कारोबार


बहुप्रतिक्षित जनकपुर–जयनगर रेल उद्घाटन आज

पहिलो दिन निःशुल्क यात्रा गर्न पाइने
बहुप्रतिक्षित जनकपुर–जयनगर रेल उद्घाटन आज

रेल उद्घाटनका लागि बनाइएको पोस्टर


शैलेन्द्र महतो
चैत १९, २०७८ शनिबार ७:५८, जनकपुरधाम

बहुप्रतिक्षित जनकपुर–जयनगर रेल सेवा आज (शनिबार) देखि नियमित सञ्चालन हुने भएको छ। 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका समकक्षी नरेन्द्र मोदीले आज भारतको नयाँ दिल्ली स्थित हैदराबाद भवनबाट संयुक्त रुपमा रेलको भर्चुअल उदघाटन गर्ने भएका हुन्। 

दिउँसो १२ बजेर २० मिनेटमा संयुक्त रुपमा झण्डा हल्लाएर र बटन थिचेर रेल सेवाको समुदघाटन गर्ने कार्यक्रम रहेको नेपाल रेल्वे कम्पनकीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। 

रेल उद्घाटनका लागि जयनगर स्टेसन र जनकपुरधाम रेल्वे स्टेसन सजाइएको छ। दुवै स्टेसनमा भर्चुअल विधिबाट हुने उद्घाटन हेर्न प्रोजेक्टर जडान गरिएको छ। जनकपुरधाम स्टेसनमा मञ्च बनाइएको छ।

 

उदघाटनका लागि सम्पूर्ण तयारी पूरा भएको महाप्रबन्धक झाले बताए।

उनका अनुसार उदघाटनका बेला जयनगर रेल्वे स्टेसनमा नेपाल र भारतका विद्यार्थी दुवै देशका झण्डासहित उभिनेछन्।  प्रधानमन्त्रीद्वयले झण्डा हल्लाएपछि रेल गुड्नेछ। विद्यार्थीले पनि झण्डा हल्लाउने छन्। जयनगरबाट जनकपुरका लागि रेल गुड्ने छ। यो रेल प्रत्येक स्टेसनमा रोकिँदै आउने छ। 

सो अवसरमा जनकपुर रेल्वे स्टेसनमा विशेष कार्यक्रम राखिएको छ। कार्यक्रमलाई लक्ष्य गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव पनि जनकपुर आएकी छन्। जनकपुर रेल्वे स्टेसनमा रेल आएपछि मन्त्री यादव त्यसमा चढेर कुर्था स्टेसनसम्म पुग्ने छिन्।

फर्किने बेला जनकपुर रेल्व स्टेसनमा आएर एकछिन रोकिने छ।  त्यहाँ केही बेरको कार्यक्रमपश्चात् रेल जयनगर फर्किने छ।

उदघाटनका अवसरमा आज यात्रुले निःशुल्क रेल चढेर यात्रा गर्न  पाउने महाप्रबन्धक झाले बताए। उदघाटन पश्चात् जनकपुरधामको कुर्था स्टेसनदेखि भारत बिहारको जयनगरसम्म तत्काल ३५ किलोमिटर नेपाल रेलले यात्रुलाई सेवा प्रदान गर्ने छ।

जनकपुरदेखि जयनगरसम्मको भाडा प्रतिव्यक्ति समान्य सिटमा रु ९० निर्धारण गरिएको छ। एसीकोचतर्फ ३ सय ७० कायम गरिएको छ। लामो समयपछि रेल चल्ने भएपछि स्थानीय खुसी भएका छन्। यसले जनकपुरधामको व्यापार व्यवसाय फस्टाउनाका साथै पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ।

रेल चलाउन २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन्। पहिलो चरणमा अहिले ५९ नेपाली कर्मचारी राखिएको महाप्रबन्धक झाले बताए।

भारतीय रेल्वे कम्पनी कोंकणबाट दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको थियो।

२०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। 

२०७७ असोज २ गते नेपाल भित्र्याइएका दुई सेट रेल सञ्चालन नहुँदा लामो समयसम्म इनर्वा  स्टेसनमा त्रिपालले छोपेर थन्क्याइएको थियो।  

उद्घाटन नहुँदा जनकपुर जयनगर रेल फागुन महिनाभर दिनमा एकपटक यात्रु बिनै जनकपुरबाट जयनगर ‘ड्रायरन’ गरेको थियो।

चल्ने निश्चित नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर यात्रुबिना जनकपुरधामको कुर्थादेखि जयनगरसम्म रेल चलाउने गरिएको छ। 

रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन। केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन्।

रेल सेवा उद्घाटनका लागि जनकपुर स्टेसनमा गरिएको साजसज्जाका केही तस्बिर–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .