कारोबार


सुपारी आयात खुलाउने निर्णय हुँदै, कति परिमाणमा गरिँदै छ वितरण?

सुपारी आयात खुलाउने निर्णय हुँदै, कति परिमाणमा गरिँदै छ वितरण?

दीपक भट्ट
माघ १०, २०७८ सोमबार १५:२७, काठमाडौँ

सुपारी आयात खुलाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पुगेको छ। 

दुई वर्ष अघिदेखि परिमाणात्मक रुपमा खुल्ला हुँदै आएको सुपारी आयात यो वर्षको लागि कोटा वितरणको तयारी भएको हो। 

आर्थिक वर्ष २०७६÷०७७ देखि सुपारी, मरिच, केराउ, छोकडालगायतका वस्तुमा परिमाणात्मक बन्देज लगाइँदै आएको छ। 

सुपारी आयातका लागि कार्यविधि बनेर मन्त्रिपरिषद्को बैठकमा पेश भएकोले निर्णय हुन मात्रै बाँकी रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। 

सम्भवतः आजको मन्त्रिपरिषद्को बैठकले नै सो निर्णय गर्ने आपूर्ति मन्त्रालयका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए। 

उनले भने, ‘मन्त्रिपरिषद्मा प्रस्ताव पुगेको केही हप्ता बितिसकेको छ। सायद आज अर्थात् सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले परिमाणात्मक रुपमा आयात खुल्ला गर्ने सम्भावना छ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अगुवाइमा उद्योग विभागसँगको परामर्शमा कुन रुपमा आयात खुलाउने भन्ने कार्यविधि बनेको छ। सोही कार्यविधिअनुसार मन्त्रिपरिषद्को बैठकले आज निर्णय गर्न लागेको हो। 

के छ कार्यविधिमा ?
कार्यविधिअनुसार नेपालमा सुपारीलाई कच्चा पदार्थको रुपमा  प्रयोग गर्ने उद्योगलाई मात्रै सुपारी आयात गर्न दिइनेछ। योभन्दा अघि व्यापारिक कम्पनीहरुलाई समेत आयात गर्न दिइएकोमा यो पटक भने कच्चा पदार्थको रुपमा मात्रै सुपारी आयात गर्न दिइने कार्यविधिमा उल्लेख छ।

विशेष गरी गुट्खा उद्योगहरु कच्चा पदार्थको रुपमा सुपारीलाई प्रयोग गर्दै आइरहेकोले यी उद्योगहरुलाई सुपारी आयात गर्न दिने सरकारको तयारी छ। 

कार्यविधिले सुपारी मात्रै नभई मरिच, छोकडा, केराउ समेत आयात गर्न दिइने र सो समेत कच्चा पदार्थको रुपमा आयात गर्न दिइने बताएको छ। हरेक वस्तु आयातको कोटा वितरण गर्न सो उद्योगको क्षमता समेत हेरिने कार्यविधिमा उल्लेख गरिएको छ। 

तर सरकारले अहिले नै सबै वस्तु एक पटक खुल्ला नगर्ने र हाललाई सुपारी मात्रै आयात खुलाउने र पछि अन्य वस्तु समेत विस्तारै खुल्ला गर्ने तयारी छ। 

पछिल्लो समय विदेशी मुद्रा सञ्चिति घटिरेहेकोले यस्ता वस्तु सकेसम्म आयात गर्न नदिने सरकारको नीति सरकारले लिएको छ। तर उद्योगी व्यापारीको दबाबको कारण आयात खुलाउनुपरेको आपूर्ति मन्त्रालयका ती अधिकारीले बताए।

कति उद्योगलाई कति परिमाण वितरण हुँदै छ?
तत्कालको लागि २५ हजार मेट्रिक टन आयात खुलाउने तयारी भएको छ। नेपालमा गुट्खा उद्योगहरु २८ वटा छन्। तर २५ हजार मेट्रिक टन नै आयात गरेर खपत गर्ने किसिमका उद्योगहरु नरहेको उद्योग विभागको तथ्याङ्कले बताएको छ। 

नेपालमा समेत उत्पादन हुने सुपारी सो उद्योगीहरुले खरिद गरेर हाल प्रयोग गर्न थालिसकेको र धेरै उद्योगहरु सानो क्षमता रहेकोले २५ हजार मेट्रिकटन खपत नहुने देखिएको हो। तर उद्योगहरुले खरिद गरेर ट्रेडिङ कमपनीलाई बिक्री गर्ने आश्वासन समेत अहिले केही उद्योगहरुले दिँदै हिँडिरहेको एक व्यापारी बताउँछन्। 

उनले भने, ‘हामीलाई उद्योगीहरुले पछि दिने आश्वासन दिइरहेका छन् तर त्यो सम्भव छैन। किन कि सरकारले अनुगमन गरेको खण्डमा त्यो एक छल रहेको पुष्टि हुन्छ। त्यसकारण २५ हजार मेट्रिक टनकै परिमाणमा खुलाउने हो भने ट्रेडिङ कम्पनीलाई अनिवार्य रुपमा दिइनुपर्दछ।’

कहाँबाट आउँछन् सुपारी?
नेपालमा थाइल्याण्ड, भियतनाम, मलेसिया, तान्जानियालगायतका देशबाट सुपारी आयात हुने गर्छ। ती देशबाट आयात गर्दा अहिलेको बजारमा मूल्यमा नेपाल आइपुग्दा प्रतिकेजी १ सय ५० रुपैयाँ पुग्ने अनुमान व्यापारीहरुको छ। 

नेपालका व्यापारीहरु तेस्रो मुलुकबाट सुपारी आयात गर्न लालायित हुने गरेका छन्। यसको कारण भारत निर्यात नै देखिएको छ। अघिल्ला वर्षमा समेत आयात भएको अधिकांश सुपारी भारततर्फ निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। 

भारतले तेस्रो मुलुकबाट सुपारी आयात गर्न रोक लगाएको छ। जसकारण भारतमा बिक्री गर्नको लागि नेपाली व्यापारीहरु सुपारीमा आकर्षित हुने गरेका छन्। 

अघिल्लो वर्ष समेत वाणिज्य विभागले वितरण गरेको कोटाभन्दा झण्डै ३ गुणा बढी आयात गर्न व्यापारीहरुको आवेदन परेको थियो। 

अघिल्लो वर्ष पनि सरकारले २५ हजार मेट्रिक टन नै सुपारी आयात गर्न अनुमति दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .