नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न ३ सय ३ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ।
राष्ट्रिय योजना आयोगले तयार पारेको दिगो विकास लागत अनुमानका अनुसार सन् २०३० भित्रमा दिगाे विकास लक्ष्य हासिल गर्न सो परिमाणको अमेरिकी डलर नेपाललाई आवश्यक पर्ने देखिएको हो।
गरिबीको अन्त्य, शिक्षा, स्वास्थ्य, खानेपानी, प्रविधिको विकासलगायतको क्षेत्रमा लगानी गरेर मात्रै दीगो विकास लक्ष्य हासिल हुने भएकाले त्यसका लागि २०३० सम्ममा नेपाललाई सो रकम आवश्यक पर्ने अनुमानित डाटा तयार पारिएको राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले जानकारी दिए। उनले सो लगानी जुटाउनुनै नेपालका लागि मुख्य चुनौति रहेको पनि स्पष्ट पारे।
आयोगले सो आवश्यक्ता पूर्तिका लागि सहकारी क्षेत्रको पनि उल्लेख्य लगानीको अपेक्षा गरेको छ। दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक रकममध्ये वार्षिक करिव ६ अरव अमेरिकी डलर अपुग हुने निष्कर्ष पनि निकालेको छ। आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि बजेटको अभाव मुख्य चुनौती रहेको बताए।
आयोगले दिगो विकास लक्ष्य हासिल गर्न अभाव हुने रकम जुटाउन लगानी बोर्डजस्ता संस्थाहरुलाई सक्रिय बनाउनुपर्नेमा पनि जोड दिएको छ। पूर्वाधारको क्षेत्रमा सार्वजनिक क्षेत्रको लगानी कमजोर हुँदा दिगो विकास लक्ष्य हासिलका लागि लाग्ने लागतको अनुमान पनि फरक पर्दै जाने पनि आयोगको प्रतिवेदनमा औंल्याइएको छ।
Shares

प्रतिक्रिया