कारोबार


दार्चुलाको छाङरुमा टेलिकमको फोरजी, सञ्चारमा जोडिए गुञ्जी, नाभी र कुटी

दार्चुलाको छाङरुमा टेलिकमको फोरजी, सञ्चारमा जोडिए गुञ्जी, नाभी र कुटी

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार २२:१४, काठमाडौँ

नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवाको शुभारम्भ गरेको छ । 

त्रिदेशीय सिमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो । 

यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सिमानासम्म पुगेको छ । 

फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित न्यु बालाशिखरस्थित रिपिटर स्टेसनबाट व्यास गाउँपालिकाको ब्रह्मलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको हो । 

ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो । अब छाङरुमा रहेका करिब एक सय २० जति घरधूरी र सात सय जति जनसंख्या तथा अन्य क्षेत्रका गरी करिब चार हजार जनसंख्या यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । 

साथै छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सिमानासम्म फोरजीको पहुँच पुगेको टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । 

उनका अनुसार टेलिकमले सेवा सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात् ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ । यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन् । 

विकट र दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार टेलिकमले देशका विभिन्न विकट स्थानमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि सेवा उपलब्ध गराइरहेको छ । यसैको निरन्तरताको रुपमा छाङरुमा समेत सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad