कारोबार


संसारकै ठूलो कफी चेनको कमान सम्हाल्दै लक्ष्मण, २ अर्ब बढी तलब

संसारकै ठूलो कफी चेनको कमान सम्हाल्दै लक्ष्मण, २ अर्ब बढी तलब

नेपालखबर
भदौ २५, २०७९ शनिबार १२:१, काठमाडौँ

संसारकै ठूलो कफी चेन स्टारबक्सको कमान अब भारतीय मूलका अमेरिकी व्यक्तिको हातमा पुगेको छ। 

स्टारबक्सले लक्ष्मण नरसिंहनलाई अर्को प्रमुख कार्यकारी अधिकृतका रुपमा भर्खरै नियुक्त गरेको हो।

उनी अक्टोबर १ देखि आगामी सीईओ हुनेछन्। आधिकारिक रुपमा उनले अप्रिलदेखि कार्यभार सम्हाल्नेछन् भने त्यसपछि कम्पनीको बोर्डमा सामेल हुनेछन्। 

अघिल्लो बिहीबार (सेप्टेम्बर १) सीईओका रुपमा नरसिंहनले धेरै समय बिताएको द रेकिट बेन्काइसर ग्रुपले उनले राजीनामा दिनलागेको बताएको थियो। 

लक्ष्मणको आगमनसँगै होवार्ड स्कल्त्जले उनले कमान नसम्हालुन्जेलसम्म अन्तरिम सीईओका रुपमा कम्पनीको नेतृत्व सम्हाल्नेछन्। होवार्डले अघिल्ला सीईओ केभिन जोन्सनबाट अन्तरिम जिम्मेवारी सम्हालेका थिए। उनी स्टारबक्सको बोर्डमै रहनेछन्।

चुनौतीले घेरिएको बेला पाएको नेतृत्व 
स्टारबक्सका लागि यो निकै चुनौतीपूर्ण समय हो। अमेरिकामा युनियन गठनको लहर चलिरहेका बेला कम्पनीले नयाँ नेतृत्व पाउँदै छ।

यसबाहेक कोभिड १९ को प्रतिबन्धका नियमले कम्पनीलाई चीनमा व्यावसायिक हिसाबले अप्ठ्यारो परिरहेको छ। चीन स्टारबक्सको महत्वपूर्ण बजार हो। 

आधिकारिक रुपले लक्ष्मणले स्टारबक्सको नेतृत्व लिँदै गर्दा अघिल्लो छ महिना उनले स्कल्त्जसँगै, कम्पनीका अन्य नेतृत्वपंक्ति, ग्राहकसँगै समय बिताउनेछन्।

कम्पनी अहिले व्यावसायिक पुनर्संरचनाको योजनामा छ। यस्तोमा स्कल्त्जले पूर्ण पुनर्संरचना आवश्यक भएको बताएका छन्। यसअनुसार कर्मचारीको अनुभवमा व्यापक सुधार गर्नेदेखि स्टोरहरुलाई नयाँ स्वरुप दिने कुरा छन्। 

अनुभवी लक्ष्मण 
लक्ष्मण व्यावसायिक नेतृत्वका लागि निकै अनुभवी मानिन्छन्। यसअघि उनी बेलायती हाइजिन र हेल्थ ब्रान्ड उत्पादक रेकिट बेन्काइसरको नेतृत्वमा थिए। उनी सन् २०१९ देखि अर्बौँ डलर मूल्यवान् कम्पनीको सीईओ बनेका थिए। 

त्यसअघि उनले पेप्सिकोमा ग्लोबल चिफ कमर्सियल अफिसरको भूमिका निर्वाह गरेका थिए। त्यस्तै उनी म्याकिन्सेमा वरिष्ठ साझेदार थिए। लक्ष्मणले व्यावसायिक क्षेत्रमा ३० वर्ष लामो अनुभव हासिल गरिसकेका छन्। 

कति पाउँछन् तलब? 
संसारकै ठूलो कफी कम्पनी हाँक्न लागेका उनको तलब पनि ठूलै आकारको हुनेछ। गार्जियन अनुसार स्टारबक्सले लक्ष्मणलाई ठूलै परिमाणमा तलब भुक्तानी गर्दै छ।

यदि उनले आफ्नो लक्ष्य भेटे कम्पनीले उनलाई पौने २ करोड डलर वार्षिक तलब दिनेछ। यो भनेको वार्षिक २ अर्ब २२ करोड ३९ लाख हाराहारीको तलब हो। रेकिटमा उनले ६० लाख पाउन्ड स्टर्लिङ वार्षिक तलब लिएका थिए। 

पुनेमा हुर्किएका इन्जिनियर 
लक्ष्मण भारतको पुनेमा हुर्किएका थिए। उनले त्यहीको कलेज अफ इन्जिनियरिङबाट मेकानिकल इन्जिनियरमा डिग्री हासिल गरे।

यसबाहेक युनिभर्सिटी अफ पेनसिल्भेनियामा द लाउडर इन्स्टिच्युटबाट जर्मन एन्ड इन्टरनेशनल स्टडिजमा स्नातकोत्तर गरे।

सोही विश्वविद्यालयको ह्वार्टन स्कुलबाट उनले फाइनान्समा एमबीए समेत गरेका छन्। उनी छ भाषामा पोख्त छन्। 

स्टारबक्सको संसारभर ३४ हजार स्थानमा कफी स्टोर रहेको छ। यसले पाँच दशक लामो समय कफीको व्यवसाय गरेको छ। एजेन्सीहरुबाट।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .