ad ad

कारोबार


बैंकर्स संघको स्पष्टीकरण : अर्थतन्त्रलाई असर नपर्ने गरी ब्याजदर बढाइएको हो

बैंकर्स संघको स्पष्टीकरण : अर्थतन्त्रलाई असर नपर्ने गरी ब्याजदर बढाइएको हो

नेपालखबर
असोज ११, २०७९ मंगलबार २०:१, काठमाडौँ

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले ब्याज बढाएको बताएका छन्। 

मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तिय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरी पूर्व जानकारी दिएर व्यवसायीहरुलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको बताए।

अध्यक्ष उपाध्यायले बैंकले बजारमा तरलता लगायतका समस्याका बीच दुई पटक मात्रै ब्याजदर बढाएको बताए। उनले यो बीचमा पनि दुई महिनाको समय अवधि दिएर बढाएको स्पष्ट पारे।

उपाध्यायले व्यवसायीहरुको पनि तयारी हुने गरी ब्याज बढाउँदै आएको जिकिर गरे।

उनले अहिले डलरको मूल्य १० रुपैयाँ भन्दा बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवासायीहरु बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीँ नभएको बताए।

अध्यक्ष उपाध्यायले बजारमा तरलताको अभावको कारण असारदेखि अहिलेसम्म कर्जा वृद्धि हुन नसकेको बताए। उनले चालु आर्थिक वर्षको पहिलो महिनादेखि अहिलेसम्म ३० देखि ४० अर्ब निक्षेप संकलन गरेको बताए। उनले ४० अर्ब निक्षेप गर्न पनि सरकारको ९० प्रतिशत योगदान गरेको बताए।

उपाध्यायले बैंकहरुमा ३.५ प्रतिशतको आधार दर र मार्जिनमा ३ प्रतिशतको बोटल रेटमा बैंकहरु दिगो बनाउन नसकिने बताए। उनले कर्जा प्रवाह बैंकहरुले बलियो बनाएर जानुपर्ने बताए।

उनले कर्जाको ब्याजदर परिर्वतन हुने व्यवस्थापनका साथ काम गर्नसक्ने अवस्थाको बानी बसाल्न आवश्यक रहेको बताए। उनले अहिले अमेरिका, भारत, तथा युरोपेली देशहरुले पनि कोरोनापछि ब्याजदर वृद्धि गरेको बताए। 

अध्यक्ष उपाध्यायले गत आर्थिक वर्ष ६.६ प्रतिशत रहेको कर्जाको ब्याजको आधार दर अहिले ९.७ प्रतिशत पुगेको बताए। उनले गत आर्थिक वर्षको यो अवधिमा ४६ प्रतिशत मुद्दतीको भार रहेकोमा अहिले वाणिज्य बैंकहरुलाई मुद्दतीको भार मात्रै ५८ प्रतिशत रहेको बताए। उनले वाणिज्य बैंकहरुलाई मुद्दतीको भार अघोसित ६० प्रतिशत रहेको बताए। बैंकहरुलाई मुद्दतीको भार १२ प्रतिशत बढेको बताए। 

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक ईश्वरीप्रसाद भट्टराईले बैंकिङ कर्जाको ब्याज उच्च हुँदा उद्यमशीलता हराउने बताए। उनले कुनै व्यवसायमा लगानी गर्ने भन्दा बैंकमा रकम राख्दा ब्याज बढी पाउने भएपछि उद्योगमा लगानी गर्ने सोच कम हुनसक्ने बताए।

उनले अहिले बढेको बैंकको ब्याजदर लामो समयसम्म रहन नहुने बताए। निर्देशक भट्टराईले अहिले कर्जाको माग र ब्याजको असन्तुलनलाई सन्तुलनमा ल्याउनको लागि अझै केही समय लाग्ने भन्दै व्यवसायीहरुलाई धैर्य गन आग्रह गरे। 

उनले बैंक कर्जा लिनु भनेको उच्च जोखिमको काम भएको बताए। उनले व्यवसायीहरुले कर्जाको लागि विकल्प निकालेर पुँजी बजारमार्फत पुँजी परिचालन गर्न सक्नुपर्ने बताए। उनले बजारमा तरलता अभावको समस्या हल गर्न निर्यात बढाउने वा रेमिट्यान्स बढी भित्र्याउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .