कारोबार


१ लाख राखेर खाता खोल्दा एनआईसी एशिया बैंकमा के पाइन्छ?

१ लाख राखेर खाता खोल्दा एनआईसी एशिया बैंकमा के पाइन्छ?

नेपालखबर
पुस २१, २०७८ बुधबार १३:४, काठमाडौँ

एनआईसी एशिया बैंकमा एउटा यस्तो स्किम छ– एक लाख रुपैयाँ राखेर बैंक खाता खोल्ने। 

अहिले धेरै बैंकले ‘शून्य ब्यालेन्स’मा नै खाता खोल्न सकिने योजना कायमै राखेका छन्। तर एनआईसी एशिया बैंकले भने एउटा स्किम १ लाख राशी नै राखेर अघि सारेको छ। झट्ट हेर्दा यो महँगो पनि लाग्न सक्छ। तर यसको सुविधा हेर्दा अरुमा शून्य ब्यालेन्समा खाता खोल्नुभन्दा धेरै फाइदा समेत दिने महशुस गराउँछ।

यो खाता बैंकले आफ्नो २४औँ वार्षिक उत्सवको अवसरमा अघि सारेको हो। ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना सार्वजनिक गर्दा बैंकले त्यसभित्र ‘गुडविल एम्बेसडर’ स्किम ल्याएको थियो। 

योसँगै बैंकले प्राइड र पार्टनर दुई अर्को स्किम समेत राखेको छ। यसमा भने क्रमशः ५० हजार र २५ हजार रुपैयाँ न्यूनतम ब्यालेन्स राख्नुपर्ने व्यवस्था छ। तर गुडविल एम्बेसडर खाता न्यूतनम १ लाख रुपैयाँ राखेर खोल्नुपर्ने बैंकले बताएको छ। 

१ लाख राशी नै राखेर खाता खोल्दा यसबाट धेरै फाइदा हुने बैंकको भनाइ छ। 

के–के छन् त फाइदा? 
यसमा ग्राहकलाई चासो हुनु स्वाभाविकै हो। बैंकका अनुसार खाताहरू अनलाइनमार्फत वा नजिकैको शाखा कार्यालयमार्फत खोल्न सकिने व्यवस्था गरिएको छ। 

यो खातामा ७.०५ प्रतिशत ब्याजदर प्राप्त हुन्छ भने गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा अतिविशिष्ट सुविधाहरू प्रदान गरिन्छ। गुडविल एम्बेसडर श्रेणीको बचतखाताहरूमा २४ विभिन्न सुविधाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एक पटक खाता खोलिसकेपछि ग्राहकहरूले न्यूनतम ३ लाख ३६ हजार रुपैयाँभन्दा बढीको फाइदा प्राप्त गर्न सक्छन्।

यसरी हेर्दा ग्राहकलाई वार्षिक ७.०५ प्रतिशत ब्याजरका अलावा कुल ३३९ प्रतिशतको फाइदा प्राप्त हुन्छ।

बैंकले सार्वजनिक गरेको र बैंकले प्रदान गर्दै आएको सेवा सुविधाहरुमा फाइदाहरु हेर्ने हो भने दीर्घकालीन र तत्कालीन लाभ पाइने प्रकृतिका छन्। 

यी हुन् ‘गुडविल एम्बेसडर’ स्किमले दिने फाइदै फाइदा :

३ बीमासम्बन्धी फाइदा 
कुनै व्यक्तिले गुडविल एम्बेसडर खाता खोलेको खण्डमा उसलाई बीमा सुविधा तत्काल दिइने बैंकले जनाएको छ। नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको सहकार्यमा एनआईसी एशिया बैंकबाट दुर्घटना बीमा, घातक रोग बीमा, औषधि उपचार बीमा अन्तर्गत रहेर २० हजारबराबरको फाइदा उपलब्ध हुनेछ। 

यसले कसरी फाइदा भयो भन्ने प्रश्नमा चाहिँ यस खाताले दिने २१ लाखको बीमा सुविधा दिन छुट्टै कम्पनीमा गएमा ग्राहकले करिब २० हजार जति प्रिमियम तिर्नुपर्ने हुन्छ। तर गुडविल एम्बेसडर खाता खोल्नेबित्तिकै बीमा कम्पनीलाई तिर्ने प्रिमियम रकम बचत हुन्छ। 

स्विप–इन/स्विप–आउटको सुविधा 
स्विप–इन/स्विप–आउट भनेको फिक्स्ड (एफडी) र सेभिङ खाता मर्ज गरेर ल्याइएको सेवा हो। दुवैको फाइदा एकै खाताबाट सहज रुपमा प्राप्त गर्न सकिने सुविधा हो। यसमा उपलब्ध हुने उच्चतम ब्याजदरभन्दा करिब ३० प्रतिशत बढी कमाइ ग्राहकले गर्न सक्दछन्।

यदि सेभिङ खातामा तोकिएको ब्यालेन्सभन्दा धेरै रकम छ भने फिक्स्ड डिपोजिटसरह ब्याज सुविधा पाउन सकिन्छ। मानौं सेभिङ अकाउन्टमा अहिले ब्याजदर ७.०५ प्रतिशत छ र फिक्स्ड (एफडी) मा राखियो भने ग्राहकले १०.०५ प्रतिशत ब्याज पाउँछन्। 

यदि सर्वश्रेष्ठ बचत खातामा कुनै ग्राहकको रकम २ लाख रुपैयाँभन्दा माथि लाग्यो भने सो बढी भएको रकम रू. १०,००० को गुणाले भाग जाने हिसाबले स्वतः ९० दिनको फिस्क्ड डिपोजिट हुन जान्छ र फिक्स डिपोजिटकै ब्याज आर्जन गर्ने गर्दछ। यसको अर्थ के हो भने बचत खातामा दुई लाखभन्दा बढी हुँदा बित्तिकै बढी भएको रकम फिक्स्ड खाता गएर बस्छ। र, त्यसै फिक्स्डको ब्याजदर पाउँछ।​

फिक्स्डमा गएर बसेको भए पनि ग्राहकलाई बीचैमा पैसा चाहियो भने पनि सहज रुपमा रकम झिक्न सकिन्छ। ‘प्रि म्याचुअर’को शुल्क लाग्दैन।

कर्जासम्बन्धी फाइदा
सर्वश्रेष्ठ बचत खाताको एम्बेसडर श्रेणीमा ग्राहकले पूर्वस्वीकृत कर्जाको फाइदा पाउँछन्। यस खातामा मासिक १० लाख रुपैयाँ औसत मौज्दात राखेको खण्डमा त्यसको १० गुणासम्म कर्जा प्राप्त गर्न सकिनेछ। जसअनुसार उदाहरणका लागि १ करोड रुपैयाँ कर्जा १० प्रतिशत वार्षिक ब्याजदरमा साधारण कर्जा लिनुभन्दा पूर्वस्वीकृति कर्जामार्फत लिँदा ग्राहकले २ लाख १६ रुपैयाँ फाइदा प्राप्त गर्नुहुनेछ।

पूर्वस्वीकृति कर्जा भनेको कुनै ग्राहकको गुडविल एम्बेस्डर खाता खोलेबापत तीन महिनाको औसत मौज्दातको दश गुणा बढी ऋण पाउने सुविधा हो। जस्तो कि कुनै ग्राहकको तीन महिनाको १० लाखको औषत व्यालेन्स रहेछ भने उसले पूर्वस्वीकृति कर्जाअनुसार १ करोडसम्मको कर्जा बेसरेटमा थप १ प्रतिशत प्रिमियम र ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा प्राप्त गर्दछ।

यस्तो कर्जा प्रदान गर्दा बैंकको आन्तरिक नीति नियम तथा राष्ट्र बैंकको मापदण्डको अधीनमा रही कर्जा स्वीकृत हुनेछ। यस किसिमको कर्जामा फाइदा अन्य कुनै पनि बैंकबाट पाउन नसकिने एनआईसी एशिया बैंकले दाबी गरेको छ। अन्य बैंकमा हेर्ने हो भने सामान्यत कर्जाको ब्याजदर बेस रेटमा थप ४ प्रतिशतसम्म र प्रशासनिक शुल्क ०.७५ प्रतिशतसम्म हुने गरेको पाइन्छ।

५ वर्षसम्म निःशुल्क सेवाहरु
यस खाता खोल्नेको लागि डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवाहरु निःशुल्क प्रदान हुने बैंकको भनाइ छ। उदाहरणको लागि ५ वर्षको लागि डेबिट कार्ड निःशुल्क हुँदा ग्राहकले यो सेवा लिएबापत वार्षिक ३ सय ५० रुपैयाँ तिर्नुपर्नेमा पाँच वर्षका लागि निःशुल्क हुँदा १ हजार ७ सय ५० रुपैयाँ फाइदा पाउनेछन्। 

यसबाहेक मोबाइल बैंकिङ समेत निःशुल्क प्रदान हुनेछ। ५ वर्षको लागि मोबाइल बैंकिङ सुविधा निःशुल्क हुँदा वार्षिक ३ सय रुपैयाँ सेवा शुल्क ५ वर्षका लागि निःशुल्क हुँदा १ हजार ५ सय रुपैयाँ फाइदा हुनेछ र इन्टरनेट बैंकिङ समेत निःशुल्क हुँदा​ यसबापत पाँच वर्षमा लाग्ने २ हजार ५ सय रुपैयाँ फाइदा हुनेछ। 

त्यस्तै क्रेडिट कार्डमा समेत फाइदा पाउनसक्ने बैंकले जनाएको छ। सामान्यतः १० प्रतिशत ब्याजदरमा क्रेडिट कार्ड सुविधा लिएको खण्डमा यस खाता योजनाअनुसार क्रेडिट कार्ड सुविधा लिँदा ग्राहकले ४५ दिनको क्रेडिट सुविधा प्राप्त गर्न सकिनेछ। यो मात्रै नभई क्रेडिट कार्ड आवेदन शुल्क समेत छुट हुनेछ। जसमा लिँदै आएको १ हजार रुपैयाँ नलाग्ने बैंकले बताएको छ। क्रेडिट कार्ड जारी शुल्क सप्लिमेन्ट्री क्रेडिट कार्ड शुल्क समेत निःशुल्क रहनेछ। यसबाट २ हजार रुपैयाँ बचत हुने बैंकको भनाइ छ। प्रिपेड डलर कार्ड समेत यस खाताले प्रयोग गर्न पाउने र त्यसमा लाग्ने ३ सय ५० रुपैयाँ फाइदा पाउनेछन्। इ–कमर्स सचारु गर्दा लाग्ने १ सय रुपैयाँ शुल्क समेत लाग्दैन। चेक प्रोसेसिङमा लाग्ने लागत वार्षिक रुपमा हेर्दा ७ सय २० रुपैयाँ हुन आउँछ। त्यसको समय समेत यस खातावालाको बचत हुने देखिन्छ। 

यसका अतिरिक्त आरटीजीएस शुल्क निःशुल्क हुन्छ। जसमा लाग्ने २ हजार ४ सय हाराहारीको शुल्क समेत मिनाहा हुनेछ। त्यस्तै आईपीएस तथा सीआईपीएस निःशुल्क हुन्छ। त्यसमा लाग्ने अनुमानित रकम ७ सय ८० रुपैयाँ समेत फाइदा हुनेछ। यति मात्रै नभई लकर सुविधा समेत दिनेछ। मिडियम आकारको लकर सुविधामा लाग्ने ५ हजार ९ सय ८५ रुपैयाँ समेत यस खाता प्रयोग गर्ने ग्राहकको बचत हुनेछ। 

बैंकले डिम्याट खाता निःशुल्क, मेरो सेयरमा लाग्ने शुल्क नलाग्ने, सेयरको पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्क नलिनेजस्तो सुविधा दिएको छ। एन आई सी एशियाको सहायक कम्पनी एन आई सी एशिया क्यापिटलमा लाग्ने शुल्कमा बैंकले छुट प्रदान गर्छ। जस्तो १० लाख पोर्टफोलियो छ भने त्यसको वार्षिक म्यानेजमेन्ट शुल्क ७ हजार ५ सय रुपैयाँ लाग्छ। त्यो सबै छुट एन आई सी एशिया बैंकले गुडविल एम्बेसडर खातामा प्रदान गर्छ।

विदेशी मुद्रा दस्तुरमा समेत छुट पाइनेछ। त्यस्तै यस खाता प्रयोग गर्ने ग्राहकले एटीएममा विशेष सुविधा पाउनेछन्। कुनै बैंकको एटीएम प्रयोग गर्दा समेत शुल्क लाग्नेछैन। समग्रमा डिजिटल बैंकिङमा नै यस खाता प्रयोग गर्नेकोे २६ हजार ६ सय ६४ रुपैयाँ बचत हुनेछ। 

यी सबै गरेर गुडविल एम्बेसडर खाता प्रयोग गर्ने अर्थात् एनआईसी एशिया बैंकमा न्यूनतम १ लाख राशीमा खाता खोलेमा र यही खाता प्रयोग गर्ने मनसाय बनाएमा कुल २४ वटा फइदा पाउनेछन्। यसबापत ग्राहकको कुल ३ लाख ३९ हजार रुपैयाँभन्दा बढी बचत हुने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .