कारोबार


लोडसेडिङ हुने त्यो तिहार, विद्युत् बढी भएको यो तिहार

लोडसेडिङ हुने त्यो तिहार, विद्युत् बढी भएको यो तिहार

रमेश लम्साल
कात्तिक ८, २०७९ मंगलबार १०:१३, काठमाडौँ

ठीक ६ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युतभार कटौतीका सूचना सार्वजनिक हुन्थे। तिहार उज्यालोको पर्व। यसको आफ्नै गरिमा र महत्त्व छ। तर तिहारका अवसरमा समेत नेपालीले मैनबत्तीको भरमा आफ्नो खुसी साट्नुपर्थ्यो। बिजुली उपलब्ध गराउने जिम्मा लिएको नेपाल विद्युत् प्राधिकरण हरेक साता सूचना प्रकाशन गरेर आनन्दसँग निदाउँथ्यो।

समय बदलियो, अवस्थामा पनि परिवर्तन आयो। तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको नीतिका कारण २०७३ सालको लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट विद्युतभार कटौती अन्त्य भयो। सरकारले जनताका सामु गरेको वाचालाई पूरा गर्‍यो। त्यो वाचा पूरा गराउन हालका अर्थमन्त्री एवम् तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पहलकदमी पनि उत्तिकै महत्त्वपूर्ण थियो। प्राधिकरणको नेतृत्वमा रहेर कार्यकारी निर्देशक कुलमान घिसिङले निर्वाह गरेको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ।

नेपालबाट अब विद्युतभार कटौती इतिहास भएको छ। विद्युतभार कटौती मात्रै इतिहास भएको छैन, तिहारमा भारतीय बजारबाट खरिद गरेर ल्याइने बिजुली पनि अब आयात हुन बन्द भएको छ। नेपाल र नेपाली क्रमशः ऊर्जामा आत्मनिर्भर बन्दै छन् भन्ने अवस्थामा पुगिएको छ।

सोमबार देशैभर हर्ष उल्साहका साथ तिहारको महत्त्वपूर्ण दिन लक्ष्मी पूजा गरिएको छ। लक्ष्मी पूजा बत्ती बाल्ने दिन। लक्ष्मीको आराधना गर्ने दिन। त्यस दिन देशभर कूल एक हजार तीन सय पाँच मेगावाट बराबरको बिजुली खपत भएको प्राधिकरणले जनाएको छ। देशभर बिजुलीको के कति माग छ भन्ने कुराको खास मापन गर्ने दिनका रुपमा यस यस दिनलाई लिइन्छ। आन्तरिक रुपमा क्रमशः बिजुलीको माग बढ्दै गएको छ। गत वर्षको तिहारमा अधिकतम बिजुली खपत एक हजार दुई सय मेगावाट बराबर थियो। यस आधारमा गत वर्षभन्दा एक सय पाँच मेगावाट थप बिजुली खपत भएको छ, यस वर्ष।

यस्तै, गत असार २८ गते अधिकतम बिजुली खपत अर्थात् पिक लोड एक हजार सात सय  ४७ मेगावाट थियो। काठमाडौँ उपत्यकामा तीन सय ४२ मेगावाटको हाराहारीमा अधिकतम माग  देखिएको प्राधिकरणले जनाएको छ। लक्ष्मी पूजाको दिनसमेत प्राधिकरणले तीन सय ८० मेगावाट बिजुली भारत निर्यात गरेको थियो। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार सोमबार निजी क्षेत्रका ऊर्जा उद्यमीका आयोजनाबाट प्रणालीमा सात सय ६७ दशमलव पाँच मेगावाट बिजुली प्रणालीमा उपलब्ध भएको थियो।

यस्तै प्राधिकरणका सहायक कम्पनीका आयोजनाबाट कूल चार सय ८२ दशमलव दुई मेगावाट उपलब्ध भएको थियो। प्राधिकरणका अर्धजलाशयुक्त आयोजनाबाट चार सय ३५ मेगावाट बिजुली प्रणालीमा उपलब्ध भएको थियो। यस आधारमा भारतमा समेत निर्यात गरेको जोड्दा एक हजार छ सय ६८ मेगावाट बिजुली कूल खपत भएको देखिन्छ। लक्ष्मी पूजाको दिनसमेत कूल दुई सय मेगावाट बिजुली खेर गएको छ।

विसं २०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यका र २०७५ साल वैशाख ३१ ग्तेदेखि देशभर नै विद्युतभार कटौती अन्त्य गरेको प्राधिकरणले पछिल्ला दिनमा गुणस्तरीय बिजुली उपलब्ध गराउने प्रयास गरिरहेको छ। बिजुलीको खपत बढाउने अभियान पनि निरन्तर जारी छ।

यद्यपि अपेक्षित रुपमा बिजुलीको माग भने बढ्न नसकेको गुनासो पनि उत्तिकै आउने गरेको छ। सोमबार साँझ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो। बिनाअवरोध देशभरि विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ।

विगतका वर्षहरुमा लक्ष्मी पूजाको माग धान्न विद्युत् आयात हुँदै आएकामा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ। प्राधिकरणले यस वर्ष लक्ष्मी पूजाको पिक डिमान्ड धान्न कुलेखानी जलाशययुक्त जलविद्युत् केन्द्रसमेत सञ्चालन गरेन। कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ।

यस वर्षको लक्ष्मी पूजाको पिक समयमै तीन सय ८० मेगावाट विद्युत् भारत निर्यात गरिएको र दुई सय मेगावाट विद्युत् खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ।

“विगतमा लोडसेडिङ हुँदा लक्ष्मी पूजाको दिनको विद्युत् खपतलाई पिक डिमान्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरू बेला नै पिक डिमान्ड आउने गरेको छ”, कार्यकारी निर्देशक घिसिङले भने। 

तिहारमा उद्योगकलकारखानाहरु र कार्यालयहरु सबै बन्द छन्, फेरि तराईमा गर्मी छैन र काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भइनसकेकाले अहिले विद्युत् माग नआउने समयका रुपमा लिइन्छ।  उनले आन्तरिक रुपमा विद्युत् खपत बढाउनु ठूलो चुनौती रहेको बताए। 

प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमान्ड सबैभन्दा बढी थियो। देशभित्रको विद्युत् खपत र भारततर्फको निर्यातसहित लक्ष्मी पूजाको दिन प्रणालीको पिक डिमान्ड एक हजार छ सय ८५ मेगावाट रेकर्ड गरिएको छ। यस वर्ष सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड तीन सय ४२ मेगावाट छ। गत वर्ष तीन सय २० मेगावाट थियो।

प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तलाई आग्रह गरेको थियो। प्राधिकरणले लक्ष्मी पूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र , विद्युत् गृहका प्रमुख र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad