ad ad

कारोबार


भारतबाट ल्याइएको रेल १५ महिनापछि बल्ल ‘ट्रायल’

भारतबाट ल्याइएको रेल १५ महिनापछि बल्ल ‘ट्रायल’

‘ट्रायल’का लागि शनिबार गुडाइएको रेल।


शैलेन्द्र महतो
पुस २४, २०७८ शनिबार १७:२३, जनकपुरधाम

भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनबाट २०७७ असोज २ मै खरिद गरी ल्याइएकाे रेल आज (शनिबार) बल्ल ‘ट्रायल’ गरिएको छ। 

८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरी धनुषाको इनर्वा स्टेसनमा १५ महिनादेखि थन्क्याइएकाे रेल सञ्चालनका लागि आज ट्रायल गरिएको हो। 

जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल्वे लिकमा रेल गुडाइएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। 

अब रेल कहिलेदेखि नियमित सञ्चालन गर्ने भन्ने मिति तय नभए पनि चाँडै गर्ने तयारी भइरहेको महाप्रबन्धक झाको भनाइ छ। 

‘कुन मितिबाट रेल चल्छ भन्ने ठ्याकै म अहिले भन्न सक्दिनँ। हामी छिट्टै रेल चलाउने तयारीमा छौं, त्यसैका लागि आज रेलको परीक्षण गरेका हौं,’ उनले सञ्चारकर्मीसँग भने, ‘चल्ने मिति राजनीतिक व्यक्तिहरूले तय गर्नु हुन्छ।’

रेल नियमित सञ्चालनको उद्घाटन नेपाल–भारत दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने तयारी भइरहेको जानकारी पनि महाप्रबन्धक झाले दिए।  

उनका अनुसार अहिले न्यूनतम आवश्यकताका आधारमा ६० जना कर्मचारी नियुक्त गरी रेल चलाउने तयारी छ।  

नियुक्त कर्मचारीका लागि सोमबारदेखि तालिम सञ्चालन गर्ने र त्यसपछि उनीहरूलाई काममा परिचालन गरिने उनले बताए। त्यसका लागि भारतीय पक्षबाट समेत २४ जनामध्ये १४ कर्मचारी आइसकेको उनले जानकारी दिए।  

उद्घाटनपछि सुरुमा दिनमा एकपटक आउजाउ गर्नेगरी रेल चलाउने तयारी भइरहेको र यसको १५ दिनपछि यात्रुको चाप र आवश्यकता हेरेर दैनिक २ देखि ३ पटकसम्म रेल चलाउन सकिने महाप्रबन्धक झाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .