कारोबार


कैलाश गाउँपालिकाले ल्यायो ५५ करोड ८४ लाखको बजेट

कैलाश गाउँपालिकाले ल्यायो ५५ करोड ८४ लाखको बजेट

नेपालखबर
असार १०, २०८३ बुधबार १९:२९, हेटौंडा

मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

बुधबार गाउँपालिकाको १८औँ गाउँसभामा उपाध्यक्ष बालकुमार मल्लले वार्षिक नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका हुन्। आगामी आर्थिक वर्षमा संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, राजस्व बाँडफाँट, समपूरक तथा विशेष अनुदानमार्फत ४२ करोड ७६ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। 

त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण, सशर्त, राजस्व बाँडफाँट, समपूरक तथा विशेष अनुदानमार्फत नौ करोड ४७ लाख २१ हजार ९१० रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। गाउँपालिकाको आन्तरिक स्रोतबाट तीन करोड ६० लाख ५६ हजार ९० रुपैयाँ आम्दानी हुने अनुमान छ।

व्ययतर्फ आर्थिक विकासका लागि दुई करोड २१ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ७५ लाख ५४ हजार रुपैयाँ र पूर्वाधार विकासका लागि १५ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, सामाजिक विकासका लागि २४ करोड ८९ लाख १५ हजार रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनका लागि ४३ लाख रुपैयाँ र प्रशासनिक खर्चका लागि ११ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक र युवामैत्री कार्यक्रमलाई निरन्तरता दिइने बताए। चेली प्रोत्साहन कार्यक्रमलाई समेत निरन्तरता दिइने तथा स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए।

नीति तथा कार्यक्रममा ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूर्ण सरसफाइ उन्मुख पालिका घोषणा गर्ने लक्ष्य लिइएको छ। कृषि क्षेत्रतर्फ रैथाने बालीको संरक्षण तथा विस्तार, बाँझो जमिनको उपयोग र कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणलाई प्राथमिकता दिइएको छ।

स्वास्थ्य क्षेत्रमा बीपी स्मृति कैलाश आधारभूत अस्पतालमा चिकित्सक, आवश्यक जनशक्ति, उपकरण तथा औषधिको व्यवस्थापन गरी आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने अध्यक्ष मुक्तानले बताए। ‘कैलाश बन्दैछ, बाआमालाई सञ्चै छ’ अभियानलाई निरन्तरता दिँदै जिरो होम डेलिभरी नीति कार्यान्वयनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे।

सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई थप सुदृढ बनाउँदै बक्यौता, पेश्की तथा बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखी शून्य बेरुजुतर्फ उन्मुख हुने नीति गाउँपालिकाले लिएको छ। गाउँसभाले आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ तथा बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad