ad ad

कारोबार


६ महानगरपालिकाले ल्याए ५३ अर्ब २२ करोड बजेट, कुनको कस्तो?

६ महानगरपालिकाले ल्याए ५३ अर्ब २२ करोड बजेट, कुनको कस्तो?

दीपक भट्ट
असार १०, २०७९ शुक्रबार २१:६, काठमाडौँ

देशैभरका छवटा महानगरपालिकाले आगामी आवको लागि कुल ५३ अर्ब २२ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेका छन्। 
महानगरहरुले स्थानीय  सरकार सञ्चालन ऐन २०७४ अनुसार आगामी आर्थिक वर्षका लागि तय हुने बजेट कार्यक्रम ल्याएका हुन्। 

स्थानीय तहका उपाध्यक्ष, उप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले वर्षको राजस्व र ब्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेश गरिसक्नुपर्ने व्यवस्था ऐनमा उल्लेख छ।

यो वर्ष नयाँ पदाधिकारीहरु चयन भएर आएकाले २ महिनासम्म बजेट पेश गर्ने र पास गर्ने समय थप हुने ऐनमा उल्लेख छ। 

ऐनको दफा ७१ उपदफा १ मा बजेट कार्यक्रमसम्बन्धी विषय उल्लेख छ। बजेट कार्यक्रम कसरी तय गर्ने, कसले सार्वजनिक गर्ने र कसरी पास गर्ने भन्ने व्यवस्था व्यवस्था ऐनमा उल्लेख गरिएको छ।

वार्षिक राजस्व र व्ययमा गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरणका साथै चालु आर्थिक वर्षको अन्तिमसम्म हुने आम्दानी र खर्चको संशोधित अनुमान पेश गर्नुपर्ने हुन्छ। जसमा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आय–व्ययको अनुमानित विवरण खुलाउनुपर्ने ऐनमा उल्लेख छ। 

सोही ऐनअनुसार आज ६ वटै महानगरपालिकाले बजेट कार्यक्रम सार्वजनिक गरेका छन्। कुन महानगरले कस्तो क्षेत्रमा कति विनियोजन गरे त? 

काठमाडौं महानगरपालिका : २५ अर्ब ४१ करोड ९६ लाख
काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको छ। महानगरकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको लागि साढे ६ अर्ब रुपैयाँ बढीको बजेट ल्याएकी हुन्। काठमाडौं महानगरले ल्याएको बजेटमध्ये २२ अर्ब ३६ करोड महानगरको सञ्चिति र संघीय र प्रदेश सरकारबाट हुने ३ अर्ब ५ करोड प्राप्त हुने अनुमान गरिएको छ।  विनियोजित रकममध्ये आर्थिक विकास क्षेत्रका लागि ५० करोड २१ लाख बजेट विनियोजन गरेको छ। 

महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि ४ अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ। कुल बजेटको २० दशमलव९६ प्रतिशत रहेको छ। पूर्वाधार विकासको लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ। कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत हो। सामाजिक विकास क्षेत्रको लागि १ अर्ब ६२ करोड अर्थात ७ दशमलव २५ प्रतिशत रहेको छ। सुशासन तथा अन्तर्सम्बन्धको लागि ४ अर्ब ४६ करोड अर्थात् १९ दशमलव ९६ प्रतिशत हुन आउँछ।

खर्च रकमको स्रोतको लागि महानगरले काठमाडौं महानगरपालिकाले २२ अर्ब ३६ करोड रुपैयाँ सञ्चिति र राजस्व गरेर जुटाउनेछ।  

वीरगन्ज महानगरपालिका : ३ अर्ब ३३ करोड
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि ३ अर्ब ३३ करोडको बजेट विनियोजन गरेको छ। नगरसभाको ११औँ अधिवेशनमा उपप्रमुख इम्तियाज आलमले चालूतर्फ २ अर्ब ६ करोड र पुँजीगततर्फ १ अर्ब २६ करोड रहेको छ। आगामी आर्थिक वर्षको लागि महानगरले आन्तरिक आयबाट ९५ करोड, संघीय सरकारबाट प्राप्त हुने १ अर्ब ७० करोड र मधेश सरकारबाट प्राप्त हुने ७ कारोड ९८ लाख मुख्य स्रोतको रुपमा रहेका छन्। 

महानगरले शिक्षा, युवा तथा खेलकुदसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ६६ करोड ३८ लाख, स्वास्थ्यतर्फ १ करोड २० लाख, कृषितर्फ ३ करोड २६ लाख, पूर्वाधारतर्फ १ अर्ब १९ करोड र सामाजिक विकासतर्फ ९९ करोड बजेट विनियोजन गरिएको थियो। सूचना प्रविधि र सञ्चारतर्फ १ करोड, सेवा प्रवाह संगठन सुदृढीकरणतर्फ ९३ करोड, सरसफाइ व्यवस्थापनमा ८ करोड, वन तथा वातावरण क्षेत्रमा ५ करोड र आर्थिक विकासका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

महानगरले चालू आर्थिक वर्षमा तीन अर्ब ५५ करोड रुपैयाँको बजेट ल्याएको थियो। महानगरले करको दर नबढाई दायरा बढाउने भएको छ। महानगरले व्यवसाय दर्ता नगरेका र घर  तथा भवन भाडामा लगाई घर बहाल कर नतिरेकाहरुले पुस मसान्तभित्र व्यवसाय दर्ता गराएर छुट दिने भएको छ। महानगरले फोहोर व्यवस्थापनको जिम्मा वडालाई दिने भएको छ। व्यावसायिक सहरको रुपमा रहेको वीरगन्ज महानगरलाई ट्रान्सपोर्ट नगरको रुपमा स्थापना गर्ने भएको छ। व्यवस्थित गोदाम, पार्किङ गरिएको छ। वीरगञ्जमा चक्रपथको निर्माण गरी महानगरको ३२ वटै वडालाई सडक सञ्जालसँग जोड्ने भएको छ।

भरतपुर महानगरपालिका : ५ अर्ब ७४ करोड ४२ लाख
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि कुल बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको आएको छ। आज नगर सभामा उपमेयर चित्रसेन अधिकारीले बजेट पेश गरेका हुन्। नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि आव २०७९÷८० को कुल व्यय ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रहेको उनले जानकारी दिए। उक्त बजेटको स्रोत महानगरले आन्तरिक आय १ अर्व ५० करोड (घरजग्गा रजिष्ट्रेसन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँटबाट प्राप्त आय समेत) बाट जुटाउने उल्लेख गरेको छ। 

अन्तर्सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट ४ करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट ५ करोड रहने प्रक्षेपण गरिएको छ। अन्तर्सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ४० करोड रहने प्रक्षेपण गरिएको छ। यसलाई अन्तर्सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखांकनको व्यवस्था गरिने बजेट भाषणमा उल्लेख छ।

विराटनगर महानगरपालिका : तीन अर्ब ६२ करोड
विराटनगर महानगरपालिका  आगामी आर्थिक वर्षमा कुल तीन अर्ब ६२ करोड ५५ लाख रुपैंयाको बजेट विनियोजन गरेको छ। व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ एक अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ सात करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ तीन करोड ६० लाख खर्च हुने बजेटमा अनुमान गरिएको छ।
    
महानगर उपप्रमुख शिल्पा निराला कार्कीले वाचन गरेको बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा वडास्तरीय आयोजनामा ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत योजनाको भुक्तानीका लागि ४० करोड, आरयुडिपीबाट निर्माण भएकालगायतका कालोपत्र सडकसमेत गरी मर्मतसम्भारमा १४ करेड, अन्य पूर्वाधारतर्फ नौ करोड ८० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि दुई करोड ५० लाख र समपूरक कोषमा चार करोड ८० लाख विनियोजन गरिएको छ। 

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकारतर्फ चार करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँट एक अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय एक अर्ब, जनसहभागिता रु आठ करोड, अन्य अनुदान तथा ऋण १० करोड १९ लाख र अन्य सङ्घसंस्था तीन करोड ६० लाख हुने बजेटमा अनुमान गरिएको छ।

ललितपुर महानगरपालिका : ६ अर्ब ३५ करोड ३५ लाख
ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ। आज सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट भाष्णमा उनले झण्डै साढे ६ अर्ब बराबरको कार्यक्रम् कार्यनवयन गर्ने उल्लेख छ। 

ललितपुर महानगरले कल सेन्टर चलाउने महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तीमा २ वर्षसम्म खन्न स्वीकृति नदिने, उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेकाबाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने जस्ता कार्यक्रमहरु बजेटमा समावेश गरेको छ। 

पोखरा महानगरपालिका : ८ अर्ब ७७ करोड ७५ लाख
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।  
आर्थिक वर्ष २०७९।०८० का लागि बजेट सार्वजनिक गरेको बजेट गत आर्थिक वर्ष भन्दा ब चालु आर्थिक वर्षमा भन्दा बढाएको छ। चालू आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो।

बजेट कार्यक्रम कार्यान्वयनको लागि बजेट स्रोतमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने बजेट वक्तव्यमा उल्लेख छ। बाँकी  २ अर्ब ४० करोड ८१ लाख ८३ हजार चालू आर्थिक वर्षको मौज्दानबाट खर्च गर्ने बजेटमा बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .