्छ। त्यस समयदेखि नै बैंक तथा वित्तीय संस्थाले तरलताको नयाँ बाटो हुनुपर्ने माग सरकारसँग गरिरहेका छन्। 

लगानी बढ्यो 
तरलता अभाव हुनुमा प्रमुख कारण नै लगानी बढ्नु रहेको राष्ट्र बैंकको भनाइ छ। चालू आवको पहिलो त्रैमासिकको समीक्षाअनुसार नेपालमा लगानी बढिरहँदा तरलता अभाव सिर्जना भएको छ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षामा केन्द्रीय बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार उच्च रहेकोले तरलतामा चाप परेको छ।’

तरलता सुधार गर्नको लागि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷०७९ को पहिलो ३ महिनामा रिपोमार्फत १ खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत ८ खर्ब २२ अर्ब ६८ करोड गरी कुल १० खर्ब ०८ अर्ब १७ करोड तरलता प्रवाह गरेको छ।

चालू आवको पहिलो त्रैमासिकमा निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ६० अर्ब तरलता प्रशोचन गरिएको थियो। 

चालू आवको ३ महिना अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी २९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २४ करोड खुद खरिद गरी १ खर्ब४७ अर्ब ४३ करोड तरलता प्रवाह गरिएको थियो।

तरलता अभाव हुनु नराम्राे हाेइन
तरलता अभाव हुनु आफैँमा नराम्रो कुरा भने नभएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्याय बताउँछन्। 

उनले नेपालखबरसँग भने, ‘कर्जा माग बढी हुनु नै नेपालमा लगानी बढिरहनु हो। माग भएबमोजिम तरलता उपलब्धता हुनुचाहिँ राम्रो हो।’ 

चालू आवमा विविध कारणले तरलता अभाव भएको उनको भनाइ छ। तर त्यसलाई सुधार गर्ने बाटो समेत मौद्रिक नीति समीक्षाले देखाएको उनले बताए। उनले थपे, ‘सीडी रेसियो कायम गर्ने अवधि समेत लम्ब्याएर र तरलताको बाटो समेत खोजेको छ। यसले सहयोग गर्छ।’

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल उपभाेग्य क्षेत्रमा धेरै कर्जा प्रवाह भए पनि छिटाे फर्किने भएकाले वर्तमान तरलता अभावकाे मुख्य कारण यसलाई मान्न तयार छैनन्। 

उनले भने, ‘उपभोग्य क्षेत्रको कर्जा भनेको छिटो ब्याक हुन्छ। त्यसकारणले यसलाई नै तरलता अभावको मुख्य कारणचाहिँ मान्न नमिल्न सक्छ। तर यही सेक्टरमा नै बढी कर्जा जानुले  र अरु क्षेत्रमा घट्नुले चाहिँ तरलता कता बढी प्रवाह भइरहेको छ त्यो स्पष्ट भने पार्छ।’ 

तरलतालाई यसले कसिलाे बनाएकाेमा भने उनकाे स्वीकाराेक्ति छ। 

क्षेत्र कर्जा प्रवाह गत र याे वर्षकाे ३ महिनामा फरक
उपभोग्य ६ खर्ब अर्ब २७ अर्ब ४ खर्ब ७४ अर्ब
कृषि ३  खर्ब ५३ अर्ब २९ अर्ब
उत्पादनमूलक उद्योग ६ खर्ब ८९ अर्ब ४५ अर्ब
सेवामूलक उद्योग ३ खर्ब ८० अर्ब १८ अर्ब
फलामजन्य उत्पादन ७१ अर्ब ९ अर्ब
खनिज उत्पादन ९ अर्ब ५७ करोड
होलसेल तथा रिटेल ८ अर्ब ९९ अर्ब ६२ अर्ब
निर्माण क्षेत्र २ खर्ब ६५ अर्ब १ खर्ब ४५ अर्ब (घटेको)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .