ad ad

कारोबार


उमेर ६५, आरनबाट दिनकै २ हजारसम्म आम्दानी

उमेर ६५, आरनबाट दिनकै २ हजारसम्म आम्दानी

आरनमा काम गर्दै ६५ वर्षीय विष्णु लुहार (हतौडा चलाउँदै)। तस्बिर : गोकुल जोशी/नेपालखबर।


गोकुल जोशी
पुस २५, २०७८ आइतबार १०:३७, महेन्द्रनगर

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गछेउको सानो झुपडी। झुपडीभित्र असरल्ल छन्– फलामका टुक्रा।

थोत्रो प्लास्टिकमा कोइला पोको पारिएका छन्। र, कोइला पोल्न प्रयोग गरिने आरन र आरननजिकै घन र हतौडा छन्। तिनै घन र हतौडा खेलाइरहेका छन्– ६५ वर्षीय विष्णु लुहार।

उनले यो काम गर्न थालेको दशकौं भइसकेको छ। घरबाट बिहानै आरन आइपुग्ने उनी राति मात्रै फर्किन्छन्। आरनमा उनलाई काम भ्याइनभ्याइ छ।

यही पेसाबाट उनले परिवारको खर्च धानेका छन्। छोरा–बुहारी, नाति–नातिनासहित विष्णुको परिवारमा १० जना छन्। 

‘आरन चलाएर परिवार पालेको छु। छोराछोरी नाति–नातिनालाई शिक्षादीक्षा दिन सकिएको छ’, विष्णुले नेपालखबसँग भने, ‘घरखर्च पनि राम्रै चलेको छ।’

उनले आरन काम गर्न थालेको ५४ वर्षभन्दा बढी भइसकेको छ। उनका बुबा पनि आरनकै काम गर्थे। सानै हुँदा बुबासँगै आरनमा खेल्दाखेल्दै उनले काम सिकेका हुन्। अहिले त्यही सीपले परिवार सुखका साथ पालिरहेका छन्।

विष्णुका बुबा २०२४ सालमा दार्चुलाको बचालबाट तराई बसाइँ सरेका थिए। बलाचमा आरन चलाउने उनीहरूले तराई (वनगाउँ) मा पनि त्यही काम थाले।

बुबालाई आरनमा सघाउने विष्णुले पहाडमै काम सिकिरहेका थिए। तराईमा बुबासँग आरनमा बस्दा उनी झनै सिपालु भए। 

यहीबीच विष्णुले बुबा गुमाए। र, सानै उमेरमा परिवार पाल्ने जिम्मेवारी आइलाग्यो। 

त्यसका लागि उनले पनि आरनलाई नै निरन्तरता दिए। 

‘अरू काम गर्न पढाइ थिएन। कि त भारत नै जानुपर्थ्याे। तर म भारत गएन’, उनले सुनाए, ‘बुवाको कामलाई नै निरन्तरता दिएँ। काम गर्दै जाँदा कृषकहरूले पनि काम मन पराए।’

बुबासँग आरनमा लडिबुडी खेल्दै सिकेको सीपले परिवारको घरखर्च जुटाउने कडी बन्यो। त्यसैले उनले जीविकोपार्जनका लागि अन्य विकल्प खोज्नुपरेन। उनीसँगैका साथीहरू रोजगारीका लागि अहिले भारतमा छन्। विष्णु भने स्वदेशमै पौरख गरिरहेका छन्।

‘भारतमा गएर मैले पनि १३ दिन काम गरेँ। तर मलाई अर्काको मुलुकमा काम गर्न मन परेन’, उनी सुनाउँछन्,  ‘त्यसैले अहिले पनि आफ्नो सीपको उपयोग गरेर स्वदेशमै मेहनत गरिरहेको छु।’

उनले फलाम पिटेकै भरमा नाति, नातिनाहरूलाई समेत बोर्डिङ स्कुलमा पढाउन सकेका छन्। भोलिका दिनमा आफ्ना सन्ततिले राम्रो पढेर डाक्टर, इन्जिनियर बनेको हेर्ने चाहना उनको छ। 

आरनबाट हुने कमाइमा उनी सन्तुष्ट छन्। 

‘कहिले दिनमा १/२ हजार, कहिले ५/६ सय कमाइ हुन्छ। कृषकहरूले कामप्रति खुसी भएर पैसा दिएर जान्छन्’, उनले भने। 

विष्णुले छोराहरूलाई भने अन्य रोजगारीमा लगाएका छन्।

उनले एक छोराका लागि अटो किनिदिएका छन् भने अर्का छोरालाई खेतीपातीको काममा लगाएका छन्। विष्णु कृषक वर्गलाई चाहिने कुटो, कोदालो, हँसिया, बञ्चरोलगायत हातहतियार बनाउने गर्छन्। 

आरनमा कामका लागि महेन्द्रनगर आसपासका साथै भारतको बनबासा, टनकपुर, नानकमातादेखि मानिस आउने गरेको विष्णु सुनाउँछन्।

काममा मेहेनत गरेका कारण सबैलाई सन्तुष्ट बनाउन सकेको उनको दाबी छ। 

‘टाढा टाढाबाट विश्वास गरेर मेरामा काम लिएर आउनुहुन्छ’, उनले भने, ‘आउने ग्राहकलाई खुसी बनाएका कारण ज्यालाभन्दा बढी पैसा दिएर जानुहुन्छ।’

जनशक्ति नहुँदा एक्लैले काम गर्न नसकेको उनको भनाइ छ। 

‘धेरै काम आइरहेको छ। तर एक्लै हुँदा सबैको काम भ्याउन गाह्रो भइरहेको छ’, उनले भने, ‘जनशक्ति नहुँदा आफूसँग भएको पूरा सीप देखाउन सकिएको छैन।’

अहिले उनले आरनमा एक जना सहयोगी राखेका छन्। अहिलेको पुस्ता आरन पेसाबाट विमुख भएको विष्णु बताउँछन्। 

‘आरन चलाउन अहिलेको पुस्ता अप्ठ्यारो मान्छन्। उहाँहरूले यो कामलाई बुझ्न सकेका छैनन्’, उनी भन्छन्, ‘बरु कामको खोजीमा विदेश जान्छन्। सानै भए पनि स्वदेशमै काम गर्नु उत्तम छ।’

विदेश पलायन भइरहेका युवालाई आरनसम्बन्धी तालिम दिएर स्वदेशमै रोजगारी दिने चाहना रहेको उनी बताउँछन्। 

‘हामीसँग धेरै काम छ। स्वदेशमा काम नपाएर युवाहरू विदेश गइरहेका छन्’, उनले भने, ‘सरकारले सहयोग गरेमा उहाँहरूलाई सीप सिकाएर स्वदेशमै रोजगारी दिन सकिन्छ।’

वनगाउँमा आरन चलाउने विष्णु २०६२ सालतिर राजमार्गको छेउमा झुप्रोमा सरेका थिए। तर सडक विभागले बारम्बार आफ्नो झुप्रो भत्काउने गरेको उनको गुनासो छ। 

‘आरन चलाउनका ठाउँ छैन। सडकको झुप्रो सडक विभागले पटकपटक हटाउँछ’, उनले भने, ‘सरकारले सबैलाई पायक पर्ने ठाउँ उपलब्ध गराइदिए बरु हामी शुल्क तिर्न तयार छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .