सरकारले गाडी आयात प्रतिबन्ध लम्ब्याएसँगै यस वर्षका लागि भदौमा आयोजना गर्न प्रस्ताव गरिएको नाडा अटो शो फेरि स्थगित भएको छ।
कोभिड महामारीका कारण तीन वर्षदेखि अड्किँदै आएको शो यसपालि पनि रद्द भएको हो।
आइतबार बसेको नाडा कार्यसमितिको बैठकले गाडी आयात सुनिश्चित नहुँदासम्म नाडा अटो शो स्थगित गर्ने निर्णय गरेको छ।
नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले भदौमा गर्ने भनिएको अटो शो स्थगित भएको जानकारी दिए।
‘सरकारले गाडी आयातमा प्रतिबन्ध लगाएकाले नाडा अटो शो गर्न सकिने अवस्था रहेन’, थापाले नेपालखबरसँग भने, ‘अब परिस्थिति हेरेर मात्रै अटो शो गर्ने निर्णय भएको छ। कहिले हुन्छ÷हुँदैन अहिले भन्न सकिँदैन।’
सरकारले गत वैशाख १४ गतेबाट १० वस्तु आयातमा पूर्ण बन्देज लगाएको थियो। त्यसमा गाडी तथा मोटरसाइकल आयात प्रतिबन्ध रहेका छन्।
‘बैठकले भदौ ७ देखि १२ गतेसम्म नाडा अटो शो गर्ने निर्णय स्थगित भएको छ’, नाडा कोषाध्यक्ष मिलनबाबु मल्लले भने, ‘असार मसान्तसम्म गाडी आयात प्रतिबन्ध रहेकाले भदौमा नाडा अटो शो गर्ने निर्णय गरेका थियौँ। सरकारले भदौ १४ सम्म लगेपछि स्थगित गर्नुपर्ने अवस्था आयो।’
नाडा कार्यसमिति बैठकले अटो शो गर्नको लागि स्टल बुकिङ तथा बाँडफाँट गरिसकेको छ। सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ÷संस्थाहरुको प्रदर्शनीको १५औँ संस्करण ‘नाडा अटो एक्स्पो’ हुँदै थियो।
विगतका संस्करणहरुभन्दा पृथक् यस वर्ष कमर्सियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुई पांग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको नाडाले जनाएको छ।
कोषाध्यक्ष मल्लले भदौ १४ गतेसम्म सरकारको निर्णय हेर्ने गरी नाडा अटो शो स्थगित भएको बताए।
‘रजिष्ट्रेसन गर्दा शुल्क उठाइएको छ। भेन्डरलाई एडभान्स रकम समेत दिइसकेका छौँ’, मल्लले भने, ‘अहिले पैसा फिर्ता नगर्ने भदौ १४ मा आयात खुले त्यसपछि अटो शो गर्ने निर्णय भएको छ।’
नाडाका अनुसार काठमाडौंको भृकुुुुटीमण्डप प्रदर्शनी स्थलमा एक्स्पो आयोजना गर्ने तयारी गरेको थियो। त्यसका लागि यही जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेसन गरी स्टल निर्धारण गरेको छ।
असार २ गते गरिएको गोलाप्रथाअन्तर्गत सबै कम्पनीहरुको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लोबल एक्स्पोजिसनका प्रतिनिधि, नाडा कार्यसमिति पदाधिकारी सदस्य एवं नाडा अटो शो कमिटीका सदस्यहरुको उपस्थितिमा सहभागी कम्पनीहरुलाई स्टलको छनोट एवं बाँडफाँट गरिएको नाडाले जनाएको छ।
नाडा अटो शो २०२२ मा विद्युतीय दुईपांग्रे, चारपांग्रे सवारीसाधनसँगै नयाँ सवारीसाधन ल्याउने तयारी गरेका थिए।
नाडाले अघिल्लो वर्ष पनि रजिष्ट्रेसनपछि नाडा अटो शो स्थगित भएको थियो। नाडा अटो शो २०२० र २०२१ कोभिड महामारीको कारण स्थगित भएको थियो। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डपमा २०२१ फागुन ९ देखि १४ गतेसम्म नाडा अटो शो गर्ने गरी मंसिरमा रजिष्ट्रेशन गराएको थियो।
तर नाडाले पछि महामारीको अवस्था कायमै रहेको बताउँदै स्थगित गरेको थियो।
Shares

प्रतिक्रिया