कारोबार


हेटौंडाको पौने तीन अर्बको बजेट सर्वसम्मतिले पारित

हेटौंडाको पौने तीन अर्बको बजेट सर्वसम्मतिले पारित

नेपालखबर
असार १०, २०८३ बुधबार १९:४२, हेटौंडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ८५ करोड पाँच लाख रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। मंगलबार सुरु भएको १९औँ नगरसभाले बुधबार बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको हो।

उपमहानगरले चालु आर्थिक वर्षका लागि दुई अर्ब ९० करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो। आगामी आर्थिक वर्षका लागि भने पाँच करोड रुपैयाँले बजेटको आकार घटाइएको छ।

नगरसभामा उपमेयर राजेश बानियाँले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, आर्थिक विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ। कुल बजेटमध्ये ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य राखिएको छ। 
यस्तै, राजस्व बाँडफाँटबाट ९९ करोड २० लाख ४८ हजार रुपैयाँ, प्रदेश सरकारबाट १० करोड एक लाख ७२ हजार रुपैयाँ र संघीय सरकारबाट एक अर्ब १८ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

पूर्वाधार विकासतर्फ ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ। वडा तहका योजना तथा कार्यक्रमका लागि मात्रै ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ छुट्याइएको छ। सडक बोर्डअन्तर्गतका योजनाका लागि एक करोड ५० लाख, सडक सुरक्षा तथा उज्यालो शहर कार्यक्रमका लागि ९५ लाख र सीसीटीभी क्यामेरा जडानका लागि ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारीमा खानेपानी योजनाका लागि एक करोड ९० लाख रुपैयाँ बजेट छुट्याइएको छ। परियोजना बैंकका लागि ५० लाख, आकस्मिक पूर्वाधार मर्मतका लागि दुई करोड, एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि चार करोड ६० लाख तथा शहरी तथा पूर्वाधार विकास कार्यक्रमका लागि २६ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

शिक्षा क्षेत्रमा गुणस्तर सुधार, प्राविधिक शिक्षाको विस्तार र विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकता दिइएको छ। स्वास्थ्यतर्फ ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि घरदैलो स्वास्थ्य सेवा र मातृ–शिशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

आर्थिक विकासतर्फ कृषि क्षेत्र सुधारका कार्यक्रम सञ्चालन गर्न चार करोड १६ लाख, पशु विकासका लागि तीन करोड २४ लाख तथा उद्योग र सहकारी क्षेत्रका लागि एक करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ। खेलकुद क्षेत्रको विकासका लागि मेयर कप, उपमेयर कप तथा अन्य प्रतियोगिता सञ्चालन गर्न एक करोड ४० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

नगरको सरसफाइ तथा फोहरमैला व्यवस्थापनका लागि एक करोड रुपैयाँ छुट्याइएको छ। दमकल सञ्चालन, मर्मत तथा अग्नि नियन्त्रणका कार्यक्रमका लागि दुई करोड १० लाख तथा वातावरण संरक्षण र विपद् व्यवस्थापनका लागि ३ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४५ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ भने संस्थागत क्षमता विकास, सुशासन प्रबर्द्धन तथा सूचना प्रविधिको प्रयोग विस्तारका लागि थप दुई करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ। 

उपमहानगरले आगामी आर्थिक वर्षमा नगरबासीको जीवनस्तर उकास्ने, आधारभूत सेवाको पहुँच विस्तार गर्ने तथा दिगो विकासलाई प्रबर्द्धन गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। मेयर मीनाकुमारी लामाले नगरसभाका सदस्यहरूबाट प्राप्त सुझाव र सहमतिप्रति धन्यवाद व्यक्त गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमार्फत नगरवासीको अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad