ad ad

कारोबार


हैजाको त्रास : काठमाडौंमा जार र बोटलको पानी कति सुरक्षित?

विभाग भन्छ : शंका लागे उमालेर पिउनुस्
हैजाको त्रास : काठमाडौंमा जार र बोटलको पानी कति सुरक्षित?

वसन्त अर्याल
असार १५, २०७९ बुधबार १९:१२, काठमाडौँ

काठमाडौं उपत्यकामा हैजा फैलिन थालेपछि यहाँ मानिसहरुले पिउने पानीको गुणस्तरमा प्रश्न उठेको छ। 

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागमातहत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंमा मंगलबार मात्रै दुई जना हैजाका बिरामी थपिएका छन्। योसँगै काठमाडौंमा हैजा देखिएका बिरामीको संख्या १४ पुगेको छ। 

हैजा खासगरी दूषित पानी, फोहोरमैलालगायतका कारणबाट फैलिने भएकाले काठमाडौंबासीले पिइरहेको पानीलाई लिएर चिन्ता बढेको हो। 

यहाँका धारामा आउने पानी कस्तो हो, ट्यांकरबाट कस्तो पानी आउँछ, शुद्ध भनेर विश्वास गरिएका जार र बोटलको पानी पिउनयोग्य छ कि छैनजस्ता धेरै प्रश्नहरु थपिँदै गरेको हैजाका बिरामीको संख्याले उब्जाएको हो। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले काठमाडौंका अधिकांश घरमा पानी पु¥याउँछ। त्यसबाहेक निजी कम्पनीहरुले ट्यांकरको माध्यमबाट घर–घरमा पानी पु¥याएका हुन्छन्। काठमाडौंमा खपत हुने पानीमा जार र बोटलको पानीले पनि उत्तिकै हिस्सा लिएको छ।

केयूकेएलले बिक्रीवितरण गर्ने पानी र निजी क्षेत्रले ट्यांकरबाट घर–घरमा पुर्याउने पानीको गुणस्तर काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले हेर्दै आएको छ। 

‘कुनै पनि पानी नउमाली पिउनयोग्य छैन’
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका वरिष्ठ प्रशासनिक अधिकारी उदय कुमार केसीले वर्षातको समयमा कुनै पनि पानी नउमाली पिउने अवस्था नरहेको बताए। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न खोला, बोरिङको पानी पाइपलाइनसँगै ट्यांकरबाट समेत पानी वितरण गर्छ। निजी क्षेत्रले विभिन्न ठाउँबाट पानी संकलन गरी ट्यांकरबाट आवास, होटल तथा कार्यालयमा पुर्याउँछन्। 

‘केयूकेएलबाट वितरण हुने पानी खानको लागि योग्य हो तर हाम्रा मुहानहरु खुल्ला रहेकाले नउमाली खानुहुँदैन’, केसीले नेपालखबरसँग भने, ‘केयूकेएलले ट्यांकरबाट ३ किसिमको पानी वितरण गर्छ। हरियो स्टिकरको लागि खानेपानी, निलो स्टिकरको घरायसी प्रयोजनको लागि र पँहेलो स्टिकरको अन्य पानी वितरण गर्छ।’

बोर्डले वर्षातको समयमा पाइपलाइनबाट घरमा आउने पानी दूषित हुनसक्ने बताएको छ। सबै पानीका मुहान खुल्ला, ढलका पाइप र खानेपानीका पाइप एकै ठाउँबाट लैजाँदा पानी दूषित हुने उच्च जोखिम रहेको केसीले बताए। 

उनले निजी क्षेत्रले २ वटा स्टिकरको पानी वितरण गरिरहेको जानकारी दिए। हरियो स्टिकरको पानी पिउनको लागि र पहेँलो अन्य प्रयोजनको लागि हुने उनको भनाइ छ।

‘ट्यांकरको हरियो स्टिकरको पानीको गुणस्तर बोर्डले गर्छ। तर एकै पटक सबै ठाउँको पानी टेष्ट गर्न सक्दैन’, केसीको स्वीकारोक्ति छ, ‘त्यसैले हामी ट्यांकरको पानी उमालेर मात्रै खान सुझाव दिन्छौँ।’

उनले अहिले सबै ठाउँमा बोर्डले पानीको गुणस्तर चेकजाँच गरिरहेको जानकारी दिए। 

‘जार र बोटलको पानीमा हैजाका जीवाणु भेटिएका छैनन्’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वर्षायाममा झाडापखाला लगायत विभिन्न रोगका हानिकारक सूक्ष्म जीवाणुहरुको संक्रमण बढ्ने र संक्रमित पानीको प्रयोगबाट रोगको संक्रमण हुने सम्भावना भएको हुँदा स्वच्छ तथा सफा पानीको प्रयोग गर्न आग्रह गरेको छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जार र बोटलको पानीमा हैजाका जीवाणु नभेटिएको बताए। 
‘केही ठाउँमा जारको पानीमा हैजाका जीवाणु भेटिए भन्ने समाचार आइरहेका छन्, त्यो सत्य होइन’, प्रवक्ता महर्जनले भने, ‘जार र बोटलका पानीको गुणस्तर परीक्षण गर्ने आधिकारिक निकाय हामी हौँ। अहिलेसम्म भेटिएको छैन।’

उनले पानी उद्योगले हरेक चौमासिकमा पानी परीक्षण गरेको रिपोर्ट विभागमा बुझाउनुपर्ने व्यवस्था भएको र सोहीअनुसार विभागले रिपोर्टको पुनः परीक्षण गरिरहेको बताए। 

विभागले अनुगमन गर्दा गुणस्तर नभएको पानी भेटे पनि त्यहाँ हैजाको जीवाणु भएको पानी नभेटिएको उनले जानकारी दिए। 

‘हामीले ३१८ वटा जारको पानी परीक्षण गर्दा हैजाका जीवाणु भेटिएको छैन’, उनले भने, ‘तर रिपोर्टमा नदेखिए पनि महामारी जोखिमको बेलामा सरसफाइ एकदमै महत्वपूर्ण हुन्छ।’

उनले गर्मी र वर्षातको समयमा जीवाणु छिटो फैलिने हुँदा सर्वसाधारण बढी सजग हुनुपर्ने बताए। 

‘जारको पानी खानु राम्रो होला तर बिर्को खोलिसकेपछि त्यसै राखेको हुनसक्छ। त्यस्तो समयमा क्रस–कन्टामिनेसन (अन्य ठाउँबाट सर्नसक्ने) हुनसक्छ’, उनले थपे, ‘हामीलाई पानी स्वच्छ छैन भन्ने लाग्यो भने उमालेर खाँदा राम्रो हुन्छ।’ 

‘लेबल भएका पानी मात्र खरिद गरौँ’
विभागले जार र बोटलको पानी खरिद गर्दा उत्पादनको लेबल भएका पानी मात्रै खरिद गर्न आग्रह गरेको छ। जार अथवा बोटलको पानीमा लगाइएको बिर्को राम्रोसँग लगाए–नलगाएको हेर्न उपभोक्तालाई विभागको आग्रह छ। अरु समयभन्दा अहिले सर्वसाधारणलाई बढी ध्यान दिन पनि विभागले आग्रह गरेको छ। 

प्रशोधित पिउने पानीको बोटल र जारको लेबलमा डीएफटीक्यूसी नम्बर (खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दिएको नम्बर) उल्लेख हुने तथा बिक्री सिलबन्दी भए–नभएको हुने हुँदा सुनिश्चित गरेर मात्रै प्रशोधित पिउने पानी उपभोग गर्न महर्जनले आग्रह गरे। 

विभागले अनुमति नलिई उत्पादन बिक्रीवितरण गरेको जानकारी भएमा विभाग तथा मातहतका कार्यालयमा सूचना उपलब्ध गराउन समेत आग्रह गरेको छ।

प्रशोधित पिउने पानी बोटल/जार उत्पादन तथा बिक्रीवितरण गर्न प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानहरु पूरा गरी खाद्य प्रविधि तथा गुण अनुज्ञापत्र लिई नवीकरण अद्यावधिक गराई मात्र उत्पादन तथा बिक्रीवितरण गर्न प्रशोधित पिउने पानी उद्योगीलाई विभागले आग्रह गरेको छ। 

विभागले निर्देशिका २०७४ बमोजिम उत्पादन तथा बिक्रीवितरण नगरे कारबाही हुने उल्लेख गरेको छ। 

त्यस्तै विभागले सडक छेउछाउ बिक्रीवितरण हुने खाद्यपदार्थ बिक्रीवितरणमा पनि रोक लगाएको छ। वर्षायाम तथा गर्मी मौसममा विभिन्न रोगका हानिकारक सूक्ष्म जीवाणुहरुको संक्रमण बढ्ने सम्भावना भएको हुँदा सडक छेउछाउमा खुल्लारुपमा तयारी एवं बिक्रीवितरण हुने खाद्य पदार्थहरुको कारण मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नसक्ने जनाएको छ। 

खाद्यपदार्थ बिक्रेताले बिक्री स्थल तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन र स्वच्छ पिउने पानी प्रयोग गर्न विभागले आग्रह गरेको छ। खाद्य पदार्थको तयारी तथा बिक्रीवितरण गर्नेलाई अनिवार्य रुपमा पञ्जा, मास्क, कपाल छोप्ने क्याप प्रयोग गर्न सुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .