कारोबार


विधान पारित गरेर मात्रै ईप्पानको निर्वाचन गर्न माग

विधान पारित गरेर मात्रै ईप्पानको निर्वाचन गर्न माग

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार ८:३, काठमाडौँ

आज हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) को २४ औं बार्षिक साधारणसभामा निर्वाचनका सम्वन्धमा विवाद सिर्जना भएको छ।

ईप्पानका महासचिब तथा बरिष्ठ उपाध्यक्षका उमेद्‍वार बलराम खतिवडासहित ३५० सदस्यले २४ औं साधारणसभाबाट विधान पारित गरेर मात्रै निर्वाचन गर्न इप्पान अध्यक्ष मार्फत कार्य समितिमा निवेदन पेश गरेका छन्। 

निवेदनमा संस्थाको सर्वाेच्च निकाय (साधारणसभा)ले गरेको निर्णय कार्यान्वयन गर्नु सबैको दायित्व भएको उल्लेख छ।

तर सो दायित्व भुलेर कार्य समितिको बहुुमतको नाममा आफूहरूको माग विपरित निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएपछि संस्थामा थप विवाद सिर्जना भएको हो।

ईप्पानमा ६८१ मतदाता रहेकोमा संस्थाका करिब ३५० मतदाताले निर्वाचन प्रकृया अगाडि नबढाउन हस्ताक्षर गरि वैधानिक तवरले मात्रै अघि वढ्न गरिएको आग्रहलाई वेवास्ता गरि निर्वाचन समितिले बिहीबार बेलुका जारी गरेको अन्तिम उमेद्‍वारको नामावली सार्वजनीक गरेर खतिवडा पक्षका उपाध्यक्षका उमेद्‍वार कुमार खरेल र दिपक पौडेल तथा सचिबका उमेद्‍वार कृष्णप्रसाद घिमिरे र विरेन्द्र बहादुर मल्लको खारेजीप्रति गम्भीर असहमती जनाएको छ। 

आज हुने साधारणसभामा विधान संसोधनको एजेण्डा राखिएको छ। सँगै कार्य समितिको निर्वाचन समेत छ। यो विवादको विषय भने संस्थाको २३ औं साधारण सभाबाट सर्वसम्मतीले पारित गरेको विधान संसोधनको निर्णयलाई कार्यान्वयन गरेर मात्र २४ औं साधारणसभाले निर्वाचन गर्नुपर्ने कि २१ औं साधारणसभा अगाडिकै विधानमा निर्वाचनगर्ने भन्नेबाटै शुरु भएको हो। 

ईप्पानको २१ औं वार्षिक साधारण सभाले भानुभक्त पोखरेल संयोजकत्वमा ५ सदस्यीय विधान संसोधन तथा पुर्नलेखन समिति गठन गरेको थियो।

सो समितिले २०८२ साल असार ३१ गते सम्पन्न संस्थाको २३ औँ साधारणसभा समक्ष निणयार्थ पेश गरेको थियो। उक्त मस्यौदा विधान ईप्पानको २३ औं वार्षिक साधारण सभाले पारित गरेर सोको कायान्वयन गर्न संस्थाका अध्यक्षलाई अख्तियारी दिइएको थियो।

सो निर्णय कार्यान्वयन नगर्ने मनसायले संस्थालाई नविकरण नगरि अहिले पुरानै विधानबाट निर्वाचन गर्ने निर्णयले विवाद सिर्जना भएको हो। 

साधारण सभाबाट पारित निर्णय कार्यसमितिको बैठकले काट्न नमिल्ने बताइन्छ। साधारण सभाको अधिकार खोस्ने गरी कार्य समितिले मनोगत रुपमा निर्णय गरे कानुनी रुपमा अबैध हुन्छ। र दिएको अख्तियारी अनुसारको जिम्मेवारी पूरा गर्ने नैतिक तथा कानुनी दायित्व अख्तियार प्राप्त व्यक्तिको हो।  

खसगरी २४ औं वार्षिक साधारण सभाका लागि बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने र विधान संसोधन भएपश्चात एक कार्यकाल कार्य समितिमा रहेको विधान अनुसार योग्य भएका व्यक्ति अध्यक्ष उम्मेदवार हुनपाउने तथा अन्य सबै पदमा खुल्ला रुपमा उम्मेदवारी दिने गरी प्रस्ताव गरिएको छ।

असन्तुष्ट पक्षले यो पारित गरेर सबैलाई चुनावी प्रक्रियामा सहभागी गराएर मात्रै निर्वाचन गर्न आग्रह गरेको छ।


 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad