कारोबार


पहिलो महिला डेपुटी गभर्नर थिइन्, राष्ट्र बैंकको कार्यवाहक गभर्नर बनिन्

पहिलो महिला डेपुटी गभर्नर थिइन्, राष्ट्र बैंकको कार्यवाहक गभर्नर बनिन्

फाइल फोटो


दीपक भट्ट
चैत २५, २०७८ शुक्रबार २१:३१, काठमाडौँ

सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। देश आर्थिक संकटतिर गइरहेका बेला अर्थमन्त्री जनार्दन शर्मासँग विवाद बढेपछि सरकारले अधिकारीलाई शुक्रबार निलम्बन गरेको हो। 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका अधिकारी निलम्बित भएसँगै डेपुटी गभर्नर नीलम ढुंगानाले कार्यवाहकको जिम्मेवारी पाएकी छन्।

उनी गत वर्ष नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर बनेकी थिइन्। तत्कालीन ओली सरकारले नै उनलाई उक्त जिम्मेवारीमा ल्याएको थियो। 

ढुंगाना २०५४ सालमा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेकी हुन्। सहायक निर्देशक पदबाट प्रवेश गरेकी उनी डेपुटी गभर्नर हुनुअघि कार्यकारी निर्देशक थिइन्। उनी अहिलेसम्म कुनै पनि परीक्षामा असफल नभएको बताउँछिन्।

‘पहिलो पटक नै परीक्षामा उत्तीर्ण भएर राष्ट्र बैंकमा प्रवेश गरेँ,’ उनी भन्छिन्, ‘त्यसपछिका सबै परीक्षामा एकै पटकमा पास हुँदै आएकी छु। मैले २०५४ सालदेखि असफल हुनु परेको छैन।’

हालसम्म उनले सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेकी थिइन्। राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक थिए। 

देवकुमार ढकाल र गुणाकर भट्टपछि उनी तेस्रो वरीयतामा थिइन्।

कार्यकारी निर्देशकभन्दा माथि डेपुटी गभर्नर र गभर्नर रहन्छन्। यी दुई पदमा राजनीतिक नियुक्ति हुने व्यवस्था छ। यो प्रतिस्पर्धा जितेकी उनले अहिले गभर्नरको जिम्मेवारी पाएकी हुन्।

हरेक परीक्षामा अब्बल रहँदै आएकी ढुंगाना राजनीतिक नियुक्तिमा पनि अगाडि देखिन पुगिन्।

‘यसमा पनि म आफूलाई भाग्यमानी ठान्छु। कुनै परीक्षा र आफ्नो योग्यता जाँच हुँदा पछि परेकी थिइनँ। अहिले राजनीतिक नियुक्तिमा पनि परेकी छु,’ उनले खुसी हुँदै भनिन्।

को हुन् ढुंगाना?
ढुंगानाको जन्म २०२५ सालमा झापामा भएको हो। स्कुले शिक्षापछि उनले कमर्स अध्ययन गरिन्। पढाईमा तेज उनले दमक क्याम्पसमा आईकम टप गरेकी थिइन्।​

आईकमपछि विवाह गरेकी उनले पढाइलाई निरन्तरता दिइन्। स्नातकोत्तरमा उनले त्रिभुवन विश्वविद्यालयमा महिलातर्फ स्वर्ण पदक जितेकी छन्। त्यसपछि केही समय उनी अध्यापनमा लागेकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .